पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sept. – 12 Oct., 1991)
डिपार्टमेन्ट स्टोर अर्थात् विशाल बजार
काठमाडौँको विशाल बजारभन्दा धेरै ठुलो डिर्पाटमेन्ट स्टोरमा हामी पुग्यौँ । हरेक तलामा फरकफरक वस्तुका पसलहरू रहेछन् । कपडा, लुगा, कोठा र भान्छाका सामान, किनारा माल, खेलकुद, सिङ्गारका सामान आदिमा अलग–अलग विभाग र तला छन् ।
पुँजीवादी देशमा जस्तो त्यहाँ पैसा दिएर सामान लिने होइन । हामीलाई चाहिने सामानको मूल्य एउटा काउन्टर वा पैसा लिने ठाउँमा पैसा दिने, अनि त्यहाँबाट पाइने रसिद वा बिल त्यस पसलेलाई दिई सामान लिने गरिन्छ । सबै वस्तुको निश्चित मूल्य हुन्छ– मोलतोल छैन, ठगिनुपर्ने स्थिति छैन । केही सामानको मूल्य सोधेँ । एउटा थर्मसको २० वन, दुईचुले ग्याँस स्टोभको ८० वन, एउटा साइकलको ४० वन, एउटा टेबुल घडीको २० वन, ठुलो एउटा टेबुलको ५३८ वन, मान्डोलियन भन्ने बाजाको ५० वन र पिङपङ वा टेबुलटेनिस बलको १५ कोरियाली पैसा (फन ?) पर्छ ।
मालसामान किन्ने मानिसहरूको घुइँचो छ । हामी नेपालीहरूलाई डलरको थिचोमिचोले हरेक वस्तु महँगो लाग्यो । तर, कोरियाली जनताको निम्ति त्यति महँगो लाग्दैन होला । केटीहरूको एउटा छाताको मूल्य २३ वन थियो भने एउटा रेनकोट या वर्षादीको मूल्य २ वन १० फन थियो ।
कोरियाली फर्निचर, फूल र अन्य कोठा सजाउने वस्तुहरू भने सा¥है राम्रो लाग्यो । त्यहाँबाट हामी सांस्कृतिक कार्यक्रम हेर्न गयौँ ।
विशाल रङ्गमञ्च
एकैपटक २२०० मानिसहरूले कार्यक्रम हेर्न सक्ने र २००० मानिसहरूले आफ्नो कार्यक्रम दबुलीमा देखाउन सक्ने विशाल सांस्कृतिक भवन साँच्चै भव्य छ । ७०० मानिसहरूको कार्यक्रमले पूर्वाभ्यास गर्न सक्ने र ३६० साना र ठुला कोठाहरू भएको यस भवन सन् १९६० मा स्थापना भएको थियो ।
कार्यक्रम सुरु भयो, चार ऋतुको गीत र नाच सुरु भयो । लोक लय र लोक नृत्यमा आधारित त्यो कार्यक्रमलाई कोरियाको शास्त्रीय कार्यक्रम भन्न सकिन्थ्यो । ती सांस्कृतिक कार्यक्रमहरू हेर्दा हामी सोझै प्राचीन कोरिया वा गाउँमा बसेको भान हुन्थ्यो भने मञ्चको प्रविधि र नयाँ वा आधुनिक कार्यक्रम हेर्दा हामी विज्ञान र प्रविधिको देशमा बसिरहेको अनुभव हुन्थ्यो । कला र संस्कृतिमा कोरियाली जनताले ठुलो प्रगति गरेको प्रस्ट देखिन्थ्यो ।
कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले नै हामी त्यहाँ पुगेका थियौँ । बरोबर चिया खाने मेरो बानीले त्यहाँ पनि सतायो । मैले मिस्टर ओसँग चिया खाने पसलमा जाने प्रस्ताव राखेँ । उहाँले अलि अप्ठेरो मान्दै हाँसेर भन्नुभयो, “यहाँ नजिकै रेष्टुराँ हुँदैन । अलि परै जानुपर्छ ।”
आराम गर्ने ठाउँबाट आ–आफ्नो स्थानमा गयौँ, सँगै भियतनामी प्रतिनिधिमण्डलसँग भेट भयो । तर, संयोगले भियतनामी मित्रहरू अङ्ग्रेजी बोल्दैनथे र मलाई फ्रान्सेली वा भियतनामी भाषा आउँदैन । टाकटुक कुराकानी भयो, दुवै हाँस्यौँ र आ–आफ्ना परिचय पत्र (भिजिटिङ कार्ड) हरू आदानप्रदान ग¥यौँ ।
विभिन्न कार्यक्रम हुँदा मञ्चसँगैको भित्तामा अङ्ग्रेजी र अन्य विदेशी भाषामा अनुवाद आउने बन्दोबस्त छ । कार्यक्रमपछि हामी कोरियो होटलतर्फ लाग्यौँ ।
भिलालोनको कपडा कारखाना (२५ असोज ०४८/11 Oct., 1991)
नेपालमा बरोबर उत्तर कोरियामा चुनढुङ्गाको कपडा बनाउने प्रविधिबारे सुन्दै आएको थिएँ । यसकारण, मैले कोरियाली मित्रहरूलाई त्यस कारखानाको कार्यक्रम मिलाउन अनुरोध गरेअनुसार बिहान हामी कारखानामा पुग्यौँ ।
कारखानाका मुख्य इन्जिनियर र पार्टी समितिको सचिवले कोरिया पुनः एकीकरण यात्राको सिलसिलामा आउनुभएका नेपाली मित्रहरूको स्वागत गर्न पाउँदा कारखानाको तर्फबाट खुसी व्यक्त गरे ।
पार्टी सचिवले कारखानाको परिचय दिँदै भन्दै गए– १९४८ को अक्टोबरमा पहिले एक नदीको बगरमा यो कपडा कारखाना स्थापना गरिएको थियो । १९५० मा लडाइँ सुरु भयो, कारखानाका मेसिनहरूलाई पहाडमा ओसारियो र सुरुङमा धागो काट्ने र कपडा उत्पादन गर्ने काम सुरु गरियो । तर, लडाइँमा बम बर्सिरहेको बेलामा पनि महान् नेता किम इल सङ कारखाना हेर्न पुग्नुहुन्थ्यो ।
परिचय अगाडि बढ्दै गयो – १९५३ को जुलाईमा लडाइँ बन्द भयो, कारखानाको पुनःनिर्माणबारे छलफल हुँदा ५ वर्ष लाग्ने कुरा भयो । तर, महान् नेताले अमेरिकी साम्राज्यवादलाई हराएको जोशमा २ महिनामा सिधिने कुरा बताउनुभयो र डिजाइन तयार गरियो, पुराना सामान पनि झिकाउँदै गइयो र २ महिनाभित्र काम सुरु भयो ।
१५ जना श्रमवीर र ५ जना उद्योगसम्बन्धी विशेषज्ञ भएको तथा १२,००० मजदुरहरू भएको यस कारखानाले २८,००० मेट्रिक टन धागो, ३०,००० मेट्रिक टन कपास, १० करोड मिटर कपडा उत्पादन गर्छ भने १२ करोड मिटर कपडा रङ्गाउने क्षमता राख्छ भन्दै पार्टी सचिवले कारखानाको विभागबारे जानकारी दिए– धागो काट्ने २ वटा कारखाना, कपडा बुन्ने, रङ्गाउने, रेशमको र नराम्रो रेशमको धागो बनाउने कारखानाहरू छन् ।
