२८ मंसिर, कञ्चन
रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ ।गैडहवा गाउँपालिका ४ मा अवस्थित तालको बिकासका लागि बुधवारदेखि मंसिर ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला शुरु भएको हो ।
प्रतियोगिता तथा सांस्कृतिक मेलाको बुधबार उदघाटन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवाको पर्यटन क्षेत्रको बिकासका लागि यो प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातीका चराहरुको समेत बासस्थान र चरण गर्ने थलोका रुपमा रहेको बताउँदै अध्यक्ष पौडेलले ताललाई बिकास गर्नेगरि गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताउनु भयो । अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको बिकास, नागरिकमा सीप बिकास गरि होम स्टे सञ्चालको तयारी तथा सम्भाव्यताको अध्ययन गरि पालिकाले काम अघि बढाएको बताउनु भयो । प्रतियोगिता र ताल महोत्सवले समग्र गैडहवाको प्रचार प्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।
त्यसैगरी कार्यक्रममा गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको सहयोगमा क्लवले आयोजना गरेको प्रतियोगिता र सांस्कृतिक महोत्सवले समग्र गैडहवाको विकास र प्रचार प्रसारमा योगदान पुग्ने बताउनु भयो । गैडहवामा रहेका बिभिन्न पर्यटकिय स्थलहरुको पहिचान गरी ती क्षेत्रहरुको सम्बर्द्धन र प्रबर्द्धन गर्न सकेमात्र गैडहवाको समृद्धिमा सहयोग पुग्ने निवर्तमान पालिका अध्यक्ष केवटले उल्लेख गर्नु भयो।
गैडहवा गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले गैडहवा तालको विकासमात्र नभै समग्र गैडहवा क्षेत्रकै पर्यटन विकासमा प्रतियोगिता र महोत्सवले सहयोग पुग्ने बताउनु भयो। यस्तै कार्यक्रममा विभिन्न जनमत पार्टीका रामदेव यादवले गैडहवातालबाट पालिकाको नामकरण गरिएकोले पालिलाले तालको बिकाससंगै प्रचारप्रसारमा प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका १२ भलिवल टिमहरुको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिनुभयो । भलिबल प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता तथा विविध सांस्कृतिक मेला संचालन गरिएको प्रचार प्रसार सन्त बहादुर क्षेत्रीले बताउनु भएको छ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ईश्वरी अधिकारीले रुपन्देही सबैभन्दा ठूलो ताल गैडाहताललाई बिगतका समय देखि नै उपेक्षा गरिदै आएका कारण तालको उचित रुपमा बिकास हुन नसकेको गुनासो गनु भएको थियो। राज्यको पुनःसंरचना पछि बनेको स्थानीय सरकारको रुपमा रहेको गैडहवा गाउँपालिकाले समेत तालको सौन्दर्यतामा बृद्धि गर्न त्यति ध्यान नदिएको र गुनासो गर्दै अधिकारीले पछिल्लो समय संघिय बजेटबाट तालको ब्यबस्थित बिकास हुन लागेकोमा खुशी ब्यक्त गर्नु भएको थियो।
कार्यक्रम उदघाटनको अवसरमा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुती तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिएको थियो । मंसिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा सांस्कृतिक मेलामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ ।
शान्ति युवा क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता तथा सुर्य प्रसाद अधिकारीको संचालनमा शुरु भएको कार्यक्रमका कार्यक्रम संयोजक यम प्रसाद अधिकारीले स्वागत गर्नु भएको थियो।