२६ मंसिर, कञ्चन
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.६ स्थित कलौनीमा सोमबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। उक्त प्रहरी पोष्टको उद्घाटन लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले रामापुर कलौनीमा अस्थायी प्रहरी पोष्ट स्थापना पछि नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न र विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न सहज हुने बताउनु भएको थियो। अस्थायी प्रहरी पोष्टको स्थापनाले सडक दुर्घटना न्यूनीकरण र शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा गर्नेमा समेत महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि नगरपालिका समेत सदैव तत्पर रहेको बताउनु भएको थियो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवरले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोग एवम् सहजिकरणका लागी तत्पर रहेको बताउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ले स्वागत गर्दै अस्थायी प्रहरी पोष्टको भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। नेपाल प्रहरीको नियमति बजेट ५लाख ५० हजार र प्रदेश सरकारको ५ लाख बजेट र स्थानिय जनसमुदायको सहयोगबाट उक्त भवन निर्माण सम्पन्न भएको प्रहरी उपरीक्षक बि.क.ले जानकारी दिनुभएको थियो ।
वर्तमान परिवेशमा आधुनिकीकरण ,रुपन्देही जिल्लाको बढदो शहरीकरण, अपराधको नयाँ शैली र आयामहरु संगै सैनामैना तिव्र शहरोन्मुख क्षेत्रको रुपमा बिकास भईरहेको र यस क्षेत्रमा शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा अमन चयन कायम गर्न यस चौकीको महत्वपुर्ण भूमिका रहने विश्वास प्रहरी उपरीक्षक बि.क.ले ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका उपाध्यक्ष बिना राना, प्रमुख प्रशासकिय अधिकृत जनक थापा, नेपाली सेना गरुणदल गण रामनगर ब्यारेक बुटवलका प्रमुख सेनानी दिपेन्द्र न्यौपाने, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी वल गण, २७ नं. हे. क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक कुमार थापा, ईलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा लगायत स्थानीय जनप्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, प्रहरी कर्मचारीहरु, स्थानियहरुको समेत गरी उपस्थिति रहेको थियो।