उनले पुनः थपे– रुमाल बनाउने र साधारण कपडा बुन्ने बाहिर पनि यसका दुईवटा शाखा कारखानाहरू छन् ।
हाम्रो प्रश्नको उत्तरमा मुख्य इन्जिनियरले भने– यस कारखानाका मजदुरहरूमध्ये १० प्रतिशत इन्जिनियरहरू छन्† १२५ किसिमको कपडा उत्पादन हुन्छ† २४०० किसिमका बुट्टाहरू निकालिएका छन् र नयाँ मजदुरहरूलाई १ वर्षको तालिम दिइन्छ । अर्को प्रश्नको उत्तरमा भने, यस कारखानाको उत्पादन युरोप, जापान, मध्यपूर्वका देशहरूमा निर्यात हुन्छ ।
पार्टी र सरकारको निर्देशनबारे मुख्य इन्जिनियरले भन्दै गए– महान् नेता ४८ पटक र प्रिय नेता ६ पटक यस कारखानामा आउनुभयो तथा १९६१ को सेप्टेम्बर र १९६२ को जनवरीमा कारखानाको व्यवस्थापनबारे मजदुर र प्रबन्धकको सामूहिक भावनाले काम गर्ने, व्यवस्थापन पार्टी समितिले निर्णय गर्ने, पार्टी सचिव, कारखानाका प्रबन्धक, विभागीय पार्टी प्रतिनिधिहरू, मजदुरहरूका प्रतिनिधि बसी प्रजातान्त्रिक ढङ्गले काम गर्ने निर्देशन दिनुभएको थियो । त्यस व्यवस्थापन बन्दोबस्तलाई ‘त्यान’ प्रणाली भनिन्छ ।
योजना बनाउँदा धेरै वर्ष काम गरेका मजदुरसमेत राखिन्छ, पुरानो नयाँ मिलाएर प्राविधिक क्रान्तिमा ध्यान दिइन्छ भन्दै उनले कारखानामा २,२७,००० धागोको लट्टाई भएको र १९९२ सम्ममा ३ लाख लट्टाई पुग्ने कुरा बताए ।
मजदुरहरूको तलब र तिनीहरूलाई दिइने अन्य सुविधाको प्रश्नमा पार्टी समितिका सचिवले भने– तालिम अवधिमै मजदुरहरूले ४० वन महिनाको ज्याला पाउँछन् र चामल, लुगा, बसभाडा आदि सहुलियत पाउँछन् । योग्यता निर्धारित भइसकेपछि तीबाहेक १५ दिनको बिदा, बस्ने घर, एक महिना स्वास्थ्य निवास, उपचार, महिला मजदुरहरूलाई १५० दिनको सुत्केरी बिदा, बच्चा पाउनुभन्दा १५ दिन अगाडि बिदा, ३ वटा बच्चा भएकोलाई ६ घण्टामात्र काम आदि सहुलियतको बन्दोबस्त छ ।
मजदुरका केटाकेटीको निम्ति ठाउँ–ठाउँमा नर्सरी तथा शिशु स्याहार केन्द्रहरूको बन्दोबस्त छ, चार सय शøयाको बालकहरूको अस्पताल छ र उपचारको निम्ति ठाउँ–ठाउँमा उपचार केन्द्रहरूको बन्दोबस्त छ भन्दै उनले हामीलाई कारखानाका विभागहरूको अवलोकन गराउन लगे ।
भिलालोन र एक्रालिक मिसाएर बनाउने त्यस कारखानाका हरेक विभाग हाम्रो हेटाँैडा कपडा कारखानाभन्दा धेरै ठुलठुला छन् । चुनढुङ्गाबाट तयार भएको टल्कने कपास छोएर हेर्दा अलि चिप्लो लाग्दथ्यो । यस कारखानाको जम्मा उत्पादनको जम्मा मूल्य के कति होला भन्ने प्रश्नको उत्तरमा मुख्य इन्जिनियरले भने– २० करोड वनको भन्दा बढी उत्पादन हुन्छ अर्थात् अहिलेको हिसाबले ५ अर्ब रूपैँयाको भन्दा बढी हुन्छ ।
