सरकारको नेतृत्व गर्नु भनेको सिंहदरबारको कुर्सीमा आसीन हुनुमात्र होइन† देश र जनताको जिम्मेवारी समाल्नु पनि हो । ठुलो दलको ठुलै जिम्मेवारी हुन्छ । ठुलो दलको धाक लगाउने तर सानो काम पनि नगर्नु ठुलो दललाई सुहाउने कुरा होइन । ठुलो दलले पटकपटक सरकारको नेतृत्व गरे पनि किन उपलब्धिमूलक काम गर्न सकेन ? ठुलो दलको ठुलो नेता भएर नाक फुलाउने नेतागणहरू आ–आफ्नो इज्जत, प्रतिष्ठाको ख्याल गर्दैनन्; संस्कार संस्कृतिको मतलब राख्दैनन्; मिचेर, थिचेर, पदको दुरूपयोग गरेर, इज्जत, नैतिकता बन्धक राखेर हसुर्नसम्म हसुर्छन् । ठुलो दल र ठुलो दलको नेता बन्नुलाई नै उनीहरू सही र सफल भएको ठान्छन् । ठुलो दल बनाउन, ठुलो नेता हुन उनीहरूले कुनै नियम र नीतिको वास्ता गर्दैनन्; आफ्नो दलमा जो कोही भित्याउन सिद्धान्त, विचार र चरित्रको ख्याल गर्दैनन् । अपराधी, भ्रष्टाचारी, जालीफटाहा, मण्डले जो पनि पार्टीमा हुल्याएर दल ठुलो बनाउन र दल ठुलो भएकै आधारमा सच्चा दलको उद्घोष गर्ने ठुला दलका नेताहरू कसरी स्वच्छ छविका हुन्छन्; पवित्र विचार या मनका हुन्छन् ?
प्रजातन्त्र, स्वतन्त्रता, समानताको खोल ओढेर अप्रजातान्त्रिक, असमान व्यवहार गर्ने शासकहरू उल्टो लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न होइन बदनाम गर्दै छन्; उल्लेखनीय काम गरेर संसारमा नाउँ कमाउनुभन्दा देशविरोधी र जनघाती काम गरेर बदनाम कमाइरहेका छन् । माघ २२ गते ‘राजधानी’ दैनिकमा प्रकाशित पुष्करराज प्रसाईको ‘भ्रष्ट नेता, दास कार्यकर्ता, निराश जनता’ शीर्षकको लेख छापियो । लेखमा नेताहरू दलाल, मतिभ्रष्ट नेता या शासकहरूको अधीन या नेतृत्वमा सरकार या दल रहेसम्म देश फल्दैन, फुल्दैन; जनताको जीवनस्तर उठ्दैन भनिएको छ । देशमा प्रजातान्त्रिक सरकार छ, कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ भन्ने अनुभूति जनतामा भएको छैन । देश बनाउन देश बनाउने खाका चाहिन्छ; प्रतिबद्धता चाहिन्छ, प्रतिबद्धता पूरा गर्ने बानी चाहिन्छ । यसकारण, देशको प्रत्येक बस्ती बस्ती र कुना कन्दरामा सरकार पुगेको छ भन्ने अनुभूति जनताले कहिले गर्न पाउने ? ठुलो दलको नकाब लगाएर भित्रभित्रै भ्रष्टाचार, दलाली, तस्करी, घुसखोरी गरिरहने र बाहिर बाहिर जनता तथा कार्यकर्ताको अगाडि भ्रष्टाचारको विरोध गरेर सुशासनको ढ्वाङ फुकिरहेको अनुभव जनतासँग नभएको होइन ।
लोकतन्त्र भनेको मनपरीतन्त्र होइन । स्वतन्त्रता भनेको ‘जसको लठी उसको भैँसी’ बनाउनु होइन । अरु शक्ति राष्ट्रको अगाडि झुकेर, देशको अस्मितामा आँच पुग्ने खालको सन्धि सम्झौता गरेर देश सार्वभौम बन्दैन । राजनीतिक दल भनेको चोर, गुण्डा, अपराधी, कालाबजारी, कमिसनखोर, भ्रष्टाचारी, जालीफटाहाको भिड होइन । सरकारको नेतृत्व गर्नु भनेको भागबन्डा गर्न होइन; दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न होइन । चेतना भया ।