२७ पुस, कञ्चन
थारु समुदायको माघी पर्वको अवसरमा देशभर बिभिन्न मेला र महोत्सव संचालन गरिएको छ भने कतै सम्पन्न भइसकेका छन। मेला तथा महोत्सव सम्पन्न भएका ठाउहरुमा थारु समुदायले माघी पर्व मनाउन आ आफ्नो घर घरमा तयारी गर्ने चटारो छ।
कञ्चनमा थारु कल्याण्कारी सभाको आयोजनामा यही २४ गते देखि संचालन भएको सातौं माघी मेला हिजो बिहिवार सम्पन्न भएको छ। मेलामा खुल्ला रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, आधारभुत बिद्यालय तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता, रेकर्ड डान्स, झुमरा नाँच, झर्रा नाँच, महिलाहरुका लागि डेलवा दौड प्रतिया्ेगिता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा बिशेष साँस्कृतिक तथा सांगेतिक नृत्य तथा गित प्रस्तुत गरिएको थियो।
थारु कला र संस्कृति झल्किने परम्परागत पहिरन तथा खानाहरुको समेत प्रदर्शन गरिएको मेलामा राष्ट्रिय कलाकार सरगम थारु, मिलन चौधरी हरि नारायण थारु, दिपेन थारु लगायतले सांगेतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरु चाँदनी थारु, सुप्रिया थारु, ललिता थारु लगायतले गित तथा नृत्य प्रस्तुत गरेका थिए।
कञ्चन ५ को भैसाहीमा सम्पन्न मेलामा रेकर्ड डान्स प्रतियोगितामा दुर्गामाई कृषक समूह, मसिना प्रथम, जनज्योती महिला समूह बर्गदवा द्वितिय र मायादेवी समूह उत्तर भैसाही तृतिय भएको थियो भने चाँदनी थारुले सान्त्वना स्थान हासिल गरेका थिए। यस्तै भुमरा नाँच प्रतियोगितामा थारु भाषा संस्कृति बकुलगाढ प्रथम, दुर्गामाई समूह मसिना द्वितिय र गणतान्त्रिक समूह पुर्व भैसाही तृतिय भएको थियो भने गायत्रीमाई समूह मसिना सान्त्वना भएको निर्णायक मण्डलका सदस्य तथा गितकार महादेव थारुले जानकारी दिनुभएको छ।
यसैगरी महिलाहरुका लागि संचालन गरिएको डेलवा दौड प्रतियोगितामा लक्ष्मी थारु प्रथम र मोनिका थारु द्वितिय भएका थिए। यस्तै पुरुषहरुका लागि संचालन गरिएको धोती पहिरन दौड प्रतियोगितामा लक्ष्मण थारु प्रथम, अवराम थारु द्वितिय र प्रभात थारु तृतिय भएका थिए भने बुद्धिराम थारु सान्त्वना भएका थिए।
झर्रा नाँच प्रतियोगितामा भने गणतान्त्रिक समूह पुर्व भैसाहीको मात्र सहभागिता रहेकोले उक्त समूहलाई सहभागिताको पुरस्कार सहित सम्मान गरिएको निर्णायक मण्डलका सदस्य तथा मोडल सकुन्तला चौधरीले जानकारी दिनु भएको छ। कार्यक्रममा निर्णायकहरु थारु कवि बम बहादुर थारु, सकुन्तला थारु र महादेव थारुले पनि गित तथा कविता प्रस्तुत गरी दर्शकहरुलाई भरिपुर्ण मनोरञ्जन दिलाउनु भएको थियो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्री र वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले शुभकामना मन्तव्य दिदै थारु समुदायको कला संस्कृति, भाषा, भेषभुषा र कला साहित्यको सम्बर्द्धन र प्रबरेद्धनका लागि स्थानीय तह देखि प्रदेश र संघिय सरकारको बिशेष ध्यान जानु पर्नेमा जोड दिनु भएको थियो।
थारु कल्याणकारी सभा कञ्चनका अध्यक्ष पुर्णवासी थारुको अध्यक्षता तथा सचिव बिष्णु थारु र राधिका चौधरीको संचालनमा मेला सम्पन्न भएको थियो।