चीन र चिनियाँ समाजको अध्ययन
समाजवादी व्यवस्थाले नै समाजमा समानता र गरिबी उन्मूलन गर्न सकिने निष्कर्ष निकालेकी अन्नाले संसारको विभिन्न स्थानमा भइरहेको कम्युनिस्ट आन्दोलनहरूलाई पनि नजिकबाट नियालिरहेकै थिइन् । सायद उनले जानकारी पाइन् कि तत्कालीन चीनका राष्ट्रपति डा. सनयात सेनको आग्रहमा रुसी सरकारले चिनियाँ सरकार र विकास कार्यमा सघाउन बोल्सेभिक नेता मिखाइल बोरोडिनको नेतृत्वमा एक रुसी दल चीन पठाएको थियो । उही मेसोमा उनी पहिलोपल्ट सन् १९२५ मा चीन पुगिन् र चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङ सरकारको सहकार्यमा उत्तरी युद्ध सरदारहरूसँगको लडाइँमा जीत हासिल भइरहेको घटनालाई नजिकबाट नियालिन् । तर, उनी दोस्रोपल्ट सन् १९२७ मा चीन पुग्दा कोमिन्ताङले चिकपासँगको सहकार्य तोडेर उल्टै चिकपाका लालसेनातिर बन्दुक सोझ्याइएको पाउँथिन् । सन् १९३६ मा तेस्रोपल्ट अन्ना चीन पुग्दा चिनियाँ लाल सेना जापानी साम्राज्यवाद र कोमिन्ताङ सेनासँग भिड्दै थियो । अन्नाले यतिबेला जापानी साम्राज्यवादविरुद्धका लालसेनाका आधार इलाकामा गई अध्ययन गरिन् । सन् १९४० मा चौथोपटक चीन पुग्दा स्थिति अझ भयङ्कर थियो । तर, यतिबेलासम्म चिकपाले गरेको सङ्घर्षका बारेमा सकारात्मक सन्देश दुनियाँमा फैलाउने काम अन्नाले धेरै गरिसकेकी थिइन् । उनी सुनचिङ लिङ, चाओ ऐनलाई, माओ र अन्य महत्वपूर्ण व्यक्तित्वहरूसँग निकट भइसकेकी थिइन् । जसरी रुसमा सोभियत समाजवादको पक्षमा अडिग रहिन् त्यस्तै चिनियाँ क्रान्तिका पक्षमा पनि उनले निरन्तर सेवा गरिन् । दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४६ मा अन्ना पाँचौँपटक चीन पुगी लाल सेनाको हेडक्वाटर येनानसम्म पुगिन् र अमेरिकी साम्राज्यवादका बारेमा अध्यक्ष माओसँग गहन अन्तर्वार्ता लिइन् । यही अन्तर्वार्तामा माओले अमेरिकी साम्राज्यवादलाई ‘कागजी बाघको’ संज्ञा दिएका थिए, जुन आजपर्यन्त चर्चित छ । यस अन्तर्वार्ताबाट साम्राज्यवादको विरोधमा लडिरहेका संसारका सबै योद्धालाई ऊर्जा दिएको मानिन्छ ।
छैटौँपटक चीन पुग्ने क्रममा उनी सन् १९४९ मा अमेरिकी जासुसको आरोपमा मस्कोमा गिरफ्तारमा पर्छिन् र अमेरिकामै सुपुर्दगीमा पर्छिन् । यसपछि अमेरिकाकै कम्युनिस्ट साथीहरू उनीबाट टाढा भएको मानिन्छ । करिब ६ वर्षपछि उनलाई लगाइएको आरोप झूटो साबित हुन्छ र उनी सन् १९५८ मा स्थायीरूपमा चीनको लागि प्रस्थान हुन्छिन् । यही बेला अन्नाले अर्का अमेरिकी समाजशास्त्री र समाजवादी डु बोइजलाई चीनमा भेट्छिन् । डु बोइज अमेरिकाका काला जातिमाथिको विभेदका विरोधी र अभियन्ता थिए । अन्नाजस्तै डु बोइज सोभियत