२ माघ, कञ्चन
नेपाल मगर संघ, कञ्चन ईकाई समितिले बिविध सांस्कृतिक कार्यक्रम गरी सोमवार मगर समुदायको माघ्या संक्रान्ती तथा नयाँ बर्ष मिन्हाम ल्हेस ५०१७ लाई विविध सांस्कृतिक कार्यक्रम गरी भव्यरुपमा स्वागत गरिएको छ।
कार्यक्रममा मगर समुदायको भाषा, साहित्य, कला, संस्कृति, भेषभुषा र परमपरालाई नयाँ पुस्तामा पुस्तान्तरणका लागि मिन्हाम ल्हेस ५०१७ को महत्व र ऐतिहासिकताका बारेमा चर्चा समेत गरिएको छ। कार्यक्रममा वक्ताहरुले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति ५०१७ बर्ष पुरानो भएको र त्यसको संरक्षण र सम्बर्द्धनका लागि औपचारिक कार्यक्रम गरेर मात्र सम्भव नहुने कुरामा जोड दिएका छन।
कार्यक्रमका प्रमुख वक्ता तथा नेपाल मगर महिला संघका केन्द्रिय सचिव चन्दा थापा मगरले हामीले आफ्नो भाषा, धर्म, संस्कृति, साहित्य र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण नगरेसम्म औपचारिक कार्यक्रमले मात्र आफ्नो अस्तित्व र पहिचान सुरक्षित नहुने बताउनु भएको छ। अव औपचारिक कार्यक्रमबाट हाम्रो भाषा, धर्म, संस्कृति, साहित्य र परम्पराको संरक्षण र सम्बर्द्धनबारे सैद्धान्तिक बहस तथा छलफल गराउदै ब्यबहारिक रुपमा पुस्तान्तरण गर्नको लागि दैनिक जिवनमा समेत एक आपसमा प्रयोग गर्नु गराउनु जरुरी रहेको बताउनु भयो।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्र तुलाचनले हरेक जातजातीहरुको धर्म, संस्कृति, भाषा, साहित्य कला र संस्कृतिको संरक्षणका लागि सबै भन्दा पहिले त्यो समुदाय भित्र नै पश्चिमा संस्कृतिहरुको पुर्ण रुपमा निस्तेज हुन आवस्यक रहेको बताउनु भयो। बर्षमा एक पटक कार्यक्रम गरेर प्रचार होला तर स्थायी संरक्षण नहुने उल्लेख गर्दै भेषाभुषाको पुस्तान्तरणका लागि दैनिक जिवनमा प्रयोग गरी नयाँ पुस्तका लागि प्रोत्साहन गर्नु पर्ने र भाषा धर्म संस्कृति, साहित्य कलाको प्रबर्द्र्धनका लागि विज्ञहरुसंग समुदाय भित्र गोष्ठी, अन्तरकृया र छलफल लगायत कार्यक्रमहरु नियमित रुपमा संचालन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने अध्यक्ष तुलाचनले जोड दिनु भयो
नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीका सदस्य भैरव बहादुर थापाले मगर समुुदायको नयाँ बर्ष मिन्हाम ल्हेसलाई आफ्नो महान पर्वको रुपमा मनाउने संस्थागत गर्न आवस्यक रहेको बताउनु भयो। माघ महिना मगर जातीको नयाँ बर्षको प्रारम्भ महिना भएको उल्लेख गर्दै जिल्ला सदस्य थापा मगरले माघी पर्व अर्थात मिन्हाम ल्हेसलाई सम्पुर्ण मगर तथा गैर मगरहरुको समेत बिशेष पर्व भएको उल्लेख गर्नु भयो।
नेपाल मगर संघ, ईकाई समिति कञ्चनका अध्यक्ष कविराज काउचा मगरले फरक फरक राजनैतिक बिचारमा बिभाजित भएपनि हाम्रो भाषा धर्म संस्कृति, साहित्य कलाको प्रबर्द्र्धनका लागि एक ठाउँ रहन आवस्यक रहेको बताउनु भयो। अन्य समुदायहरु जुनसुकै धर्म र बिचारमा बिभाजित भएपनि हाम्रो भाषा धर्म संस्कृति, साहित्य कलाको प्रबर्द्र्धनका लागि एक ठाउँ उभिएर हरेक कार्यक्रमहरु सफल बनाउने गरेको स्मरण गर्दै मगर समुदायमा त्यो हुन नसकेकोमा दुःख समेत ब्यक्त गर्नु भयो।
कल्याणकारी आमा समूह, मनकामना आमा समूह र रुद्रपुर युवा क्लव, कञ्चन ४ रुपन्देहीसंगको संयुक्त सहकार्यमा आयोजना गरिएको कार्यक्रममा मगर समुदायमा प्रयोग हुने खानाको परिकार, पहिरन तथा कौडा, घाँटु, लगायत सांस्कृतिक नृत्य तथा कलाहरुको समेत प्रस्तुत गरिएको थियो। रुद्रपुर माध्यमिक बिद्यालयको खेलमैदानमा संचालित कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापा, संघका सल्लाहकार रुम बहादुर फौजा, नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका सदस्य सुस्मा थापा मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
नेपाल मगर संघ, ईकाई समितिका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षता, उपाध्यक्ष थम बहादुर सिंजाली मगरको स्वागत तथा धनसिंह रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।