का. रोहित
पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sept. – 12 Oct., 1991)
मोराङ बोङ माध्यमिक स्कूल
त्यसपछि हामी मोराङ बोङ माध्यमिक स्कूल नं. १ मा पुग्यौँ । प्रधानाध्यापक र विद्यार्थीहरूले हाम्रो स्वागत गरे । शिक्षक र विद्यार्थीहरूबाट कोरियाली जनतासँग देखाइएको ऐक्यबद्धताबारे सम्झना भइरहने कुरा बताए ।
त्यस स्कूलमा ११ वर्षको उमेरदेखि १७ वर्षका १८०० छात्रछात्राहरू पढ्छन्, स्कूल समय ८ बजेदेखि १ बजेसम्म कक्षा सञ्चालन हुन्छ । ४५ मिनेटको कक्षा हुन्छ, १०ः३० बजे रोटी र दूधको चमेना खुवाइन्छ र ३ बजेदेखि फेरि शारीरिक तालिम दिइन्छ ।
९० जना शिक्षकबाट ज्यामिति, विज्ञान, प्राकृतिक विज्ञान, आधार शिक्षा, मानविकी गरेर जम्मा २२ वटा विषय पढाइन्छ, एउटा कक्षामा सालाखाला ३० जना छात्रछात्रा हुन्छन्, पूर्णाङ्क १०० मा ६० अङ्क उत्तीर्णाङ्क प्राप्त गर्नै पर्छ ।
हामीले कक्षाहरू हे¥यौँ, विज्ञान कक्षाहरू हे¥यौँ, कम्प्युटर कक्षा हे¥यौँ आदि । भवन र अन्य सहुलियत हेर्दा हाम्रो देशमा हामीले गर्नुपर्ने धेरै काम बाँकी भएको अनुभव मैले गरेँ । प्रजग कोरियामा शिक्षा अनिवार्य र निःशुल्क छ ।
प्योङयाङ, मोराङ बोङ माध्यमिक स्कूल नं. १ बाट बिदा लिएर हामी ‘जनताको सांस्कृतिक दरबार’ तिर लाग्यौँ ।
जनताको सांस्कृतिक दरबार साँच्चै हेर्नलायकको भव्य छ । ६०,००० वर्ग मिटर क्षेत्रफल भएको उक्त दरबार १९७४ को जनवरीमा निर्माण भएको, त्यस भवनमा ५०० कोठा र ५ वटा सभाकक्ष छन् । ती सभा भवनहरूमा १० भाषामा अनुवाद गर्न सकिने बन्दोबस्त छ भने ४ वटा राजकीय भोज दिने कक्ष, एक सानो सिनेमा कक्ष, दुई सम्मेलन गर्ने कोठा, दुईवटा हस्ताक्षर समारोह गर्ने कोठा, २० वटा अन्तर्वार्ता गर्ने बैठक गरी जम्मा ५०० वटा कोठा छन् ।
कोरियाका सबैजसो भवन विशाल छन्, सबै सिंहमर्मरका र वर्णन गर्न नसकिने खालका छन् । एउटा कक्षमा का. किम इल सङको कृतिहरूको काल विभाजनको आधारमा प्रदर्शन गरिएको छ । त्यसअनुसार १७० देशमा ती कृतिहरूको प्रदर्शन र अध्ययन हुन्छन् वा प्रचार भएका छन् ।
ती सबै हेरिसकेपछि मैले आगन्तुक पुस्तिकामा लेखेँ, “जनताको सांस्कृतिक दरबारमा कोरियाली क्रान्ति, समाजवादको निर्माण र त्यसमा कामरेड किम इल सङको योगदानसम्बन्धी अनेक कृतिहरूलाई काल विभाजनको रूपमा प्रदर्शन गरिएको छ, त्यसले कोरियाको क्रान्तिकारी इतिहास र कामरेड किम इल सङको दृष्टिकोण बुझ्न सजिलो हुन्छ, यो राम्रो र प्रभावशाली काम भएको छ ।”
