देवप्रकाश त्रिपाठी
देवता, दानव र मानव मानिसकै तीन प्रवृत्ति अर्थात् चरित्र हुन् । जो ब्रह्म चिन्तन गर्छन्, ब्रह्माण्डकै चिन्ता लिन्छन्, जसमा सकारात्मक सोच, शालिनता र सभ्य संस्कार छ, जसले प्रकृति र सामाजिक हितलाई ज्यादा महत्व दिन्छन्, जो अन्य कुनै प्राणीलाई दुःखाएर आफ्नो खुशी खोज्दैनन् र, जो छालाको सुखमा भन्दा आत्मिक आनन्दमा रमाउन चाहन्छन्, तिनलाई देवता मानिन्छ । जो देहसुखमा अल्झिएर पूरा जीवन मोजमस्तिका साथ बिताउन चाहन्छ, आफ्नो खुशीका निम्ति अर्कालाई सताउन सजिलै तयार हुन्छन्, जसमा नकारात्मक र ब्यभिचारी प्रवृत्तिको प्राधान्य रहन्छ, जो सामाजिक मर्यादा र अनुशासनको हेक्का नराखिकन प्रस्तुत हुने गर्दछ, जसले ईश्वर, धर्म र ज्ञानमा भन्दा ज्यानमा मात्र लगेर आफ्नो जिन्दगी अड्काएको हुन्छ र, जो आफ्ना निम्ति जुनकुनै स्तरको हिंसात्मक साधन अपनाउन तयार रहन्छ, त्यस्ता मानिसलाई दानवका रूपमा चिनिन्छ । र, उल्लिखित दुवै गुण भएर पनि देवता बन्न नसकेका, दानव बन्न नचाहेकाहरू चाहिँ मानिस हुन् । यसर्थमा देवता, दानव र मानवको छवि (इमेज) केवल तिनको चरित्र र ब्यवहारले निर्धारण गरेको हुन्छ भनेर बुझ्न सकिन्छ ।
त्यस्तै सैनिक, प्रहरी, कर्मचारी, प्राध्यापक, प्राविधिक, राजनीतीज्ञ र राजनीतिकर्मी, मन्त्री, प्रधानमन्त्री, कलाकार, चिकित्सक, पत्रकार, किसान, मजदूरका पनि आ-आफ्नै छवि (इमेज) हुन्छन् । के बन्न या भनिन कम्तिमा कस्तो गुण या क्षमता हुनुपर्छ भन्ने धारणा नियम कानून या सामाजिक मान्यताले निर्धारण गरेको हुन्छ ।
त्यसैले किशोरावस्थादेखि युवावस्थासम्म आइपुग्दा विभिन्न कर्मसँग सम्बन्धित ब्यक्तिहरूबारे मेरो मष्तिष्कमा छवि (इमेज) बनेको थियो । त्यसताका मानिस राजा बन्न सक्दैनथे, प्रधानमन्त्री र मन्त्रीहरूको ठूलो प्रतिष्ठा थियो । मन्त्री बन्न पाउनुलाई भगवान् बनेसरहको अवसरका रूपमा लिइन्थ्यो । त्यसैले साधारण क्षमता, योग्यता र चरित्रका मानिस मन्त्री बन्न सक्दैनन्, त्यसनिम्ति विशिष्ट क्षमता आवश्यक पर्छ भन्ने मेरो बुझाइ थियो । राजनीति पनि एउटा पेशा-ब्यवशाय हुनसक्छ भन्ने मलाई कहिल्यै लागेको थिएन । किशोरावस्थादेखि नै पञ्चायतविरूद्धको आन्दोलनमा क्रियाशील मैले विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरिरहँदा जेल र हिरासतको सजाय भोग्नुपरेको थियो । मैले केही कालका निम्ति पत्रकारितालाई पेशा बनाउने निधो गरेको थिएँ, त्यसैक्रममा बेलायतबाट फर्कनेबित्तिकै शेरबहादुर देउवासँग मेरो भेट भएको हो । छोटो समयमा नै हामी धेरै नजिकिएका थियौँ, परस्पर भेटघाटको क्रम निकै नियमित हुन थालेको थियो ।
एउटा पेटका लागि धेरै नेपाली देश छोड्न बाध्य छन्, तर एउटा पेटका निम्ति देशको नागरिकता नै छोड्ने र उट्पट्याङ (स्टण्टबाजी) गफ दिएकै भरमा ‘महान् देशभक्त नेता’ बन्ने फिल्मी शैलीका नाटक पनि देखियो । देशको नेता बन्न विदेशको नागरिकता छोड्नुपर्छ भन्नेहरू गलत र, विदेशी नै भएपनि कुनैबेलाका नेपाली भएकोले तिनले देश चलाउन पाउनुपर्छ भनेको पनि सुनियो/भोगियो !
