हिमालयश्वर मूल
सन् १९९०–९१ बाट सोभियत सङ्घको विघटनपछि विश्वमा अमेरिका पहिलो महाशक्तिको रूपमा उदय भयो । सोभियत सङ्घको विघटनको मूलभूत कारण माक्र्सवाद–लेनिनवादको ठाउँमा स्तालिनको मृत्युपश्चात् सत्तामा पुगेको नेतृत्वले गरेको संशोधनवादी नीति हो । ख्रुश्चेभ, ब्रेझनेभपछि गोर्वाचोभको नेतृत्वसम्म पुग्दा रुसी कम्युनिस्ट पार्टीको विघटन भयो । सोभियत टुक्रिन थाल्यो । गोर्वाचोभको आगमनसँगै खुलापन, बजार अर्थतन्त्र, विश्वव्यापीकरणजस्ता पुँजीवादी अर्थतन्त्र अवलम्बन गरियो । पश्चिमा पुँजीवादी राजनीति रुसमा प्रादुर्भावसँगै रुसी सङ्घबाट अलग्ग हुने आन्दोलन चर्कँदै गयो । इस्टोनिया, लाट्भिया सोभियत सङ्घबाट टुक्रियो । यसरी नै लिथुआनिया, बेलारुस, मोल्डाभिया, युक्रेन, जर्जिया, अर्मेनिया, अजरवैजानलगायत देश रुसी सङ्घबाट छुट्टियो र सोभियत सङ्घको पतनसँगै शीतयुद्ध अन्त्य भयो । विश्वमा रुसी महाशक्तिको अस्तित्व समाप्त भयो । अमेरिका एक ध्रुवीय महाशक्तिको रूपमा स्थापित भयो । एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायतका निर्धन मुलुकमा उसले आफ्नो प्रभाव कायम ग¥यो । तर, समयको अन्तरालसँगै अमेरिकाको साम्राज्यवादी शक्तिमा स्थिर हुन सकेन ।
रुस र युक्रेनको एक वर्ष लामो युद्धसम्म आइपुग्दा विश्वको राजनीतिमा ठुलो उथलपुथल देखाप¥यो । रुसको विघटनपछि विश्वमा युरोपका पश्चिमा ३० राष्ट्रसँग सैनिक गठबन्धनको नेतृत्व गरेर महाशक्ति बनेको अमेरिका अब अस्ताउँदै छ । उसको दादागिरी उसकै कठपुतली देशहरूको सङ्गठन नाटोभित्र चलेन । नाटो फूटको सङ्घारमा पुगेको छ । रुससँग युद्ध भड्काउन अमेरिकाले युक्रेनमा राष्ट्रपति जेलेन्स्कीलाई उक्साउनसम्म उक्सायो । ‘तिमीलाई छुनु नाटोलाई छुनु, अमेरिकालाई छुनु हो’ – समेत अमेरिकाले भन्न चुकेन । सन् २०२२ मा रुसले युक्रेनमाथि हमला ग¥यो । तब युक्रेनको पक्षमा न अमेरिकी सेना आयो, न त नाटो आयो । अमेरिका आफ्नो हतियार बेच्न छद्मरूपमा युक्रेनलाई मोहदामा राखेर लडाइँ लड्छ । युद्धमा रुसले विजय प्राप्त गर्दै छ । ८० प्रतिशत युक्रेनको भूभाग रुसले कब्जा गर्न सफल भइसकेको छ । युक्रेनको केही भूभाग गुमाएर भए पनि यो युद्धको अन्त्य गरी सम्झौता गर्नुपर्दछ भनेर नाटो प्रमुखले २०२२ जून २२ मा अभिव्यक्ति दिए । यस अभिव्यक्तिबाट नाटोका तागत रुससँग भिड्ने शक्ति रहेन भन्ने थाहा भयो । यसको प्रमुख कारण नाटोभित्रकै धेरै देशहरूले अमेरिकी आर्थिक नाकाबन्दीलाई अस्वीकार गरेका छन्† रुससँग ग्यास तथा इन्धन खरिद गरेका छन् । यति मात्र होइन, खुलेरै हङ्गेरी, क्रोसिया, इस्टोनिया, टर्की, रुमानियाले रुससँगको आर्थिक नाकाबन्दीको विरोध गरे । फिनल्यान्ड र स्विडेनलाई टर्कीले आफ्नो भिटो लगाएर नाटोको सदस्यता दिन रोकिएको छ । युरोपियन युनियन र अमेरिकी गठबन्धन नाटोद्वारा लगाइएको नाकाबन्दी स्वयम् नाटो र ईयुका प्रमुख राष्ट्रहरूले पूर्णपालन गरेनन् र रुस सङ्घको व्यापार यथावत गरिरहेकै छन् ।