कारखानाको मुख्य कार्यालय जाने पहिलो बैठकमै महान् नेताको जीउभन्दा ठुलो तामाको विशाल सालिक राखिएको थियो । कुराकानीमा जापानी उपनिवेशकालमा महान् नेताकी आमाले नाङ्गो कोरियाली केटाकेटीले रेशमको लुगा लगाएको हेर्दा मलाई सा¥है खुसी हुनेछ भन्नुभएको कुरा पनि पार्टी सचिवले उल्लेख गरे ।
चुनढुङ्गाको कारखाना हेर्दा मैले नेपालका ठाउँ–ठाउँका ढुङ्गाहरू सम्झेँ र पछि यस्तै भिलालोनका कारखानाहरूसमेत नेपालमा खुल्ने कल्पना गर्दै कारखानाबाट बिदा भयौँ र हाक्सान सहकारी खेतीतिर लाग्यौँ ।
सहकारी खेती
चीनको जन–कम्युनले १९६० देखि नै मेरो मनमस्तिष्कलाई छाप पार्दै थियो । पछि जन–कम्युनको असफलताको कुरा सुन्दा एकैबाजी विश्वास गर्न मलाई गा¥हो भयो । यसकारण, म प्रजग कोरियाको खेती व्यवस्थाबारे जान्न सा¥है उत्सुक थिएँ ।
मोटरले प्योङयाङलाई पछि छोड्दै अघि बढ्यो । मोटरको रफ्तार देखाउने घडीले १२० देखि १५० किलोमिटर प्रतिघण्टा दौडेको सङ्केत देखाउँदै थियो । मोटर अब पूरै गाउँतिर दगुर्दै थियो । मोटरको गति अब कम हुन थाल्यो, स–साना घरहरू देखिन थाले । मोटर अब सानो मोडमा पुग्यो र सानो उकालो लाग्दै एउटा एकतले घरनेर रोकियो ।
त्यस सहकारीको ५३ वर्षका प्रमुखले हात मिलाउँदै स्वागत गरे । हात मिलाउँदा उनको हात खस्रो अनुभव भयो र उनी मेहनती किसानै हुन् भनी ठम्याउन मलाई गा¥हो भएन ।
सहकारीको बैठकमा फलफुलको रसका घुट्को पिउँदै गयौँ र प्रमुखले सहकारीको परिचय दिदै गए । १९५४ मा ३०–३० परिवारको एक सहकारी बनाइएको थियो र १९५८ मा दि भन्ने एक एकाइ सहकारी बनाइयो । १९६४ मा ४ वटा गाउँको सहकारी मिलाएर यस हाक्सान सहकारी बनेको थियो । यसमा ११०० परिवार छन् र जनसङ्ख्याको हिसाबले २,८०० किसानहरू यससँग सम्बन्धित छन् । यसमा जम्मा १५०० हेक्टर जग्गा छ, जसमध्ये ९०० हेक्टरमा धान, ४०० हेक्टर सुख्खा खेतमा मकै र बाँकीमा फलफुल लगाइन्छ । खाद्यान्न टोली, फलफुल टोली, तरकारी टोली, रेशम टोली, पशुपालन टोली आदि गरेर यस सहकारीको जम्मा ३० कार्य टोली छ । एक हेक्टरको झन्डै हाम्रो २० रोपनी हुन्छ ।
सहकारीको सम्पत्तिबारे प्रमुखले भन्दै गए– २० वटा ट्रकहरू, ८० वटा ट्रयाक्टरहरू, १००० भन्दा बढी धान रोप्ने, झार्ने र बीउ छर्ने आदि कृषि ज्यावलहरू छन् तथा शिशुशाला, बालोद्यान, स्कूल, अस्पताल, पसल, बायोग्याँस र जीवनका अन्य सुविधाहरू पनि यस सहकारी संस्थासँग छ ।