– ८ अक्टोबर १९९१
छाङग्वाङ बालोद्यान
खाना खाइसकेपछि हामी छाङग्वाङ बालोद्यान हेर्न गयौँ । १९८२ मा स्थापना भएको २३०० वर्गमिटरमा निर्मित त्यो बालोद्यान साँच्चै नेपालको कुनै दरबारभन्दा कम देखिन्न । ५०० केटाकेटीको निम्ति ठुलठुला ४ वटा भवन, पशुपक्षीका नमुना, झन्डै सानो चिडियाघर आदि सब हेरेर हामीले प्रश्न ग¥यौँ – ‘के यो सा¥है खर्चालु र अति भएन ?’ उत्तर पायौँ– “महान् नेता किम इल सङले भन्नुभएको छ– हाम्रा केटाकेटीहरू हाम्रा देशका राजा र रानीहरू हुन् । थप प्रश्न गरेँ – ‘यसमा सायद ठुलाबडाका छोराछोरीमात्रै होलान् ।’ उत्तर आयो– ‘होइन, यस क्षेत्रका मजदुर, कर्मचारी आदि विभिन्न पेसाका मानिसहरूका छोराछोरीहरू हुन् ।
३–४ वर्षका केटाकेटी यसमा आउने र ६ वर्षमा यहाँबाट बिदा लिने, दिनमा सुताउने, पढाउने, खेलाउने काम हुन्छ, काम सिधेपछि आमाबाबुले आ–आफ्ना केटाकेटी लिन आउँछन् र एक एक हप्तासम्म यहीँ राख्ने पनि बन्दोबस्त छ, दिउँसो गीत गाउन दिने, २–३ चोटि खाना खुवाउने आदि गतिविधिबारे त्यहाँका दिदीले वा शिक्षिकाले बताउँदै गइन् ।
एउटा ठुलो बैठकमा हामी प्रवेश गर्नासाथै कोरियाली भाषामा ‘काका नमस्ते, नाचौँ’ भनेर हात समात्न केटाकेटी आइहाले । तिनीहरूमा अलिकति पनि डर, लाज र पराइपनको भावना देखिन । हात समातेर जानी नजानी हामी नाच्यौँ, कस्तो आत्मीयता, कस्तो माया लाग्ने केटाकेटीहरू ! साँच्चै हरेक आमाबाबुमा वात्सल्यता जाग्नु स्वाभाविक हो ।
केटाकेटीको नाचगान र खेलहरू हेरिसकेपछि हामीले तिनीहरूको पोखरी हे¥यौँ । अनि ठुलो हलमा प्रवेश ग¥यौँ र सांस्कृतिक कार्यक्रम सुरु भयो ।
एउटा बालोद्यानको हल हाम्रो देशको सबभन्दा ठुलो हलभन्दा कम भव्य छैन, मञ्चमा केटाकेटी उभिनासाथै माइक सर्ररमाथि आउँछ, बोलेर गइसकेपछि माइक आफैँ तल झर्छ । कार्यक्रमको आवश्यकताअनुसार दृश्यहरू आफैँ परिवर्तन हुने, बाजागाजामा केटाकेटीहरू सर्रर आफैँ आउने र त्यस्तो स्टेज प्रविधि हाम्रो देशमा आइपुगेको छैन । केटाकेटीको कार्यक्रम हेरेर हामीहरू मन्त्रमुग्ध भयौँ ।
कार्यक्रमपछि केटाकेटीहरूले हात समातेर सदा हृदयमा स्नेह उम्लने छाप दिएर हामीलाई बिदाइ गरे ।
एक्रोबेटिक वा सर्कस
बालोद्यानबाट हामी कार्यक्रमअनुसार एक्रोबेटिक वा सर्कस हेर्न गयाँै ।