आज रुस र युक्रेनको लडाइँबाट पश्चिमा राष्ट्रहरूमा महँगीले आकाश छोएको छ । दैनिक अत्यावश्यक सामान बजारमा पाउन छोडेको छ । आफ्नै राष्ट्रभित्र जनता सडकमा उत्रिएर युद्धको विरोध गरिरहेका छन् । आर्थिक मन्दी युरोपियन राष्ट्रमा जताततै देखिन थालेका छन् । यसको समाधान हुन सकिरहेको छैन । त्यसकारण, युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले रोई कराई नाटोका प्रमुख राष्ट्रहरू जर्मनी, फ्रान्स, बेलायतसँग आधुनिक हतियार, ट्याङ्कर, मिसाइल, फाइटर प्लेनको माग गरिरहेका छन् । तर, ती आधुनिक हतियार दिन ती युरोपियन राष्ट्रहरू तयार छैनन् । किनभने, ती हतियार युक्रेनको युद्धमा नभई रुस र नाटोबिच हुन जानेछ । यसैलाई मध्यनजर गर्दै ईयूका प्रमुख राष्ट्रहरू रुससँग युद्ध हुनसक्ने अवस्था आउन नदिन अमेरिकी दबाबलाई प्रतिरोध गर्दै अस्वीकार गरिरहेका छन् । युरोपका धेरै देशहरूले रुस र युक्रेन युद्ध चर्किएर अत्यन्त जटिल अवस्थामा पुगेको खण्डमा रुस चीनसँग मिल्ने बाध्यता अवस्था आउने आकलन गरेका छन् । युरोपमा रुसलाई युरोपियन मुलुकको रुपमा लिने गरिन्छ ।
रुसको राजधानी मस्को युरोपमा पर्दछ । तर, धेरै भूभाग एसियामा पर्दछ । युरोपियनहरू रुस एसियाका देशहरू मिलेर रुस महाशक्तिको रूपमा उदय होला भन्ने ठुलो चिन्तामा छन् । रुसी राष्ट्रपति पुटिन यदाकदा आफ्नो गुमेका पुराना राष्ट्रहरू आफ्नो देशमा पुनः फर्काउने अभिव्यक्ति दिँदै छन् । यसले पनि युरोपियन राष्ट्र रुसदेखि धेरै सशङ्कित छन् ।
तर, अमेरिकी गठबन्धन नाटोका देशहरू कमजोर अवस्थामा पुगिसकेको कुरा अफगानिस्तानबाट अमेरिका भागेबाट थाहा हुन्छ । अमेरिका रुसको तुलनामा पहिले नै सैनिक शक्तिमा कमजोर थियो । आज चीन आर्थिक शक्तिमा पहिलो देश हुनसक्ने उद्घोष गरिसकेको छ । त्यसकारण, अमेरिकाले चीनलाई प्रमुख शत्रु भएको व्यवहार गर्दै छ । चीनलाई ताइवानको युद्धमा फसाएर आफू पहिलो आर्थिक शक्तिमा रहिरहने चाल खेल्दै छ । तर, अब विश्व यो अवस्थामा रहने छैन । विश्वको राजनैतिक सन्तुलनमा दोस्रो ध्रुवको उदय भइसकेको युक्रेन र रुसको लडाइँबाट स्पष्ट भइसकेको छ । अब दुई ध्रुव वा बहुध्रुवको रूपमा विश्वका शक्ति राष्ट्रहरू एक हुन गइरहेका छन् । दुई ध्रुवको उदयीमान देशहरूमा रुस, चीन, इरान, उत्तर कोरिया, क्युवा, भेनेजुयला, निकारागुवालगायतका देशहरू देखिएका छन् । यी देशहरू अमेरिकी र पश्चिमी साम्राज्यवादसँग कुनै पनि सैनिक तथा आर्थिकरूपमा लड्न सक्षम छन् । गणितीय हिसाब हेर्ने हो भने सैनिक शक्ति र आधुनिक हतियार रुस, चीन, उत्तर कोरिया, इरान आदि देशसँग अमेरिका र पश्चिमा देशहरूको तुलनामा कम छैन । रुस र युक्रेनको युद्धबाट अमेरिकी गठबन्धनका शक्ति राष्ट्रहरू नाटोको पक्षमा ल्याटिन अमेरिकी देशहरू रहेका छैनन्; रुसमाथि लगाएको नाकाबन्दीको पक्षमा छैनन् । अफ्रिकाका कुनै पनि देशहरूले अमेरिका र नाटोको समर्थन र साथ दिएनन् ।
अब अमेरिकाले चाहेर पनि कुनै पनि साना मुलुकमा सैनिक हमला गर्नसक्ने ताकत रहेन । जसरी हिजो इराक, लिबिया, अफगानिस्तानमा कुनै पनि बहानामा सैनिक हमला गरिएको थियो अब तेस्रो विश्वका देशहरूको न्यायोचित जनताको आन्दोलनमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने अवस्था देखिँदैन । किनभने, अमेरिकी साम्राज्यवादको विरोधमा अन्य शक्ति राष्ट्रले साथ र समर्थन पाउने अवस्था सृजना भइसकेको छ । यसको वर्तमान जल्दोबल्दो उदाहरण सिरियाको युद्ध हो । गत वर्ष प्यालेस्टिन र लेबनानको हेजबुल्लाह लडाकूसँगको इजरायली युद्धमा एकतर्फीरूपमा युद्धविराम घोषणा गर्न इजरायल बाध्य भयो र इजरायल युद्धबाट पछि हट्यो । यसको मूलभूत कारण इजरायल र अमेरिकासँग लड्ने बहुध्रुवीय शक्तिको उदय हो ।
श्रोतः अनलाइन मजदुर