समाजवाद र चिनियाँ क्रान्तिका पक्षधर थिए । ९३ वर्षको उमेरमा कम्युनिस्ट पार्टीका सदस्य भएका डु बोइजले लेखेका थिए – म कम्युनिज्ममा विश्वास गर्छु, कम्युनिज्म राज्यको योजनाबद्ध विकास, राम्रो जीवन र जनताका उच्चतम कल्याणका लागि हो न कि पुँजीवादमा जस्तो नाफाका लागि । अन्नाको देहान्त २९ मार्च सन् १९७० मा ८५ वर्षको उमेरमा पेइचिङमै भयो । चिनियाँ नेता र जनताले आत्मसात गरेका थोरै अमेरिकी नागरिकमध्ये अन्ना पनि एक भइन् ।
सन् १९३६ मा स्तालिन नयाँ संविधान मस्यौदाको सिलसिलमा छलफलमा
अन्नाका कृतिहरू
धेरै थोरै अमेरिकी नागरिकहरूले गर्ने कर्ममा आफूलाई समर्पित गर्ने अन्नालाई समाजवादी विचारका पक्षधरहरूले आत्मसात गर्न कन्जुस्याइँ गर्नु हँुदैन । चीन, चिनियाँ कम्युनिस्ट नेताहरू र जनतालाई समेत ‘दैत्य, राक्षस’ का रूपमा हेरिने र प्रस्तुत गरिने अमेरिकाको भूमिबाटै कति पनि विचलित नभई उनले रुसका समाजवादी बन्दोबस्तको बारेमा र चिनियाँ क्रान्तिका सत्यतथ्य पक्षलाई विश्वसामु उजागर गरिन् । सधैँ न्यायको पक्षमा उभिने अन्ना एक सशक्त अभियन्तामात्र थिएनन् । न्यायको पक्षमा उभिने उनी संसारका विभिन्न देश र ठाउँमात्र गएका होइनन् तिनले त्यहाँको वस्तुस्थिति अध्ययन गरी सत्यतथ्यलाई निरन्तर पत्रपत्रिका र पुस्तकमार्फत लेख्दै पनि गइन् । स्थान विशेषको फस्टह्यान्ड जानकारी लिन उनका पाइलाहरू जति सक्रिय थिए ती जानकारीलाई अभिलेखीकरण गर्न उनका मस्तिष्क र हातका औँलाहरू पनि त्यत्तिकै सक्रिय थिए । उनले अध्ययन भ्रमण गरेका स्थानका बारेमा, अनुभव गरेका घटनाहरूका बारेमा र आफ्नो विश्व दृष्टिलाई सबैसामु प्रस्तुत गर्न कुनै आनाकानी गरेनन् ।
अमेरिकामै हुँदा पनि अन्ना आफ्नै जन्मस्थानमा मात्र सीमित भएनन् । मजदुरमाथि हुने शोषण र बालश्रम शोषणको बारेमा विरोध र जनचेतना जगाउन उनले देशका विभिन्न राज्य र सहरहरूको भ्रमण गरिन् । मजदुरहरूमाथिको शोषणलाई उजागर गर्न र रुसी समाजवादबारे पहिलोपल्ट अन्नाले सियाटल सहरका मजदुरहरूले चलाएको पत्रिका ‘दि युनियन रेकर्ड’ मा नियमितरूपमा विभिन्न लेखहरू लेखिन् । सन् १९१९ मा सियाटल सहरमा हुने ठुलो मजदुर आन्दोलनको सङ्घारमा उनले लेखेका ‘यस देशमा हामी आजसम्म मजदुरबाट हुन बाँकी कार्य गर्दै छौँ जुन कार्यले हामीलाई कहाँ लैजान्छ, कसैलाई थाहा हुने छैन’ नामक सम्पादकीय आज पनि सबैले सम्झन्छन् । अन्ना युरोपको अध्ययन भ्रमणमा हुँदा त्यहाँका बारेमा ‘पहिलोपल्ट इतिहासमा’ (१९२४) तथा ‘क्रान्तिका केटाकेटीहरू’ (१९२५) नामक उनले पुस्तक लेखिन् । रुसमा समाजवादी व्यवस्थाको बारेमा उनले ‘द नेसन’ नामक अमेरिकी पत्रिकामा लेखिन् ।