२०४७ को चैतमा उम्मेदवार बन्न पार्टीको टिकट पाएपछि देउवा २०४८ बैशाखको अन्तिम सातामा हुने संसदीय निर्वाचनमा सहभागी हुन डडेल्धुरा जानुभएको थियो । चुनावमा विजयी बनेर फर्कनेबित्तिकै एकदिन उहाँले मलाई घट्टेकुलोस्थित एक मित्रको घरमा भेटघाटको निम्ता दिनुभयो, निर्धारित समयमै म पुग्दा त्यहाँ सोही घरकी महिला मात्र हुनुहुन्थ्यो । पुग्नेबित्तिकै शेरबहादुरजीले आँखा चम्काउदै निकै ‘एक्साइटेड’ भएर भन्नुभयो- ‘हेर्नुस्, मलाई गिरिजाबाबुले मन्त्री बनाउने हुनुभएको छ, उहाँले जलश्रोत या गृहमध्ये एउटा मन्त्रालय रोज्न भन्नुभएको छ, कुन मन्त्रालय लिने होला ?’
शेरबहादुरजी र मेरो उमेरमा ठूलो अन्तर भएपनि उहाँ ज्यादै मित्रवत भएको हुँदा हामी अत्यन्तै निकटस्थ थियौँ, निकट भएकोले नै हामीलाई एकअर्काको कमजोरी र सबल (weakness and strength) पक्षबारे थाहा थियो । त्यसैले टिकट पाएर सांसदसम्म बनेपनि उहाँ मन्त्री बन्ने कल्पनासम्म गरेको थिइनँ, किनकि मेरो दिमागमा मन्त्रीको इमेज अलिक बेग्लै ढङ्गले बनेको थियो । शेरबहादुरजीले आफूलाई मन्त्री बनाउन खोजिएको (र त्यो पनि रोजिएको मन्त्रालयसहित) बताइरहँदा म आश्चर्यचकित भएँ । ‘ए ! मन्त्री त जस्ता मानिस पनि बन्नेरहेछन्, त्यसका निम्ति कुनै क्षमता, इमानदारी र योग्यताको आवश्यकता नपर्ने रहेछ’ भन्ने मलाई लाग्यो । तथापि, त्यसबेला आफूलाई संयमित तुल्याउँदै ‘विकाश गर्ने भए जलश्रोत र शासन गर्ने भए गृह मन्त्रालय’ लिन सुझाएको थिएँ ।
सँगै रहेर यो सम्वाद सुनिरहेकी महिलाले मेरो कुरामा असहमति जनाउँदै भनेकी थिइन्, ‘केको विकाश-सिकास नि, शासन गर्ने हो शासन, खुरुक्क गृह लिनुपर्छ ।’ केहीबेरको कुराकानीपश्चात् म त्यहाँबाट फर्किएँ । बाटोभरी एउटै कुरा मनमा आइरह्यो- ‘शेरबहादुर देउवा जस्ता मानिस पनि मन्त्री बन्न मिल्दोरहेछ भने यो देशमा जो जे बन्न पनि सक्दोरहेछ !’ मेरो जीवनको सम्भवतः पहिलो स्तब्धकारी घटना यही थियो ।
