२८ मंसिर। कञ्चन
केन्द्रीय प्रतिनिधि दिपक पौडेलको नेतृत्वमा नेकपा (मशाल) रुपन्देहीले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा ज्ञापन पत्र बुझाएको छ। वर्तमान व्यवस्थामा जनताका आधारभूत समस्या समाधन हुन नसक्ने तर संविधानमा व्यवस्था भए अनुसारका काम, कर्तव्य र अधिकार प्रभावकारी कार्यान्वयन भएमा जनतामा केही राहत मिल्ने उल्लेख गर्दै सो पार्टीले बुधवार ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण सहित बुझाएको ज्ञापनपत्रमा भारतबाट आउने फलफूल, तरकारी लगायतका खाद्यान्नलाई ल्याब टेष्ट गरेर नेपाल भित्र्याउन सकिने व्यवस्था मिलाउन र विषादी युक्त फलफुल, तरकारी , खाद्यान्नमा रोक लगाउनु पर्ने, भन्सार छली गर्ने र कुनै निकायमा दर्ता नगरी घुमुवा व्यापार गर्नेहरुलाई नियन्त्रण गरिनु पर्ने, सरकारी निकाय र संघसंस्थामा भइरहेको व्यापक भ्रष्टाचार रोक्न प्रभावकारी कदम चालिनु पर्ने माग उल्लेख गरिएको छ।
यसैगरी छाडा पशु र जंगली जनावरले किसानलाई समस्या पारेको हुनाले ती छाडा चौपायाहरुको उचित व्यवस्थापन गरिनु पर्ने, किसानहरुलाई समयमा विऊ, मल खाद उपलब्ध गराउन प्रभावकारी कदम चालिनु पर्र्ने, संविधानमा उल्लेख भए अनुसार कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य निःशुल्क गरी व्यवहारमा कार्यान्वयन गरिनु पर्ने, महंगी, कालाबजारी, बिचौलीया नियन्त्रण गर्न प्रभावकारी अनुगमनको व्यवस्था मिलाउन पर्ने समेत सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी समक्षा ज्ञापन पत्र बुझाउनका लागि नेकपा (मशाल) रुपन्देही जिल्ला सदस्य दयाराम खनाल, किसान संगठनका प्रतिनिधि गंगाधर पौडेल, अखिल नेपाल महिला संघ रुपन्देही संयोजक पार्वती पौडेल, मजदु संगठनका केन्द्रीय सदस्य कृष्ण केसी, पार्टी प्रतिनिधि पुर्णसिंह सुनार, भिमबहादुर कुँवर, मनिराम सापकोटा, राजु आचार्य, जेवी फौजा, लक्षमी बस्याल लगायत पार्टी र जनवर्गिय संगठनका प्रतिनीधिहरुको सहभागिता रहेको।
प्रमुख अधिकारी गणेश अर्यालले नेकपा(मशाल)द्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै ज्ञापन पत्रमा उल्लेखित माग तथा सुझावहरुप्रति आफु सदैव सकारात्मक रहेको ती सुझावहरुलाई मनन गर्दै जिल्लाका बिभिन्न क्षेत्रमा देखिएका अबैध कृयाकलापहरुलाई नियन्त्रण गर्न आफुलाई थप बलपुग्ने बताउनु भएको थियो।
ध्यानाकर्षणको पुर्ण पाठ
श्री प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यलय रुपन्देही
विषय - ज्ञापन पत्र
नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) छरिएर रहेका बामपंथी , प्रगतिशील , क्रान्तिकारीहरुलाई संगठित गरेर क्रान्तिकारी उद्देश्य पुरागर्न पुनर्गठन गरिएको क्रान्तिकारी पार्टी हो । वर्तमान व्यवस्थामा जनताका आधारभूत समस्या समाधन हुन सक्दैन तर पनि संविधानमा व्यवस्था भएअनुसारका काम , कर्तव्य र अधिकार प्रभावकारी कार्यान्वयन भएमा जनतामा केही राहत मिल्नेछ । हाम्रो पार्टीले यस जिल्लाको सन्दर्भमा निम्नानुसारका विषयमा ध्यानाकर्षण गराउन चाहन्छ ।
१- भारतबाट आउने फलफूल , तरकारी लगायतका खाद्यान्नलाई ल्याब टेष्ट गरेर नेपाल भित्र्याउन सकिने व्यवस्था मिलाउने र विसादी युक्त फलफुल , तरकारी , खाद्यान्नमा रोक लगइयोस् ।
२- भन्सार छली गर्ने र कुनै निकायमा दर्ता नगरी घुमुवा व्यापार गर्नेहरुलाई नियन्त्रण गरियोस् ।
३- सरकारी निकाय र संघसंस्थामा भइरहेको व्यापक भ्रष्टाचार रोक्न प्रभावकारी कदम चालियोस् ।
४- छाडा पशु र जंगली जनावरले किसानलाई समस्या पारेकोहुनाले उचित व्यवस्थापन गरियोस् ।
५- किसानहरुलाई समयमा विऊ , मल खाद उपलब्ध गराउन प्रभावकारी कदम चालियोस् ।
६- संविधानमा उल्लेख कक्षा १२ सम्मको निशुल्क शिक्षालाई व्यवहारमा कार्यान्वयन गरियोस् ।
७- महंगी , कालाबजारी , बिचौलीया नियन्त्रण गर्न प्रभावकारी अनुगमनको व्यवस्था मिलाईयोस् ।
८- प्राकृतिक साधन श्रोतको संरक्षणमा विशेष ध्यान दिइयोस् ।
९- श्रमिकहरुले राज्यले तोकेको न्यूनतम ज्याला समेत पाइरहेको अवस्था छैन , अनुगमन गरि सो कार्यान्वयन गरियोस् ।
१० - चोरी ,डकैतीका घटनाहरु घटिरहेका छन् , शान्ति सुरक्षाको वातावरण निर्माण गरियोस् ।
११- नागरिकता राष्ट्रियतासंग जोडिएको विषय भएको हुनाले नेपालीलाई मात्र नागरिकता दिने र नागरिकता चुहावट रोक्ने उपायबारे ध्यान दिइयोस् ।
१३- नदिजन्य पदार्थको अबैधानी ओसारपसार बन्द गरियोस् ।
१४- अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया छिटोछरितो अगाडि बढाउन विशेष पहल गरियोस् ।
१५- लघुवित्त , केही सहकारी , मिटर ब्याजीले जनतालाई उठिबास गराएको हुनाले नियन्त्रण , नियमन र कारबाही गरियोस् ।
१६- महिला हिंसा , जातीय विभेदको अन्त्य गर्न प्रभावकारी कदम चालियोस् ।
गुलाफ
सचिव
मिति - २०८०/ ८/ २७ नेपाल कम्युनिस्ट पार्टी ( मशाल )
जिल्ला समिति रुपन्देही