२४ पुस, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ ले वडाका महिला तथा आमा समूह लक्षित ३ दिने दुना टपरी बुन्ने तालिम सम्पन्न भएको छ। तालिममा वडाका २७ महिला तथा आमा समूहका ६० जना महिलाहरुले सहभागिता जनाएका थिए।
तालिमको समापन गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सिकेको सिपलाई ब्यबसायिक बनाएर उद्यम गरे बजारिकरणको जिम्मा वडा र पालिकाले लिने बताउनु भएको छ। पालिका तथा वडाले लगानी गरेर संचालन गरेका सिपमुलक तालिमहरुको सार्थकता प्रशिक्षार्थीहरुले इमान्दारिता पुर्वक सिपको उपयोग गरेरमात्र सम्भव हुने वडा अध्यक्ष खत्रीले बताउनु भएको छ।
वडा अध्यक्ष खत्रीले तालिममा उत्कृष्ट सिप सिकेर राम्रो दुना टपरी बुन्ने एक आमा समूहलाई आगामी बर्षको बजेटमा १ लाख रुपैया बराबरको उद्यमशिल तालिमको बजेट व्यबस्था गर्ने प्रतिवद्धता गर्दै आजै देखि दुना टपरी बुनेर वडा नं. ४ लाई प्लाष्टिकजन्य प्लेटहरुको प्रयोगलाई निरुत्साहित गर्नमा सहयोग गर्ने उद्यमी महिला तथा आमा समूहहरुलाई बिशेष योजना समेत उपलब्ध गराउने बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले महिलाहरुको लगनशिलता र इमान्दारिता पुर्वक आफ्नो जिममेवारी पुरा गर्ने बिश्वासका साथ तिन दिनसम्म सिकेको सिपलाई उद्यमशिलतामा परिणत गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो। हिजोको महिला भन्दा आजको महिलाहरु बर्तमान परिस्थितीसंग जुध्न सक्ने क्षमता राख्दै कुनै पनि सिपको ब्यबहारिक उपयोग नगर्दासम्म तालिमको अर्थ नरहने बताउदै कार्यपालिका सदस्य थापाले घरमै बसेर दुना टपरी बुनेर त्यसको बजार ब्यबस्थापन गर्न पनि आफै महिला लाग्यो भने उत्पादन खेर नजाने बताउनु भयो।
यसैगरी वडा सचिव चक्रपाणी पौडेलले घरको शुभकार्य होस या कुनै विबाह तथा भोज भटेरमा अति उपयोगीको रुपमा प्रयोग हुने दुना टपरी बुन्ने सिप नयाँ पुस्तामा हस्तान्तरण नगरे सामाजिक सञ्जाल र तस्विरहरुमा दुना टपरी सिमित हुने बताउनु भयो। वातावरणलाई सन्तुलित बनाउन र जमिनको अम्लिय तथा क्षारियपनामा सन्तुलित ल्याउन समेत दुना टपरीको प्रयोग गर्नु निकै राम्रो हुने उल्लेख गर्दै पुराना पुस्ताबाट नयाँ पुस्तामा सिपहरुको हस्तान्तरणले नयाँ पुस्तामा उत्साह थपिने र उद्यमशिलता तर्फ समेत आकर्षण गराउन सहयोग पुर्याउने गरी वडा भित्रका महिला तथा आमा समूहलाई लक्षितगरी वडाले तालिम संचालन गरेको वडा सचिव पौडेलले बताउनु भयो।
कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट सुनादेवी थापा, प्रशिक्षार्थीहरुको तर्फबबाट नव श्रृजना आमा समूहका गितामाया श्रीस र मिलिजुली महिला समूहको तर्फबाट सिमा थापाले तालिम अवधिभर सिकेका सिप र त्यसको उपयोगिताबारे अनुभव सनाउनु भएको थियो।
वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षता तथा वडा सचिव चक्रपाणी पौडेलको संचालनमा कार्यक्रममा गैडहवा गाउँपालिकाका प्रेस संयोजक दिनेश घिमिरेले समेत बोल्नु भएको थियो। कार्यक्रम नव जागृति आमा समूहको कार्यालय भवनमा भएको थियो।