का. रोहित
रुसका बोल्शेविकहरूले आफ्नै देशको सरकारलाई उल्टाएर पुँजीपतिवर्गसँग जीवनमरणको सङ्घर्ष गरे भने चिनियाँ, कोरियाली र भियतनामी कम्युनिस्टहरूले विदेशी थिचोमिचो र आक्रमणको विरोधमा राष्ट्रिय पुँजीपतिवर्गसँग मेलमिलाप गरे । मुक्तिभन्दा पहिले हरेक कम्युनिस्टले सङ्गठन र सङ्घर्षमा आफ्नो जीवनलाई अर्पण गर्नु आफ्नो पहिलो कर्तव्य सम्झिने गथ्र्यो भने मुक्तिपछि श्रम र आर्थिक विकासलाई उत्साहित गर्ने ढङ्गको आचरणको माग गरियो । आज रुस र चीनमात्रै होइन सबै समाजवादी देशका कम्युनिस्टहरूले विज्ञान र प्रविधिको साथै आर्थिक विकासमा योगदान दिनमा नै जोड दिन लागेको देखियो । देशभक्ति र अन्तर्राष्ट्रतावादलाई टेवा दिने माध्यमको रूपमै त्यसलाई लिएको देखिएको छ । मानव सभ्यताले आर्जन गरेका नम्रता, सज्जनता, परोपकार, आपसी सहयोगजस्ता सर्वमान्य मानवीय गुणहरूले युक्त भई शोषणको विरोधमा स्वतन्त्रता, समानता र मुक्तिको निम्ति, आफू र आफ्नो स्वार्थलाई सामूहिक भलाइसँग गाँसी, सहनशीलता, अरूको सम्मान र इज्जत गर्ने भावना, इमानदारी, सद्भावना, सरलता र सामूहिकताको भावनालाई नबिर्सी साहस र उत्साहले श्रम र सबै प्रकारको रचनात्मक कार्यमा अगाडि बढ्नु एक समाजवादी देशका पार्टी सदस्यको नैतिक जिम्मेवारी हो । श्रम नियमको विरोधमा जानु, नाफा खाने प्रवृत्ति, आर्थिक र यौन भ्रष्टाचार, जँड्याहापन, हुल्याहापन, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने प्रवृत्तिजस्ता पुँजीवादी आचरणको विरोधमा सङ्घर्ष गर्नु र अन्ध र सङ्कीर्ण राष्ट्रवादको विरोधमा सर्वहारा अन्तर्राष्ट्रवाद र साम्राज्यवादविरोधी विश्वव्यापी एकतालाई टेवा दिने ढङ्गको आचरण गर्नु नै तिनीहरूको आचारसंहिता हो ।
पुँजीवादी आचरण प्रणाली र त्यसको परिणामबाट भएको आर्थिक विषमता, सामाजिक दुरवस्था, मजदुर आन्दोलन, समाजवादी प्रचार आन्दोलन र रुसको समाजवादी क्रान्तिले समाजवादको अनिवार्यता झन्झन् प्रस्ट हुँदै गयो । वैचारिक दृष्टिले समाजवादका विविध परिभाषाका कार्यान्वयनमा फरक फरक परिकल्पनाहरू र समाजवादी आन्दोलनको असमान विकासले समाजवाद र साम्यवादप्रति प्रतिबद्धता ‘देखाउने दाँत’ समेत भएको छ । मजदुरवर्ग र समाजको संवेदनशील वर्गमा समेत समाजवादप्रतिको आकर्षणले गर्दा बेलायतको एक पुँजीवादी पार्टीको नाम नै ‘श्रमिक दल’ (Labour Party) भएको छ भने हिटलर र मुसोलिनीजस्ता व्यक्तिवादीहरूसमेत मजदुरवर्गलाई झुक्याउन समाजवादमा ‘राष्ट्रिय’ शब्द थप्न बाध्य भए । भारतको जनसङ्घजस्तो दक्षिणपन्थी राजनैतिक दल र भारतीय काङ्ग्रेसजस्तो पुँजीवादी पार्टीले ‘मजदुर सङ्गठनहरू’ बनाए र इन्दिरा गान्धीले त आफ्नो पार्टीको उद्देश्य नै ‘समाजवाद’ घोषणा गरेकी थिइन् । नेपाली काङ्ग्रेसले ‘समाजवाद’ लाई आफ्नो टाढाको उद्देश्य बनायो र आफूलाई अन्तर्राष्ट्रिय प्रजातान्त्रिक समाजवादको एक शाखा घोषणा गर्यो । त्यस्तै गोरखा परिषद्ले प्रथम महानिर्वाचनको आफ्नो घोषणापत्रमा आफ्नो उद्देश्य ‘शोषणविहीन समाज’ बतायो भने पञ्चायती व्यवस्थाको लक्ष्य पनि ‘शोषणरहित समाज’ स्थापना गर्ने बताइएको छ ।
यसप्रकार भौतिक परिस्थितिले दक्षिणपन्थी र पुँजीवादी पार्टीहरूलाई समेत ‘मजदुरवर्गको हित’ गर्ने र ‘समाजवादी’ बनायो । तर, ती पार्टीका नेता र कार्यकर्ताहरूको आचरण नै पार्टीको सिद्धान्तनिष्ठताको कसी हुन्छ । सामूहिक नेतृत्व, सामूहिक निर्णय, प्रजातान्त्रिक कार्यशैली, श्रमिकवर्गप्रति इमानदारी, शोषणको विरोधमा सक्रियता र जनआन्दोलनप्रति विश्वास नै समाजवादी र कम्युनिस्टहरूका आचरणका मापदण्ड हुन् । व्यक्तिवादी कार्यशैली, शोषक वर्गसँगको घनिष्ठता, वर्गसङ्घर्षभन्दा समन्वय र मेलमिलापबाटै समाजवाद आउने सपनामा विश्वास र वस्तु स्थितिभन्दा मनोगत धारणालाई महत्व दिनु र पुँजीवादी जीवनपद्धति र आचरण समाजवादी सङ्घर्षको सफलताको निम्ति सहयोगी होइन बाधक बनेका छन् । समाजवादको खोललाई हेर्नुभन्दा त्यसभित्र लुकेको आचरणबाटै आदर्शप्रतिको निष्ठालाई मूल्याङ्कन गर्नुपर्छ । यसकारण, वर्ग, देश, काल र परिस्थिति मुताविक नै एक समाजवादीको आचरण निर्धारित हुन्छ । दलगत अहङ्कारको ठाउँमा विनम्रता, व्यक्तिगत नेतृत्वको ठाउँमा सामूहिक नेतृत्व, सिद्धान्तको फलाको, वक्तव्यबाजी र चर्काचर्का भाषणभन्दा तल्लोवर्गको हितलाई हृदयङ्गम गरी तल्लोवर्गकै सङ्गठन कार्यमा लाग्न चाहिने सरल जीवन, अरूमाथि आफ्नो विचार थोप्नुभन्दा अरूको सकारात्मक अनुभव र योगदानबाट सिक्ने, माथिबाट छिट्टै हुने सुधारमा विश्वास गर्नुभन्दा तल्लो स्तरबाट समय लिएर हुने परिवर्तनको खाँचोलाई आत्मसात गर्ने र सबैसँग मिलेर काम गर्ने धैर्यले मात्र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समाजवादी आन्दोलनसम्म बढाउन सकिनेछ । यसैको अभावमा नेपालमा प्रजातान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनमा विश्रृङ्खलता ल्याएको हो । त्यस विश्रृङ्खलतालाई बढावा दिन नलगाउने र प्रजातान्त्रिक र समाजवादी आन्दोलनको निम्ति आवश्यक एकतालाई खलल नपार्ने र त्यसमा सकारात्मक भूमिका खेल्न सक्ने आचरण नै आजको नेपालका समाजवादी र कम्युनिस्टको आचरण हुनुपर्दछ ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु
समाप्त