अन्नाले रुसको संविधान निर्माणका बारे लेखेका पुस्तक
चीनको अध्ययन भ्रमणमा छैटौँपटक पुग्दा र त्यहीँ रहँदा तिनले प्रत्येक पल्टको भ्रमणको अनुभव र अनुभूतिलाई पुस्तकमार्फत अभिव्यक्ति दिइन् । कोमिन्ताङले लाल सेनासँगको सहकार्य अन्त्य गरेको घटनाको सेरोफेरोलाई लिएर सन् १९२८ मा ‘चाइनाज मिलियन्स’ (चीनका लाखौँ) तथा मध्य एसियाको उज्वेकिस्तानको भ्रमणपश्चात् आफ्ना अनुभवलाई सन् १९२९ मा ‘रेड स्टार इन समरकन्ड’ पुस्तक प्रकाशन भएको थियो । सन् १९३० मा उनी सोभियत सङ्घमा रहँदा उनले त्यहाँका सरकार र समाजवादी व्यवस्थाको प्रशंसा गरी थुप्रै पुस्तकहरू लेखिन्, जसमध्ये थिए – ‘द सोभियत कन्क्वेयर द व्हिथ’ (१९३१), ‘दिस सोभियत वल्र्ड’ (१९३६), ‘द सोभियत कन्स्टीच्युसन’ (१९३७) हुन् । तिनका प्रख्यात पुस्तक र आत्मकथा – आइ चेन्ज वल्र्डः द रिमेकिङ्ग अफ एन अमेरिकन (१९३७) हुन् । सन् १९३७ मा अन्नाले स्पेनको भ्रमण गर्दा त्यहाँ गणतान्त्रिक पक्ष र राष्ट्रवादी पक्षबिच गृहयुद्ध चलिरहेको थियो । राष्ट्रवादी पक्षलाई हिटलर र मुसोलिनीको समर्थन र सहयोग थियो भने गणतान्त्रिक पक्षलाई सोभियत रुसले सहयोग गरेको थियो । अन्नाले त्यस परिवेशको बारेमा पनि एक पुस्तक लेखिन् – स्पेन इन आम्र्स (१९३७) । उनका अन्य कृतिहरू हुन् – चीनकै बारेमा ‘वन फिट अफ म्यान काइन्ड’ (१९३८), आफ्नै जन्मभूमिको बारेमा माइ नेटिभ ल्यान्ड (१९४०) ।
सन् १९३६ मा स्तालिन सम्पूर्ण रुसका सर्वोच्च नेता भएपछि उनले संविधान आयोगको प्रमुखको हैसियतले संसारको सबभन्दा प्रजातान्त्रिक संविधान बनाउने महाअभियानलाई अगाडि सारेका थिए । त्यस योजनाअनुसार देशका सबभन्दा दिग्गज तथा कुशल ३१ जना इतिहासकार, अर्थशास्त्री, राजनीतिज्ञको सभाबाट संसारका उपलब्ध सबै संविधानहरूको अध्ययन गरी रुसी संविधानको मस्यौदा गर्ने जिम्मा दिइएको थियो । त्यसपछि त्यस मस्यौदालाई देशभरमा सानो ठुलो गरी करिब ५ लाखवटा छलफल तथा बैठक र करिब ५/६ महिनासम्म विचारविमर्श गराइयो । यस्तो छलफलमा करिब ३ करोड ६५ लाख जनताले भाग लिएको मानिन्छ । सङ्कलित एक लाख चवन्न हजार सुझावहरूमध्ये स्तालिन आफैँले दसौँ हजार सुझाव अध्ययन गरेका थिए । रुसको यस महाअभियानलाई अन्नाले नजिकबाट नियालेर आफ्नो पुस्तक ‘द सोभियत एक्सेप्टेड’ (१९४१) मा उल्लेख गरेका थिए । उपन्यास विधामा ‘वाइल्ड रिभर’ (१९४३), हिन्द चीनको (लाओस, कम्बोडिया र भियतनाम) भ्रमणपछि त्यहाँ साम्राज्यवादले गरेको विध्वंशका बारेमा उनले पुस्तक लेखिन् – ‘क्यास एन्ड भ्वाइलेन्स इन लाओस एन्ड भियन्तिन ।’
माओको दायाँमा अन्ना र बायाँमा डु बोइज
अन्नाबाट के सिक्ने ?
