३० मंसिर, कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिकामा यही मंसिर २७ गते देखि सञ्चालन भएको दोश्रो गैडहवा गाउँपालिका अध्यक्ष कप बि लेभलको भलिवल प्रतियोगिताको उपाधी तिलोत्तमाको मणिमुकुण्डले हात पारेको छ।
मणिमुकुण्डले बुटवलको न्यू होराइजनलाई ३-० सेटको सोझो सेटमा पराजित गरी उक्त उपाधी हात पारेको हो। रुपन्देही जिल्लाकै सबैभन्दा ठूलो ताल गैडातालको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको उक्त प्रतियोगितामा विजेता टिम मणिमुकुण्ड भलिवल क्लवले नगद ७५ हजार रुपैया सहित कप र मेडल हात पार्न सफल भएको छ। यस्तै उपविजेतामा चित्त बुझाउन बाध्य रहेको नयू होराइजनले नगद ५० हजार रुपैया सहित कप र मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा तेश्रो स्थान हासिल गर्न सफल पाल्पाले नगद ३० हजार रुपैया सहित कप र मेडल प्राप्त गरेको छ भने चौथो स्थान अर्थात सान्तवना हुने टिम स्याङ्गजाले नगद २० हजार रुपैया प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा मणिमुकुण्ड भलिवल क्लवका सञ्जय श्रीस छनौट भएका छन भने न्यू होराइजनका सुर्य बि.क. उत्कृष्ट स्पाइकर भएका छन।
यसैगरी उत्कृष्ट सेटर मणिमुकुण्डका दिपेश कुवँर, मणिमुकुण्डकै लोचन आले उत्कृष्ट ब्लकर, न्यू होराइजनका जिवन घर्ति मगर उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेण्डरको रुपमा मणिमुकुण्डका राजन खवास भएका छन।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले खेलकुदको माध्यमबाट गैडहवाको धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी प्रबर्द्धन गर्न सकिने उद्धेश्यका साथ भलिवल प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो। बिश्व सिमसार क्षेत्रमा सुचिकृत रुपन्देही जिल्लाकै सबैभन्दा ठूलो तालको पर्यटकिय सौन्दर्यमा बृद्धि गर्न पालिकाले स्थानीय तहको स साना बजेटले समेट्न नसक्ने भएकोले प्रदेश र संघ मार्फत नियमित बजेटको ब्यबस्थापन गरेर अगाडी बढाउने योजनाका साथ अगाडी बढिरहेको बताउदै अध्यक्ष पौडेलले गैडहवामा खेलाडी, प्रशिक्षक, ब्यबस्थापक र टिम क्याप्टेन भएर आएका सम्पुर्ण खेलाडीहरुले गैडातालको प्रचार प्रसार गर्न समेत आग्रह गर्नु भएको थियो।
यसैगरी उपाध्यक्ष माधुरी जैसवालले खेलकुदको माध्यमबाट गैडहवालाई पनि परिचित गराउन सकिन्छ भन्ने बास्तविक उदाहरणको रुपमा दोश्रो गैडहवा गाउँपालिका अध्यक्ष कपको रुपमा संचालन गरिएको भलिवल प्रतियोगितालाई लिन सकिने बताउनु भयो। अव गैडाताललाई गौतमुबद्धको जन्मस्थल लुम्बिनीसंग जोडेर आन्तरिक तथा बाह्य पर्यटनको प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिने उपाध्यक्ष जैसवालले बिश्वास ब्यक्त गर्नु भयो।
कार्यक्रममा श्री शान्ती युवा क्लवका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ईश्वरी अधिकारी र अर्का बरिष्ठ सल्लाहकार बाबुराम मल्लले अव गैडहवाको समृद्धि र पहिचान गैडातालसंग जोडिएको हुँदा कुनै पनि बहानामा गैडातालको सौन्दर्यकरण बनाई पर्यटनको गन्तव्य स्थलको रुपमा बिकास गर्न कुनै पनि बहानामा बजेटको अभाव हुन दिन नहुने बिचार ब्यक्त गर्नु भएको थियो।
श्री शान्ती युवा क्लव, गैडहवा ४ रुपन्देहीको आयोजना तथा गैडहवा गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा विविध सांस्कृतिक मेला समेत सञ्चालन गरिएको थियो। मेलामा राष्ट्रिय कलाकार प्रिति पासवान सहित स्थानीय कलाकारहरुको समेत बिभिन्न सांस्कृतिक तथा सांगेतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो।
क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता तथा कार्यक्रम संयोजक यम प्रसाद अधिकारीको स्वागतमा सम्पन्न पुरस्कार बितरणको कार्यक्रमम सूर्य प्रसाद अधिकारीले सञ्चालन गर्नु भएको थियो कार्यक्रममा स्थानीय मायादेबी आमा समूहले सेलरोटी, बटुक, चुकौनी, अचार लगायत स्थानीय खानाका परिकारहरुको समेत स्टलको रुपमा सञ्चालन गरेको थियो।