केजे नोह
न्यायको आकाशमा एक उज्ज्वल नक्षत्र निभ्यो । हाम्रो युगका एक महान् पत्रकारले संसार छोडे ।
जोन पिल्जर सदा शोषित उत्पीडितको पक्षमा उभिए । उनले सदा साम्राज्यवाद एवम् युद्ध, जातिसंहार, लुटजस्ता साम्राज्यवादका सबैखाले हिंसात्मक कर्तुतहरूको निन्दा गरिरहे । साम्राज्यवादका अन्तहीन झूट तथा दुष्प्रचारलाई पिल्जरले सदा नङ्ग्याइरहे । अन्तिम समयसम्म पनि उनी जुलियन असान्जको रिहाइका लागि अथक सङ्घर्ष गर्दै थिए । आफ्नो जीवनकै अन्तिम लेखमा उनी असान्जको पक्षमा ऐक्यबद्धता जनाउन विश्वलाई आह्वान गर्दै थिए । (‘हामी सबै स्पार्टाकस’ शीर्षकको उनको अन्तिम लेख ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित छ ।)
जोन पिल्जरले पिँधमा परेका र निमुखा जनतालाई आवाज दिए । भोकानाङ्गा, दीनदुःखी, अपाङ्ग, जबरजस्ती भर्ती गरिएका, नाकाबन्दी र बमले थिलथिलो बनेका, सर्वस्व गुमाएका, शरणार्थी; रासायनिक परीक्षण, संरचनात्मक समायोजन, सत्ताविद्रोह, नियोजित भोकमरी आदिको सिकार बनेका† औपनिवेशिक दासतामा पिल्सिएका, जातिसंहारमा परेका, मुख थुनिएका, सबैलाई पिल्जरले वाणी दिए । साम्राज्यवाद र पुँजीको तर्कतुल्य अन्धकारमा उनले दियो बाल्दै हिँडे ।
जोन पिल्जरले जातिवाद, युद्ध, निजीकरण, नवउपनिवेशवाद, नवउदारवाद, विश्वव्यापीकरण, साम्राज्यवादी प्रचारबाजी, विज्ञापनबाजी, आणविक शक्तिको उन्माद र विभिन्न देशका संरा अमेरिका प्रायोजित सत्ताविद्रोहलाई उदाङ्ग्याएर तिनको भत्र्सना गरे ।
पिल्जरका वृत्तचित्र र लेखहरू साम्राज्यवादको अविराम अपराधका दसी हुन् ।
पिल्जरको योगदानलाई ‘सर्वोत्तम सम्मान’ बेलायती टीभी प्राधिकरणले दियो । उसले पिल्जरलाई ‘पश्चिमा सभ्यताका निम्ति खतरा’ भन्यो ।
जोन भविष्यवक्ता पनि साबित भए । सन् १९७० मा उनले भियतनाम युद्धमा सैनिकहरूको ‘मौन विद्रोह’ लाई दस्तावेजीकरण गरे । सन् १९७४ र सन् २००२ मा उनले ‘प्यालेस्टिन अझै पनि एउटा मुद्दा हो’ र “प्यालेस्टिनी भूमिको कब्जा तत्काल रोक्नुपर्छ” भने । उनले जापानी सैन्यवाद र दोस्रो विश्वयुद्धअघिको जापान ब्युँताउन तत्पर जापानी शासकहरूको आकाङ्क्षाबारे विश्वलाई सचेत पारे । सन् २०१४ मा उनले युक्रेन (अमेरिकी गुप्तचर निकाय) ‘सीआइएको मैदान’ हो र युक्रेनले ‘नेटोद्वारा सञ्चालित छापामार युद्धको तयारी गरिरहेको र त्यो युद्धको बाछिटा रुसमा पनि पर्ने’ उद्घोष गरे । सात वर्षअघि केही मान्छेले मात्र ध्यान दिएको, थोरैले मात्र केही वाक्य र लेखमा अभिव्यक्त गरेको विषयलाई वृत्तचित्रमा ढाले । चीनविरुद्ध युद्ध गर्न संरा अमेरिकाले विध्वंशक तयारी गरिरहेको जानकारी दिएर उनले सारा विश्वलाई चनाखो बनाए ।
जोन पिल्जर सशक्त आलोचक, पत्रकार तथा संसार बदल्ने फिल्मकार मात्र थिएनन् । (उनले निर्माण गरेको ‘कम्बोडिया येअर जिरो’ लाई २० औँ शताब्दीकै सर्वाधिक प्रभावशाली वृत्तचित्रमध्ये एक मानिन्छ ।) उनी शिल्पी, कवि र कलाकार पनि थिए । उनी भाषाको शक्ति जान्दथे । तर, शब्दको शक्तिलाई माध्यमले सीमित पार्छ भन्ने पनि उनलाई थाहा थियो । प्रत्येक शब्दको अर्थ उजिल्याउनु भनेको के हो, उनलाई थाहा थियो ।