उत्पादनबारे सोधिएको प्रश्नको उत्तरमा उनले भने– १९९० मा प्रतिहेक्टर धान ८.५ मेट्रिक टन उत्पादन भएको थियो भने १९९१ मा मकै प्रतिहेक्टर ८.२ टन उत्पादन भएको थियो । सालाखाला १ किलो रासायनिक मलले १० किलो उत्पादन गर्छ र १ हेक्टरमा ८००–९०० किलो मल जान्छ । सालाखाला प्रतिहेक्टर सबै गरेर २ मेट्रिक टन मल खर्च हुन्छ ।
यस सहकारीले गाई–गोरु, सुङ्गुर, कुखुरा, खसी, बोका पालन गर्छ र घर–घरमा निजी पनि पशुपन्छी पाल्छन् । ती निजी पशुपन्छी बेच्न पनि पाउँछ, खान पनि पाउँछ, २५० हेक्टर तरकारी खेती सहकारीको छ र २०–३० देखि ६०–९० वर्गमीटरसम्मको निजी तरकारी बारीको पनि छुट दिइएको छ भनी प्रश्नका उत्तरहरूमा उनले भने । साथै उनले भन्दै गए– घरहरू बनाउन सरकारले नै सबै सामान दिएको हो, ज्यामी पनि सरकारले लगाएको हो र घरको बहाल तिर्नुपर्दैन । कृषि ज्यावल र मेसिनहरू सरकारले दिएको हो र कलपुर्जा र तेल भने सहकारीले व्यहोर्छ । सिँचाइको सुविधा, खेतलाई सम्म पार्ने, कृषि उत्पादन बढाउन अन्य आवश्यक काम र खर्च आदि सबै सरकारले व्यहोर्नुका साथै शिक्षा र उपचारसमेत निःशुल्क दिएर जीवनमाथि पनि सरकारले थप लगानी गरिदिएको छ ।
अर्को प्रश्नको उत्तरमा सहकारी प्रमुखले भन्दै गए– स्वास्नीमानिस ५५ वर्ष पुगेपछि र लोग्नेमानिस ६० वर्षपुगेपछि अवकाश पाउँछन्, मजदुरहरूलाई जस्तै सरकारले अवकाश, बिरामी वा दुर्घटनामा पर्दा पेन्सन र खर्च दिन्छ । बाटो खर्च, जाडोमा १५ दिनको बिदा, रमाइलो ठाउँमा जाने, प्रसूतिलाई ज्यालासहित १५० दिनको बिदा आदि सहुलियत छ । सामुदायिक उत्पादनमध्ये गाउँलाई चाहिने जति राख्ने र अरु सरकारलाई बेचिन्छ, बढी उत्पादनको फाइदा किसानलाई हुन्छ र बढी काम गर्नेले बढी पैसा पाउँछ । कार्य उपटोली १५–२० जनाको हुन्छ । तिनीहरूले नै आ–आफ्नो काम र उत्पादनको हिसाब राख्छन् ।
कुराकानी चल्दै गयो, सहकारीको आफ्नै उत्पादन सख्खरखण्ड र फलफुल टेबुलमा टक्राइयो । त्यस सहकारीका उत्पादन चाख्दै प्रश्न पनि गर्दै गयौँ । उनले उत्तर पनि दिँदै गए– व्यवस्थापनको हरेक महिना बैठक हुन्छ, त्यसमा कार्यटोलीका नेताहरूले भाग लिन्छन् र वर्षको ४ पटक साधारण सभा हुन्छ, धान, मकै, तरकारी र खानेकुराबाहेक सहकारीको प्रत्येक परिवारले सालाखाला वर्षमा ४४०० वन अर्थात् १ लाख १० हजार रूपैँया आम्दानी बाँड्छन् । यसको अर्थ हो– एक परिवारले महिनामा ९–१० हजार रूपैँया आम्दानी गर्छ ।
