२८ मंसिर,कञ्चन
रुपन्देही जिल्लाको एकमात्र रमणिय ताल गजेडी दानापुर ताल रहेको समयमाई सामुदायिक बन उपभोक्ता समूह, कञ्चन १ दानापुर रुपन्देहीको २५ औं साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा आफ्नो धारणा राख्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समृद्धिमा सामुदायिक बनहरुको भुमिकालाई अझ महत्वपुर्ण बनाउन सामुदायिक बनहरुबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुलाई समृद्धिसंग बन कार्यक्रमलाई अगाडी बढाउनुको बिकल्प नभएको बताउनु भएको छ।
कञ्चनको गौरबको पर्यटकिय स्थलको रुपमा रहेको गजेडी दानापुर तालको समद्र्धन र प्रबद्र्धनका लागि समयमाई सामुदायिक बन उपाभोक्ता समूहको योगदानलाई संस्थागत गर्दै यसको सौन्दर्यता र पर्यटकहरुको आकर्षणलाई थप गर्न स्थानीय तहसंगको सहकार्यलाई प्राथमिकता दिन आवस्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले सामाजिक बिकासको सोंचमा बृद्धि नभएसम्म कुनै पनि क्षेत्रमा हुने हरेक भौतिक बिकासहरुको दीगो नहुने भन्दै सामाजिक सोंचको बिकास गर्न शिक्षा अनिवार्य रहेको र पालिकाले कञ्चनवासीलाई कञ्चनको शैक्षिक क्षेत्रको गुणस्तरियतामा बढी ध्यानाकृत गरिरहेको बताउनु भयो।
यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले उपभोक्ताहरु सचेत र बन संरक्षणमा एकबद्ध हुन आवस्यक रहेको बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका वडा अध्यक्ष थारुले गजेडी दानापुर तालको पर्यापर्यटनको बिकास गरेमात्र यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताउनु भयो।
कञ्चन सब डिभिजन बन कार्यालय, फायरलाईन रुपन्देहीका बन अधिकृत चन्द्र भाटले बनबाट हुने चोरी र तस्करी नियन्त्रणका लागि उपभोक्ताहरुले नै सकृय रुपमा अनुगमन गर्न आवस्यक रहेको बताउनु भयो। समूह भित्र रहेका अमा बिभिन्न समूह तथा क्लवहरुलाई अनुगमन तथा सुरक्षा गस्ती गर्ने जिम्मा दिएर नियमित अनुगमन गर्ने हो भने यस क्षेत्रमा हुने गरेका चोरी नियन्त्रण गर्न सकिने बताउदै बन अधिकृत चन्द्र भाटले बन क्षेत्र र सामुदायिक बिकासमा समूहको भुमिकालाई बढाउन सके स्थानीय उपभोक्ताहरु बन संरक्षणमा स्वःस्फुर्त अग्रसर हुने बताउनु भयो।
कार्यक्रममा समूहका पुर्व अध्यक्षहरुको तर्फबाट पुर्व वडा सदस्य दिलाराम थापा, लोक बहादुर भुजेल, पुर्व सचिवहरुको तर्फबाट जयप्रसाद पुलामी, जनज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक तिलकराम लोध र उपभोक्ताहरुको तर्फबाट राम बहादुर सुनार लगायत वक्ताहरुले समयमाई सामुदायिक बन उपभोक्ता समूहले संरक्षण र प्रबर्द्धन गरेको गजेडी दानापुर ताल राष्ट्रिय अन्तराष्ट्रि स्तरमा प्रचार प्रसार भयो तर समूह आफै ओझेलमा पर्दै आइरहेको गुनासो गरेका थिए। रुपन्देहीको एकमात्र रमणिय ताल गजेडी दानापुर ताललाई अझ ब्यबस्थित र पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन समूहले नै होम स्टे संचालन गर्न सकिएमात्र बिस्तारै रोजगारको श्रजना हुदै जाने कुरा वक्ताहरुले जोड दिएका थिए।
साधारण सभाले समूहका अध्यक्ष प्रेम बहादुर थापाले प्रस्तुत गर्नु भएको समूहको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्ञान बहादुर थापाले प्रस्तुत गर्नु भएको समूहको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।साथै समूहका अध्यक्ष प्रेम बहादुर थापाले आगामी बर्ष २०८०/०८१का लागि प्रस्तुत गर्नु भएको अनुमानित आया ब्यय र बार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
समूहका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष नर बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा कार्यलय सहायक दिलसरा पुनले कार्यक्रम संचालन गर्नु भएको थियो।