शेक्सपियरका पात्रहरूको जस्तो जोनको ओजिलो र गहकिलो प्रस्तुतिले मलाई सदैव छोइरह्यो । उनको प्रस्तुतिमा नैतिक दृढताको खोटरहित र भरपर्दो साहस हुन्थ्यो : एक यस्तो स्वर जसलाई थाहा छ, ऊ सत्य बोल्दै छ ।
आउँदा दिनमा तपाईँले जोन पिल्जरबारे धेरै कुरा सुन्दै जानुहुनेछ । मूलधारे मिडियाले पहिल्यै लेखेर दराजमा थन्काइराखेका बासी शोकलेख
(ओबिच्युअरी) हरू छाप्नेछन् । तर, पत्रकारिताको विषयमा जोनकै शब्दहरू बढी सुझबुझपूर्ण छन् । उनले लेखेका थिए, “जुनसुकै रूपमा भए पनि
(पत्रकारिताको) उद्देश्य भरसक धेरैभन्दा धेरै तथ्य र सत्य खोजी निकाल्ने हुनुपर्छ । यसमा कुनै रहस्य छैन । काम गर्दै जाँदा निजी दृष्टिकोणहरू घुसाइहालिन्छ, त्यो हाम्रो मानव अधिकार हो । मेरो हकमा हामीलाई नियन्त्रण गर्न खोज्नेहरूप्रति, जवाफदेही नहुने सम्पूर्ण सत्तासीनहरूप्रति म सदा आलोचनात्मक रहेँ । मैले ‘आधिकारिक सत्य’ कहिल्यै स्वीकारिनँ किनभने यस्ता ‘सत्य’ अक्सर झूटा ठहरिएका छन् । पत्रकारिता भनेको सत्ताको नभई जनताको एजेन्ट हो र हुनुपर्छ । पत्रकारिता भनेको जमिन टेकेको विचार हो ।”
फरक मतबारे जोनले लेखे, “असल पत्रकारिताको उद्देश्य जनताको हातमा सूचनाको शक्ति सुम्पिनु हो र हुनुपर्छ । यो शक्तिबेगर जनताले स्वतन्त्रतामाथि दाबी गर्न सक्दैनन् । कुरा पानीजस्तै साफ छ । निश्चित वृत्तचित्र वा समाचारक्रमको प्रभाव ढिलोचाँडो देख्न सकिन्छ । कम्बोडियासम्बन्धी मेरो पहिलो वृत्तचित्र हेरेर जनताले स्वेच्छाले मलाई ५ करोड डलर रकम दिए । म र मेरा सहकर्मीले त्यो रकमबाट कम्बोडियाका जनताको लागि औषधि, रासन र लुगाफाटो किन्यौँ । त्यो वृत्तचित्रकै कारण केही देशले आफ्ना नीति नै बदले । इस्ट टिमोरको विषयमा मैले लुकिछिपी बनाएको वृत्तचित्र सार्वजनिक भएपछि पनि यस्तै हेरफेर देखियो । के त्यो वृत्तचित्रका कारण इस्ट टिमोरको परिस्थिति फेरियो त ? फेरिएन । तर, त्यसबाट विश्वभरि छरिएका सचेत मानिसहरूले परिस्थिति फेर्नका लागि अथक मिहिनेत गर्न थाले । वृत्तचित्रको योगदान त्यही थियो ।”
सामाजिक सञ्जालबारे जोनले लेखे, “विडम्बना ! (सामाजिक सञ्जालले) हामीलाई अलगअलग पार्न सक्छ है । हामीलाई स्मार्टफोनको भुलभुलैमा, टुक्रे सूचना र चुट्के टिप्पणीमा थुन्न सक्छ । लाग्छ, चिन्तनकर्म अझ बढी रसरङ्ग बन्दै छ ।”
अमेरिकी विदेशनीतिबारे जोनले लेखे, “म ‘संरा अमेरिकाको विदेशनीति’ जस्तो सम्मानित पदावलीको कदापि प्रयोग गर्दिन । निःसन्देह ‘विश्वका लागि अमेरिकी तानाबाना’ सही पदावली हो । यी तानाबाना सन् १९४४ मा ब्रिटन वुड्स सम्मेलन यता जस्ताको तस्तै छन्; एकै रेखामा अघि बढिरहेका छन् । (त्यस सम्मेलनले संरा अमेरिकालाई एक नम्बरको साम्राज्यवादी शक्ति नियुक्त गरेको थियो ।) अमेरिकी तानाबानाको रेखामा कहिलेकाहीँ अवरोध पनि आए । जस्तो ऊ (भियतनाम) को साइगोनबाट फर्किनुप¥यो, उसलाई पछार्दै