डोरीबाट उफ्रने, डोरीमा झुल्ने, घुँयत्रो हानेर बत्ती निभाउने, सामान खसाल्ने, बाण हान्ने, घुँयत्रोले टुक्राउने, हिउँमा चिप्लेटी खेल्ने र नाच देखाउने आदि जीउ नै सिरिङ्ग–सिरिङ्ग गर्ने खेल वा सर्कस हेरियो ।
अनेक प्रकारका सामान देखाउने, लुकाउने, टुक्राउने र जोड्ने चटक र भालुको लडाइँ हे¥याँै ।
कोरिया यसरी एक्रोबेटिक र सर्कसमा पनि अरु देशभन्दा पछि छैन भन्ने थाहा पायौँ । हामीले राम्रै मनोरञ्जन ग¥यौँ ।
कोरियाली मजदुर पार्टीको महाविद्यालय (२३ असोज, ०४८/9 Oct., 199)
बिहान ८ बजे हामी पार्टी स्कूल र कलेजको कार्यक्रममा गयौँ । यस कलेजमा कार्यकर्ताहरूलाई पार्टीको इतिहास, दर्शन, राजनीति, सिद्धान्त र सङ्गठन शैलीबारे शिक्षा दिने गरिन्छ ।
कलेजका प्राध्यापकहरूसँगको छलफलबाट के थाहा पाइयो भने रुसी अक्टोबर क्रान्तिको प्रभावबाटै अर्थात् १९२० देखि नै कोरियामा कम्युनिस्ट पार्टी स्थापना गर्नेबारे सङ्घर्ष सुरु भयो । विधिवतरूपमा १९२५ मा कोरियाली कम्युनिस्ट पार्टी स्थापना भयो तर माक्र्सवाद र लेनिनवादलाई मान्ने भनिए पनि नेताहरू घमण्डी, जनतासँग सम्पर्क नभएका र गुटबन्दीले गर्दा १९२८ सम्ममा कम्युनिस्ट पार्टी नै विघटन गरियो ।
तर, कामरेड किम इल सङ पुरानो नक्कल नगरी युवाहरूको नयाँ ढङ्गको सङ्गठन थाल्नुपर्ने, पहिले सङ्गठनात्मक र विचारधारात्मक जग हाल्नुपर्ने कुरामा जोड दिनुहुन्थ्यो । जनतामा जरो हाल्ने, पार्टीका विचारधारामा एकता हुनुपर्ने, चीनको सीमामा पहिले प्रारम्भिक सङ्गठनबाट जापानविरोधी गुरिल्ला सेना तयार गरियो । १९३० देखि १९४५ सम्म जापानविरोधी सङ्घर्ष भयो । त्यसबेला कोरियामा कम्युनिस्ट पार्टी, नयाँ प्रजातान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी र कोरियाली धार्मिक पार्टी थिए । १९४५ अक्टोबर १० को दिन का. किम इल सङको अथक प्रयासबाट मजदुर र किसानहरूको पार्टी कम्युनिस्ट र नयाँ प्रजातान्त्रिक पार्टी मिलेर कोरियाली मजदुर पार्टी स्थापना गरियो । जापानविरोधी सङ्घर्षमा झण्डै संयुक्त मोर्चा गरिएको थियो ।
त्यसबेला संयुक्त मोर्चाका विरोधी जमिनदार, ठुल–ठुला पुँजीपति र देशद्रोहीहरूमात्रै थिए । प्रजातान्त्रिक क्रान्तिको बेला तिनीहरूसँग सङ्घर्ष गरिएको थियो ।
धर्म र पुँजीपतिवर्गप्रति युरोपेली र कोरियाली कम्युनिस्टहरूको माझमा वैचारिक वा व्यवहारिक भिन्नता देखिन्थ्यो । १९१७ पछि रुसमा पुँजीपतिवर्गको विरोधमा पूरै सङ्घर्ष छेडिएको थियो भने चीनमा पुँजीपतिवर्गलाई अस्थायी मित्र भनिन्थ्यो र कोरियामा समाजवादी क्रान्तिमा पुँजीपतिवर्गलाई समेत साथ लिइएको थियो ।
