२३ पुस, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुका लागि मानसिक तथा नसर्ने रोगबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नवराज ढकालले महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको अथक प्रयास र परिचालनकै कारण कञ्चनको स्वास्थ्य अवस्था अन्य पालिकाहरुको भन्दा राम्रो भएको बताउनु भयो। निःस्वार्थ रुपमा सेवाभावले समुदायमा गई समुदायको स्वास्थ्य अवस्थाबारे तथ्यांक संकलन गरेर कञ्चनको स्वास्थ्य क्षेत्रमा संचालन गरिने कार्यक्रमहरुको योजना तर्जुमा गर्न सहज भइरहेको अध्यक्ष ढकालले बताउनु भयो। सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु मेहनतलाई पालिकाको श्रोतको आधारमा सम्बोधन गर्दै आइरहेको र समयानुकुल क्षमता अभिबृद्धिका लागि बिभिन्न तालिम तथा गोष्ठी संचालन गर्ने अध्यक्ष ढकालले बताउनु भयो।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले घर देखि परसम्मको जिम्मेवारीलाई इमान्दारपुर्वक सम्पन्न गर्नमा महिलाहरु नै अगाडी रहेको बताउनु भयो। समुदायको स्वास्थ्य अवस्थालाई बिशिष्ट सुचाङ्कमा पुर्याउन महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको मेहनत र लगनशिलताको मुल्यांकन राज्यले नै गर्नु पर्नेमा पालिकाको क्षमता अनुसार स्थानीय तहले सम्बोधन र मुल्यांकन गर्दै आइरहेको बताउदै उपाध्यक्ष थापा मगरले समुदायसंग नजिक रहेर काम गर्दा समुदायमा भएका हरेक घटनाहरुले मानसिक रुपमा असहज परिस्थिती सृजना हुन सक्ने भएकोले ती तनावहरुको ब्यबस्थापन गर्न पनि मानसिक रुपमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु स्वस्थ हुनु पर्नेमा जोड दिनु भएको थियो।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले समुदायको हरेक स्वास्थ्य समस्यासंग जुध्ने महिला सामुदायिक स्वास्थ्य स्वय सेविकाहरुलाई मानसकि रुपमा स्वस्थ र सक्षम बनाउन मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरणको आवस्यक पर्ने बताउनु भयो। समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना गर्दै हिड्दा मानसिक रुपमा असक्षम रहेका बिरामीहरुको समेत फेला पर्ने र उनिहरुलाई उनिहरुको रोगको लक्षण अनुसार स्वास्थ्य सल्लाह प्रदान गर्न पनि मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान हुन आवस्यक रहेको वडा अध्यक्ष खत्रीले बताउनु भयो।
मानसिक स्वास्थ्य सहजकर्ता बिष्णु सुनार र रुद्रपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट दीपक जैसीले मानसिक स्वस्थ्य सम्बन्धी अभिमुखीकरण प्रदान गर्नु भएको थियो। रुद्रपुर स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ३, ४ र ५ का ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको थियो ।
बिदाई भइ जाने योगमाया पुनले महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका भएर काम गर्दाको अनुभव सुनाउदै आफुले अनिवार्य जिम्मेवारीबाट मात्र मुक्त भएको तर आफुले गर्नु पर्ने सामाजिक उत्तरदायित्वबाट कहिल्यै अवकास नभएको बताउनु भएको थियो।
महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका रुद्रपुरका संयोजक सुमित्रा बुढाथोकीको अध्यक्षता, कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले सहजिकरण गर्नु भएको कार्यक्रममा रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले स्वागत गर्नु भएको थियो भने स्वयम सेविका रमा ढकालले समेत बोल्नु भएको कार्यक्रम स्वयम सेविका पुष्पा के.सीले संचालन गर्नु भएको थियो।