(निकारागुआ) मा सान्डानिस्टाहरू विजयी भए । तर अमेरिकी तानाबानामा कुनै हेरफेर आएन । तिनले मानव जातिलाई आफ्नो दबदबामा राख्ने यात्रा जारी राखे । केही बदलिएको छ भने शैली बदलिएको छ । आजभोलि ती तानाबानालाई ‘जनसम्पर्क’ को आधुनिक हतियारको आवरणमा लुकाइन्छ । (जर्मनहरूले ‘प्रचारप्रसार’ वा प्रोपोगान्डा शब्दलाई कुरूप तुल्याएको हुनाले पहिलो विश्वयुद्धपछि मनोविद एडवर्ड बर्नेले ‘जनसम्पर्क’ शब्दलाई प्रयोगमा ल्याएका थिए ।)”
अर्थव्यवस्थाबारे जोनले लेखे, “सरकारैपिच्छे (अमेरिका) को उद्देश्य झन्झन् हावादारी र क्रूर बन्दै छ । बिल क्लिन्टनको सरकारलाई सोझो तालले ‘प्रगतिशील’ भनिन्छ । वास्तवमा उनको सरकार रेगनको सरकारभन्दा कठोर थियो । क्लिन्टनले (क्यानडा, संरा अमेरिका र मेक्सिको सम्मिलित आर्थिक गुट) नेफ्टा बनाउने पापाचार गरे र विश्वभरि झन् बढी लासको थुप्रो लगाए । आजका मितिमा खतराको कुरा के भने संरा अमेरिकाले जानाजान अर्थतन्त्र टाट पल्टाउने अपराध गर्दै छ । उसले सर्वसाधारण जनताको लागि अर्थतन्त्र टाट पल्टाउँछ भने खुनचुसुवा ‘प्रतिरक्षा’ उद्योगहरूले फँडा उठाउन सक्ने निर्बाध माहोल बनाउँछ । यसले गर्दा सैन्यवादी मानसिकता, रक्तपात र आर्थिक कठिनाइ बढेर जान्छ ।”
शान्तिमार्गी आन्दोलनहरूबारे जोनले लेखे, “अफ्रिकाको कब्जाजस्तै चीनसँग भिड्ने चालु उन्माद यसको लक्षण हो । म आफ्नो जमानालाई उल्लेख्य मान्छु । मैले वासिङ्टनले आगो सल्काएको आणविक युद्धमा परेर चोइटाचोइटा हुनुपरेन । यसबाट म के बुझ्छु भने विश्वभरि हुने जनप्रतिकारहरूको अर्थ छ । गुन्डाहरू जनताको प्रतिकार देखेर थर्कमान हुन्छन्, तर्सिन्छन् । बौलाहा कुकुरजस्तै विकिलिक्सप्रति तिनीहरू खनिनुको कारण यही हो । तिनीहरू तर्सिएनन् नै भने पनि कम्तीमा तिनको मालिक केही समय अल्झिनु त पर्छ पर्छ । त्यही भएर शान्ति नै मानव जीवनको सामान्य धर्म हो भनी मान्ने हामी सबैजना लामो र कष्टकर यात्रामा छौँ । साँच्चै भन्ने हो भने यो यात्रामा खुट्टा कमाउनु विकल्प हुन सक्दैन ।”
भविष्यबारे जोनले लेखे, “युद्धालु राज्य संरा अमेरिकाले मच्चाउने मारकाट झन्झन् बढ्दै छ । ऊ मारकाटपूर्ण पथमा हिँड्दै गर्दा हामी मौन बसिरह्यौँ भने मलाई विश्वास छ; हामी हाम्रा सन्तानलाई विरासतमा महाविपत्तिपूर्ण संसार छोडेर जानेछौँ; सबैका लागि गतिलो जीवनको झूटो सपना छोडेर जानेछौँ; अमेरिकी जर्नेल पेट्रियसले भनेजस्तो ‘निरन्तर युद्ध’ गर्ने राज्य छोडेर जानेछौँ । यो कुरा स्वीकार्ने कि लड्ने ?”
अलबिदा जोन पिल्जर !
(केजे नोह एसियाली भूराजनीतिका अध्येता, अभियन्ता तथा विद्वान् हुन् । उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय अखबारहरूमा लेख्दै आएका छन् ।)
स्रोत : काउन्टरपन्च
अनुवाद : सम्यक