दोस्रो घटना पत्रकारितासँग सम्बन्धित छ । मेरो गृहजिल्लातिरका एकजना उत्साही भाइ मलाई भेट्न आए र भने- ‘दाइ, म पनि पत्रकारितामा लागेर केही गर्न चाहन्छु, तपाईंले मलाई मौका दिनुपऱ्यो ।’ पत्रकारितामा लाग्न त्यसबेला लेख्न जान्नुपर्ने अनिवार्यता थियो, अहिलेजस्तो रित्तो मुखले गाली मात्र फड्कारेर पत्रकार भनिन पाउने स्थिति त्यसबेला थिएन, त्यसैले मैले सोधेँ- लेख्न आउँछ ? उनले सिधा जवाफ दिए- ‘आउँदैन !’ त्यसोभए के आउँछ त भनी जिज्ञासा राख्दा उनले भनेका थिए- ‘मलाई टेपरेकर्डसहित प्रश्न लेखेर दिनुहोस्, म अन्तर्वार्ता लिइदिन्छु, सार्न मलाई आउँदैन, कसैलाई सार्न लगाइदिनुहोस् ।’ भाइको उत्साह देखेर मैले उनलाई मागबमोजिमको काम सुम्पेको थिएँ । लेख्न नजान्ने/नसक्ने मानिस पत्रकार बन्न सक्दैन भन्ने जान्दाजान्दै पनि मैले उनलाई प्राविधिक टाइपको काम दिएको हो, आज पनि उनी एउटा वाक्य पूरा लेख्न सक्दैनन्, शुद्ध लेखनीको त कल्पना पनि गर्न मिल्दैन, तर उनैलाई देशमा ठूलो पत्रकार मान्नेहरूको जमातले बरु हामीलाई पत्रकार ठान्दैन । ती भाइलाई म अहिले पनि माया गर्छु, तर यिनलाई पत्रकार ठान्न थालिएपछि मलाई दोस्रोपटक लागेको थियो- ‘नेपालमा जो जे पनि बन्न सक्दोरहेछ !’
जनताले भोग्नुपरेको अप्ठ्याराहरूलाई राजनीतिकरण गरेर काङ्ग्रेस/कम्युनिष्टलगायतले जुन बर्बादीको अवस्थामा मुलुकलाई पुऱ्याए, त्योभन्दा खतरनाक भूमिकामा रहेकाहरूलाई अगुवा मान्दै गरेको देखिँदैछ । कुनै चक्रे, मनाङ्गे या बाघेसँग मूक्ति खोज्नुको मतलब चार्ल्स शोभराजको शरणमा जानु होइन, तर यहाँ त्यस्तै अवस्था देखापरेको छ, हामीले चुपचाप हेरिरहनु परेको छ !
त्यसपछि जीवनमा धेरै रोचक तर अस्वाभाविक घटना देखिए- आफूले व्यापारी भन्दा पनि शुद्ध ब्यापारिक मानसिकताबाट ग्रस्त देखेका मानिस सोही मानसिकतासहित ठूलो राजनीतिकर्मी बनेको देखियो र महान् राजनीतिज्ञ ठानिएका ब्यक्ति विशुद्ध ब्यापारीको भूमिकामा पनि देख्नुपऱ्यो ! रचनात्मकताशुन्य मानिस निर्धन साहित्यकारलाई नगदको आकर्षणमा पारी लेख्न लगाएर ठूलो साहित्यकार बनेको (भनाइएको) पनि यही जीवनमा देखियो ! हप्ता उठाएर जीवन चलाउने आवाराको रूपमा चिनेका मानिस सोही धन्दा यथावत राख्दै नेता र मन्त्री बनेको पनि देखियो/भोगियो । देशमा तस्करी र गैरकानूनी धन्दा सञ्चालन गरेर राज्यलाई क्षति पुऱ्याउनेहरू राष्ट्रका उदाहरणीय (सम्मानित) उद्यमी/ब्यवशायीका रूपमा उत्थान भएको पनि देखियो । राजदरबार हत्याकाण्डको समयसम्म राष्ट्रिय बाणिज्य बैंकको ऋण तिर्न नसकेर कालो सूचिमा परेका पूर्व साडीपसले २०५८ असोज १३ गते अचानक बैंकको सबै ऋण चुक्ता गरेर रातारात नेपालकै सबभन्दा धनी बनेको पनि देखियो । तर, यो कसरी सम्भव भयो भनेर राज्यले सामान्य सोधखोज गर्न पनि आवश्यक ठानेन ।