प्रजग कोरियाको संविधानमा धार्मिक स्वतन्त्रतालाई ग्यारेन्टी दिइएको छ । तर, लडाइँको बेला संरा अमेरिकाले बुद्धविहार र मन्दिरहरूलाई बम हानेर ध्वस्त पा¥यो । विज्ञान तथा शिक्षाको प्रचार हुँदै गएपछि ईश्वरप्रतिको आस्था घट्दै जान्छ । अर्कोतिर कोरियाली क्राइश्चेलीहरू कोरियाकै पक्षमा प्रार्थना गर्छन् र ईश्वरको ठाउँमा महान् नेता का. किम इल सङलाई राम्रो मान्छन् ।
पार्टी महाविद्यालयमा २६० छात्रछात्राहरू छन्, त्यसमध्ये १/३ (एकतिहाइ) छात्रा छन्, स्तरको हिसाबले ५२ जना जति विश्वविद्यालयस्तरका छन् । अध्ययनको शैली अन्य कलेजको भन्दा फरक पाएँ । ४ महिना अध्ययन गराइने र ६ महिना अध्ययनअनुसार काम गराउने वा व्यवहारमा लगाइने गरिन्छ ।
प्रश्नको उत्तरमा अधिकारीहरूले भने, “मजदुर पार्टीको स्थापनाको सुरुमा पार्टी सदस्यहरूमा किसानहरूको सङ्ख्या बढी थियो, अनि मजदुर र बुद्धिजीवीहरूको सङ्ख्या थियो ।”
सत्तामा रहेको पार्टी भएको हुनाले पार्टीलाई इस्पातजस्तै बलियो बनाइनुपर्दछ । एउटै विचार, एउटै मन र एउटै इच्छाले जुछे विचारलाई अँगाल्नुपर्छ, गलत विचार पस्न नदिने, एउटै केन्द्रमा एकीकृत हुने, गुटबन्दी गर्न नदिने, अनुशासनलाई आमाको अँगालोजस्तै माया गर्ने, पुरानो र नयाँ, साना र ठुला समान रहने प्रजातान्त्रिक केन्द्रीयता आदि कुरामा अध्ययन गराइने कुरा एक उत्तरमा उनले बताए ।
पार्टी सदस्यताको मापदण्ड के हो भन्ने मेरो प्रश्नको उत्तरमा भने– कडा छानबिन गरेरमात्रै पार्टी सदस्यता दिइन्छ, पार्टी सदस्यताको निम्ति ढोका बन्द गर्ने पनि होइन, जसलाई पायो उसलाई ल्याउने पनि होइन । पार्टीको ध्यान प्रशासनमा कर्मचारीतन्त्र आउन नदिने, आम जनताको माग र हितलाई प्राथमिकता दिने नीति निर्धारण गर्ने, स्वेच्छाले पार्टीमा आउन दिने र का. किम इल सङले भन्नुभएजस्तै ‘सम्पूर्ण पार्टी जनतामा जाने’ नीति पार्टीको छ, १ महिनामा १५ दिन जनताको माझमा काम गर्नुपर्छ, पार्टीका कार्यकर्ताहरूले हुकुम चलाउने होइन– सेवा गर्ने हो आदि कुरा प्राध्यापकहरूले बताए ।
क्रान्तिकारी अभिभारालाई पूरा गर्न पार्टीको चारैतिर कृषि श्रमिक सङ्घ, समाजवादी श्रमिक युवा सङ्घ, प्रजातान्त्रिक महिला सङ्घ कार्यरत छन् र मजदुर सङ्घको काम मजदुरहरूमा राजनैतिक शिक्षा दिने र पार्टी नीतिलाई अवगत गराउने हो र पार्टी कार्यकर्ताले २४ घण्टामा ८ घण्टा पढ्ने, ८ घण्टा काम गर्ने र ८ घण्टा आराम गर्ने नियम बनाइएको कुरा पनि उनले बताए । का. किम इल सङको निर्देशनअनुसार जनतालाई शिक्षित पार्न १० होइन १०० पटक पनि भेट्नुपर्दछ ।
