२२ माघ, कञ्चन
किशोर किशोरीहरुको सशक्तीकरणका लागि सम्वाद भन्ने नाराका साथ रुपन्देहीको कञ्चनमा क्रियाशिल गजेडी साथी सञ्जालले ३ दिने आत्मरक्षा तालिम सम्पन्न गरेको छ। यही माघ २० गते देखि कञ्चन १ को वडा कार्यालयको आर्थिक सहयोगमा संचालन भएको उक्त तालिममा ४० जना किशोर किशोरीहरुले सहभागिता जनाएका थिए।
तालिमको समापन गर्दै कञ्चन १ का कार्यवाहक वडा अध्यक्ष लेखनाथ ढकालले पालिका तथा वडाले खर्च खर्च गरी सञ्चालन गरेको तालिमबाट प्राप्त सिपलाई आफुमा मात्र सिमित नराख्न आग्रह गर्नु भएको छ। सिकेको सिपलाई समुदायमा गई समुदायका अन्य ब्यक्तिहरुलाई समेत सिकाएर समाजमा हुने हरेक हिंसा र बिकृति बिरुद्ध प्रतिरोध गर्न सक्ने क्षमता हस्तान्तरण गर्नु पर्ने कार्यवाहक वडा अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै वडा सदस्य लेखा राहादीले समुदायमा हुने बिशेषगरी महिला हिंसाका बिरुद्ध प्रतिकार गर्ने निडर व्यक्तिको रुपमा स्थापित गर्न आत्मरक्षा तालिमले सहयोग गर्ने बताउनु भयो । यसैगरी वडा सदस्य जुना परियारले "मैले सक्दैन कि, कसैले केही भन्ला कि" भनेर मनलाई कमजोर बनाएर नभई "मैले नगरे कसले गर्छ? मेरो लागि मैले नै गर्नु पर्छ र समाजमा हुने हरेक हिंसा बिरुद्ध मैले नै प्रतिकार गर्नु पर्छ" भनेर हिम्मत निकाल्नु पर्नेमा जोड दिनु भयो ।
यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देहीका अध्यक्ष अमृता थापा मगरले हिंसाको कुनै समय र रुप नहुने भएकोले आफुमाथी हुन सक्ने कुनै पनि हिंसा बिरुद्ध आफु हरेक पक्षबाट सवल हुनु पर्ने बताउनु भयो। समाजमा हुने लैंगिक तथा यौन हिंसा र बलत्कारका बिरुद्ध प्रतिकार गर्न आत्मरक्षा तालिमको अति महत्वपुर्ण हुने बताउदै केन्द्रका अध्यक्ष थापा मगरले हरेक किशोर किशोरीहरुलाई उनिहरुको अधिकार, समुदाय प्रतिको उत्तरदायित्व बहन तथा सशक्तीकरणका लागि बिद्यालय र समुदायमा सम्वाद समूह, बाल क्लव, ग्रेजुएट, बाल बगैंचा लगायत समूहमा सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिदै आएको बताउनु भयो। आत्मरक्षा तालिमले एकले अर्कालाई सम्मान र सकारात्मक सोंचको बिकास गरी किशोर अवस्थामा देखा पर्ने समस्याहरुको समाधान आफैबाट गर्ने बानीको बिकास गर्न सहज बनाउने उल्लेख गर्दै केन्द्रका अध्यक्ष थापा मगरले तालिम सञ्चालन गर्नका लागि वडा कार्यालयबाट प्राप्त सहयोग प्रति आभार समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट अञ्जली सुनार र उमेश लोधले कञ्चन गाउँपालिका वडा नं. १ को कार्यालयले आर्थिक सहयोग गरेर हामीलाई आत्मरक्षा जस्तो संवेदनशिल बिषयमा तालिम लिने ब्यबस्था गरेकोमा धन्यबाद ब्यक्त गर्नु भएको थियो। देख्दा सामान्य जस्तो जस्तो लागेको भएपनि आत्मरक्षा तालिमले कुनैपनि बेला आफु र समुदायमा हुने जुनसुकै हिंसा, बिकृति र बिसंगती बिरुद्ध म र मेरो समुदायलाई एक भएर प्रतिकार गर्न लगाउने साहस बटुल्न पाएको प्रशिक्षार्थीहरुले अनुभव बताउनु भएको थियो।
गजेडी साथी सञ्जालका अध्यक्ष तथा कार्यक्रम संयोजक सुस्मिता सुनारले किशोर किशोरीहरुलाई हरेक कोणबाट अव्वल र सवल बनाउदै समाजमा हुने हरेक बिकृति र बिसंगती अनि हिंसा बिरुद्ध प्रतिकार गर्न सक्ने व्यक्तीको रुपमा स्थापित गर्न स्थानीय तह र सरोकारवालाहरुसंगको सहकार्य, समन्वय र सहयोगमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो। समाजमा देखिएको सबैभन्दा जटिल र बिकराल अवस्थामा झांगिदै गएको महिला हिंसा, लैंगिक हिंसा, बलत्कार जस्ता जघन्य अपराधबाट बच्न र ती कृयाकलापहरुको न्युनिकरणका लागि आत्मरक्षा तालिम निकै फलदायी भइरहेको सञ्जालका अध्यक्ष सुनारले बताउनु भयो।
कार्यक्रम अस्मिता पाण्डेले सञ्चालन गर्नु भएको तालिममा उषा सुनार, गंगा सुनार र अस्मिता पाण्डेले प्रशिक्षण दिनु भएको थियो। उक्त ३ दिने तालिम कञ्चन १ को सभाहल लौसामा भएको थियो।