प्रतिमहिना केही हजार पारिश्रमिक प्राप्त गर्नेगरी कर्मचारी बनेका ब्यक्ति केही समयमै अर्बौंको मालिक बनेको पनि यही मुलुकमा देखियो ! काम गर्नेहरूले अत्यन्तै दुःख पाएको तर गफ चुट्नेहरू रातारात अर्बौंको मालिक बनिरहेको पनि यही देशमा देखिँदैछ ! एउटा पेटका लागि धेरै नेपाली देश छोड्न बाध्य छन्, तर एउटा पेटका निम्ति देशको नागरिकता नै छोड्ने र उट्पट्याङ (स्टण्टबाजी) गफ दिएकै भरमा ‘महान् देशभक्त नेता’ बन्ने फिल्मी शैलीका नाटक पनि देखियो । देशको नेता बन्न विदेशको नागरिकता छोड्नुपर्छ भन्नेहरू गलत र, विदेशी नै भएपनि कुनैबेलाका नेपाली भएकोले तिनले देश चलाउन पाउनुपर्छ भनेको पनि सुनियो/भोगियो ! यसरी झिल्केगिरीमा रमाउने नटवरलाल शैलीका जिलेन्स्कीहरूलाई राज्यको साँचो सुम्पिएको पनि देख्नुपऱ्यो ! र, अहिले धनका निम्ति जेसुकै गर्न तयार रहने, बैंकको ऋण नतिर्ने र अन्यलाई पनि ऋण नतिर्न भन्दै मुलुकमा अराजकता र आर्थिक अराजकता निम्त्याउन परायाधनमा उचालिएका ब्यक्तिलाई महान् त्यागी नेताका रूपमा जुरुक्कै बोक्न तयार भएको पनि देखिँदैछ/भोगिँदैछ !
हो, बैंक तथा वित्तीय संस्थाहरूबाट धेरै मानिस पीडित बनेका छन्, जनताको मौज्दात रकमबाट वार्षिक करोडौँ तलब-भत्ता खाने, बोनस पनि बाँड्ने, तर ब्याज र जरिवानामा सहुलियत दिन ठ्याम्मै नखोज्नेहरूमाथि दबाब बढाउन आवश्यक छ, तथापि त्यसो गर्दा मुलुक नै असफल राष्ट्र घोषणा हुनसक्ने खतराप्रति भने सचेत हुनुपर्ने हुन्छ । जनताले भोग्नुपरेको अप्ठ्याराहरूलाई राजनीतिकरण गरेर काङ्ग्रेस/कम्युनिष्टलगायतले जुन बर्बादीको अवस्थामा मुलुकलाई पुऱ्याए, त्योभन्दा खतरनाक भूमिकामा रहेकाहरूलाई अगुवा मान्दै गरेको देखिँदैछ । कुनै चक्रे, मनाङ्गे या बाघेसँग मूक्ति खोज्नुको मतलब चार्ल्स शोभराजको शरणमा जानु होइन, तर यहाँ त्यस्तै अवस्था देखापरेको छ, हामीले चुपचाप हेरिरहनु परेको छ ! साढे तीन दशकसम्म निरन्तर र निकटबाट नेपाली समाज र यहाँका अनौठा पात्रहरूलाई हेरेपछि मैले निष्कर्ष निकालेको छु- ‘नेपालमा जतिबेला जो जे पनि बन्नसक्छ !’ जय मातृभूमि !
घटना र बिचारबाट साभार