एक प्रश्नको उत्तरमा भने– मन्त्रीहरूको तलब वा भत्ता २५० वन हुन्छ र २ प्रतिशत चन्दा पार्टी सदस्यहरूले दिनुपर्छ । पार्टी स्कूलमा के विषय पढाइन्छ भन्ने प्रश्नको उत्तरमा भने– पार्टी निर्माण, पार्टी इतिहास, दर्शनशास्त्र र जुछे विचार, राजनैतिक अर्थशास्त्र, उद्योग, कृषि, संस्कृति आदि विषय पढाइन्छ भने कम्प्युटर र विदेश विभागसम्बन्धी छुट्टै विषय पनि पढाइन्छ ।
अन्तमा, प्राध्यापकले भने– पितृभूमिको स्वतन्त्रताको लागि, जनता र सरकारको अगुवाइ गर्न, जनतासँग काम गर्न राज्य र पार्टीको निम्ति योग्य कार्यकर्ता तयार गर्नु नै यस पार्टी स्कूलको उद्देश्य हो ।
जुछे धरहरा
पार्टी स्कूलबाट बिदा लिएर हामी जुछे धरहरा हेर्न गयौँ । प्योङयाङको बिचमै तायडोङ नदीको किनारमा राष्ट्रपति किम इल सङको ७० औँ जन्मोत्सवको दिन निर्माण भएको जुछे धरहरा १७० मिटर उँचो छ । यस धरहराको टुप्पोमा २० मिटर अग्लो एक चिराग छ । त्यस चिरागको अर्थ हो– जुछे विचारधारा । क्रान्ति र निर्माणको मुख्य शक्ति नै जन समुदाय हो भन्ने सार नै जुछे विचारधारा हो । मानिसको भाग्यको निर्माण मानिस आफैँले गर्छ, मानिस नै रचना र निर्माणको केन्द्र हो भन्ने विचार नै जुछे विचारधाराको सार हो ।
यस विचारधाराको निर्माता नै का. किम इल सङ हुनुभएको हुँदा उहाँको ७० औँ जन्मोत्सवमा यसको निर्माण भएको हो र १५ अप्रिल १९८२ को दिन यसको शिलान्यास भएको थियो । यसको निर्माणमा ८० भन्दा बढी देशका राजनैतिक नेता, मैत्री सङ्घ र जुछे विचार अध्ययन गोष्ठीका नेताहरूबाट सिंहमर्मरका ढुङ्गाहरू उपहार पठाइएका थिए ।त्यस धरहराको अगाडि पार्टीको झन्डाको रूपमा ३० मिटर उँचो हँसिया, घन र कलम लिएको तीन मूर्ति खडा छ । साथै चारैतिर ससाना फोहराबाहेक जुछे धरहराको दायाँ–बायाँ, टाढा–टाढाबाट समेत देखिने १५० मिटर उँचो फोहरा पनि निरन्तर बर्सिरहने गर्छ । कोरियाली जनताको क्रान्तिकारी भावना र दृढताको प्रतीक त्यो सुन्दर चिराग राति बलिरहेको धेरै टाढा–टाढाबाट देखिन्छ ।
त्यसबाहेक त्यहाँ ‘राम्रो बाली’, ‘अमरताको भूमि’, ‘विद्याको भूमि’, ‘असङ्ख्य किल्ला’, ‘जुछे कला’ भन्ने जस्ता शीर्षकका राम्रा राम्रा मूर्तिहरू पनि कुडिएका छन् । जुछे धरहरा घुम्न लायकको रमणीय स्थलमध्ये हो ।