२६ पुस, कञ्चन
रुपन्देही जिल्लाको कञ्चन गाउपालिकाले वडा नं. ४ का जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कपडा अन्तर्गत कम्वल बितरण गरेको छ। वडाका १६ टोल बिकास संस्था अन्तर्गतका १०० जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।न्यानो कपडा वितरण गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जेष्ठ नागरिकहरुको सम्मान र विपन्न परिवारको सुरक्षा गर्नु पालिकाको कर्तब्य रहेकोले जाडोबाट बचाउन पालिको विपद कोषबाट न्यानो कपडा वितरण गरिएको बताउनु भयो। कञ्चनका करिब ५ सय जेष्ठ नागरिक तथा विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिने जानकारी गराउदै पालिकाले जेष्ठ नागरिकहरुलाई उनिहरुकै घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न घरदैलो भेटघाट कार्यक्रम समेत संचालन गरेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य कुमारी घर्ति मगरले समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका जेष्ठ अनि विपन्न नागरिकहरुको राज्यले आधारभुत आवस्यकता पुग्नेगरी निर्वाह भत्ताको ब्यबस्था गर्नु पर्ने भएपनि राज्यको निश्चित श्रोत साधनको अभावले कर्तब्यबोध हुँदाहुँदै पनि त्यता ध्यान दिन नसकेको बताउनु भयो। मानविय सेवालाई पहिलो प्राथमिकतामा पालिकाले बिभिन्न कार्यक्रम र योजना मार्फत पालिकाको श्रोत साधन अनुरुप सहज र सर्बसुलभ सेवा प्रवाह गर्नमा बढी ध्यानकेन्द्रित गरिरहेको कार्यपालिका सदस्य घर्ति मगरले बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्ष केशर बहादुर खत्रीले वडावासीको सुख समृद्धि र खुशीका लागि निरन्तर लागिरहने बताउदै वडाका अति महत्वपुर्ण समस्याहरुको समाधानमा वडाका जनप्रतिनीधि र पालिकाले प्राथमिकताकोे आधारमा योजना संचालन गर्दै आइरहेको बताउनु भयो। सकेसम्म वडाको समुचित र सन्तुलित बिकासका लागि योजना निर्माणका लागि जनप्रतिनीधिहरुको ध्यान नपुग्ने भएकोले टोल विकास, आमा समूह, संघसंस्थाहरुले आ-आफ्नो टोल र गाउको अत्यावस्यक योजनाहरुबारे सुझाव दिइरहन वडा अध्यक्ष खत्रीले बिशेष आग्रह गर्नु भयो।
यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले स्वागत गर्दै वडावासीको मनलाई खुशी बनाउन नसकिएपनि सबै क्षेत्र र टोलहरुमा बिस्तारै योजनाबद्ध रुपमा बिकासका कार्यहरुलाई निरन्तरता दिदै जाने बताउनु भयो। पालिकाबाट प्राप्त न्यानो कपडो तपाइको चित्त बुझाउन भन्दा पनि विपदमा राहत उपलब्ध गराउन सके जेष्ठ नागरिक र विपन्न परिवारहरुलाई थोरै भएपनि राहत मिल्ने आशा गरिएको कार्यपालिका सदस्य सुशिला थापाले बताउनु भयो।
कार्यक्रमको सहजिकरण गर्दै वडा सचिव चक्रपाणी पौडेलले वडाबाट प्रवाह हुने बिभिन्न सेवाहरु मध्ये कतिपय सेवा लक्षित समुदायप्रति लक्षित हुने भएकोले लक्षित समुदाय भन्दा बाहिर रहेका सेवाग्राहीहरुले आवस्यक सहयोग गर्नु पर्नेमा जोड दिनु भयो।
वडा नं. ४ को वडा कार्यालय परिसरमा वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु तुल बहादुर गुरुङ्ग, कुल बहादुर श्रीस थापा, श्रीमाया नेपाली, रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्मा, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरु लगायतले समेत न्यानो कपडा वितरण गर्नु भएको थियो।