अन्ना सुसंस्कृत र खान्दानी परिवारकी छोरी हुन् । समाजलाई यथास्थितिमा राख्नुभन्दा सुधार र परिवर्तन गरेर समानतामूलक र न्यायोचित बनाउनुपर्छ भने दृढ विश्वास भएकाले उनी समाजवादी विचारसँग नजिकिँदै गइन् । तर, सामान्य सुधारका लागि तिनले तत्कालीन समाजमा गरेका प्रयास र सङ्घर्षले परिणाममुखी प्रतिफल नआएकोले नै तिनले विकल्पमा समाजवादी बन्दोबस्तलाई नजिकबाट नियालेर सोभियत रुस र चीनको गहिरिएर अध्ययन गरेर त्यसका बारेमा संसारले जानकारी दिन निरन्तर पत्रपत्रिका र पुस्तकमार्फत लेख्दै गइन् । समाजवादको प्रचारप्रसारका लागि तिनले आफ्नो पूरा जीवन सर्मपण गरिन् । तिनले आफ्नो अभियानलाई कहिल्यै विश्राम दिइनन् । उनको जीवनको सबभन्दा प्रशंसनीय पक्ष भनेको आफ्नो अनुभव र सिकाइलाई लिपिबद्ध गर्ने र अरूलाई त्यसका बारेमा जानकारी गराउनु हो । समाजवादी क्रान्ति र व्यवस्थाप्रति उनको अगाध आस्था र विश्वासले उनलाई रुस र चीनमा मात्र सीमित गर्न सकिनन् । बरु हिन्द चीन (लाओस, कम्बोडिया र भियतनाम) सम्म पनि उनलाई डो¥यायो । सामान्यतया हरेक मानिसलाई आफ्नो जीवनको उत्तराद्र्धमा लाग्दो हो आफूले आत्मसात गरेको विचार, सिद्धान्त वा आदर्श मानेको व्यक्ति वा देशकै समीपमा रहूँ । सायद, अन्नालाई पनि त्यस्तै लाग्दो हो, आफ्नो आदर्शको देश चीनकै सामीप्यमा रहूँ र जीवनको अन्तिम सास त्यही फेरूँ । देश जल, जमिन, जङ्गल, पहाड, मैदान, हिमाल र खोला नालाको समुच्च रूपमात्र होइन, त्यहाँको संस्कृति, सभ्यता र संस्कार अनि जनता र उनीहरूलाई नेतृत्व प्रदान गर्ने व्यक्तिहरूको देशप्रतिको बलिदानी भावनाले पनि देशको परिचय दिइरहेको हुन्छ । हो, अन्नाले येनानमा माओ र चाओएनलाईसँग साक्षात्कार गर्दा चीनको त्यतिबेलाको जर्जर अवस्थाको स्मरण गर्दै भनेकी थिइन् – त्यहाँ केही पनि थिएन, तर एउटा विचार र व्यवस्था छ । त्यही विचार र व्यवस्थाले अन्नालाई जीवनको उत्तराद्र्ध त्यही बिताउन निश्चित गराए । अरु प्रतिको समर्पण, आफ्नो विचार र सिद्धान्तप्रतिको समर्पण र त्यसकै लागि जीवन उत्सर्गको भावना र साहस नै अन्नाको पर्याय हो । अन्नाबाट हामीले सिक्ने ठुलो शिक्षा यही नै हो ।
– समाप्त