त्यसपछि हामीले सहकारीका सांस्कृतिक कक्ष, कृषि तालिम कक्ष, माटो जाँच्ने प्रयोगशाला, तालिम कक्ष तथा मल, धान, मकै, फलफुल, तरकारी, पशुपन्छीबारे तालिम दिने कक्षहरू हेर्याँै । माटोको विश्लेषण गर्ने कोठामा हरेक फाँटको नम्बर र हरेक खेतका कित्ताहरूमा माटोको गुण लेखिएको छ र त्यसमा के कस्तो मल कति दिने हो समेत लेखिएको छ । माटोको जाँच हरेक वर्ष गरिन्छ ।
राजनैतिक कक्षा, राम्रो काम गर्नेहरूलाई पुरस्कार र सूचना पाटीमा फोटो टाँस्ने बन्दोबस्त देख्यौँ । त्यसपछि हामी शिशुशाला हेर्न गयौँ । त्यहाँ ६० जना स–साना नानीहरू थिए, अस्पतालमा गयौँ । २८ जना डाक्टर, ३० ओछ्यान, एक्स–रे कोठा, दाँत, प्रसूति, कोरियाली आयुर्वेद आदि विभागहरू थिए । बहिरङ्ग विभागमात्रै होइन डाक्टरहरू खेत–खलिहान र घर–घरमा समेत गई औषधि गर्छन् भनेर त्यहाँका प्रमुख डाक्टरले भने । त्यसपछि हामी ट्रक, ट्याक्टर र अन्य कृषि औजार र ज्यासल र किसानहरूको घरहरू हेर्न गयौँ ।
हाक्सान सहकारी कार्यालयको अगाडि सूचना पाटीमा महान् नेताका चित्र र उहाँले दिनुभएका निर्देशनहरू लेखिएका थिए । प्रमुखज्यूले बडो गर्वसाथ भने– यस सहकारीमा महान् नेता १५ पल्ट र प्रिय नेता एकपटक आई उत्पादन कसरी बढाउने, किसानको जीवन स्तर कसरी बढाउने र व्यवस्थापनको स्तर कसरी बढाउने आदिबारे निर्देशन दिनुहुन्थ्यो । गाउँ–गाउँमा किसानहरूलाई कम्युनिस्ट बनाउन महान् नेताका कृतिहरू अध्ययन गराउँछौँ । राजनैतिक स्तर पनि बढ्दै गएको छ ।
हाक्सान सहकारीबारे सुनिरहँदा, छलफल गरिरहँदा वा सबै ठाउँहरू निरीक्षण गरिरहँदा म मनमनै चीनको जनकम्युनसँग तुलना गर्दै थिएँ । धेरै कुरामा फरक पाएँ– तर विवेचना गर्न सामग्री अपर्याप्त महसुस हुँदै थियो । समय थिएन । यसकारण, सहकारीका प्रमुखसँग बिदा लियौँ । मोटर प्योङयाङतिर हुर्रियो । दिउँसोको खानापछि बजार गयौँ र बजारबाट फर्केपछि हाम्रो सामान मिलाउन सुरु गर्यौँ ।
स्वदेशतर्फ (२६ असोज, ०४८/12 Oct., 1991)
बिहान सातै बजे पेचिङको निम्ति प्योङयाङबाट उड्नु थियो । तर, केही बिर्सेको र केही बाँकी भएको जस्तो कस्तो कस्तो अनुभव भइरह्यो । त्यसै रात छर्लङ्ग बित्यो ।
२६ असोज २०४८ को बिहान ९ बजे हामी कोरियाली एकीकरण समितिका उपनिर्देशक र अन्य कोरियाली मित्रहरूसँग प्योङयाङ हवाई अड्डामा बिदा लिएर पेचिङको निम्ति उड्यौँ ।
-का. रोहित