सरकारविरुद्ध सङ्घर्षमा इजरायली यहुदीजन
सन् २०११ मा इजरायली जनताले आफ्नो सरकारविरुद्ध सङ्घर्षको आँधीबेहरी ल्याएका थिए । आर्थिक दरिद्रता वा गरिबीका कारण इजरायलका यहुदी र अन्य जातिका मानिसहरूले मिलेर सडक तताएका थिए ।
त्यस जनलहरलाई इजरायली सामाजिक न्याय आन्दोलन २०११ भनिएको थियो । मिडियापिच्छे त्यसलाई थरीथरी नाम दिइएको थियो । आन्दोलन २०११ जुलाईबाट सुरु भयो । त्यसमा लाखौँ मानिसहरूको सहभागिता थियो । सहभागीहरू अनेक आर्थिक–सामाजिक पृष्ठभूमिबाट आएका थिए तर सबैजना महँगीको चर्को मारबाट आजित थिए । खासगरी घरजग्गा, शिक्षा तथा स्वास्थ्य सेवा अचाक्ली महँगिएका थिए । प्रदर्शनकारीहरूले समवेत नारा लगाइरहेका थिए – “सामाजिक न्याय चाहिन्छ–चाहिन्छ ।”
आन्दोलन लम्बिँदै गयो । सन् २०११ को अगस्टमा आन्दोलनको मुद्दामा वृद्धि भयो । इजरायलको समाज व्यवस्था र शक्ति संरचनाविरुद्ध पनि आवाज उठ्यो ।
आन्दोलन झन्झन् लम्बिँदै र चर्किँदै गयो । प्रदर्शनकारीहरूले राजधानी तेल अभिभको रुथ्सचाइल्ड भवनअगाडि पाल टाँगेर धर्ना दिन थाले । २०११ सेप्टेम्बर ३ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । त्यो शनिबारको दिन थियो । साढे ४ लाख मानिसहरू देशैभरि भएका प्रदर्शनहरूमा सहभागी भए । विरोध प्रदर्शनका अगुवाहरूले त्यसलाई ‘लाखौँजनको पदयात्रा’ भने ।
तेल अभिभको जुलुस रुथ्सचाइल्ड भवनबाट सुरु भएर स्टेट चोकमा पुग्यो । त्यसमा करिब ३ लाख मानिसहरू सहभागी थिए । यद्यपि, मोबाइल फोनको सिग्नल गरेर इजरायली प्रविधिले तेलअभिभमा सहभागीहरूको सङ्ख्या घटाएर जम्मा साढे १ लाख मानिस देखाएको थियो । बाँकी १ लाख जनताले इजरायलको बाँकी हिस्सामा जुलुस–प्रदर्शन गरेका थिए । जेरुसेलममा ४० हजार, हाइफामा ३० हजार, अफुलामा १५ हजार, मि¥यात मोत्जकिनमा ८ हजार, नहारियामा ३ हजार, हादेरामा २५ सय, केर्मिल र रोस पिनामा ३ हजार, कि¥यात श्मोनामा ५ हजार, कफ्र येहोशुआमा १० हजार, अरदमा ५ सय, मित्जपे रामोनमा ८ सय र इलातमा झण्डै १ हजार मानिस सडकमा आएका थिए ।
भोलिपल्ट एक टीभी च्यानलले एउटा समाचार प्रसारण ग¥यो । समाचारमा प्रदर्शनकारीहरूले इजरायल सरकारलाई सामाजिक सेवामा बजेट बढाउन माग गरेको बताइएको थियो । प्रदर्शनकारीहरूले इजरायली धनाढ्यहरूबाट असुल गरिने कर बढाउनुपर्ने, सिलिङ तोकेर अतिरिक्त धन राख्दा कर लिनुपर्ने र धनाढ्य आमाबाबु मर्दा सन्तानमा सर्ने धनमा पनि कर लिइनुपर्ने माग राखेका थिए ।
प्रदर्शनकारीहरूले आवासको मूल्य घटाउनुपर्ने लगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्ने माग गरे । महँगीका कारण धेरै इजरायलीहरूले घरभाडा तिर्न सक्दैनन् । धनीहरूमाथि कर बढाएर राज्यले सर्वसाधारणलाई सहुलियत दिनुपर्ने प्रदर्शनकारीहरूको माग थियो ।
डेनियल लेभी नयाँ अमेरिकी कोषका मध्यपूर्वी नीतिका निर्देशक र वरिष्ठ अध्येता हुन् । उनले भने, “महँगीको मारले इजरायलमा बाँच्न मुस्किल छ ।” उनले भने, “मानिसको आम्दानीभन्दा मालसामानको भाउ छोइनसक्नु छ । त्यसमाथि असमानता दिनप्रतिदिन चर्किँदै छ ।”
‘द गार्जियन’ पत्रिकाले लेख्यो :
शनिबारको प्रदर्शन पचासौँ विरोध प्रदर्शनको पछिल्लो कडी हो । यसले राजनीतिक नेतृत्वलाई झक्झक्याएको छ । नौलो सामाजिक आन्दोलनले इजरायली घरेलु राजनीतिलाई पुस्तौँपुस्ताका लागि बदल्ने त होइन ? टिप्पणीकार एवम् विश्लेषकहरू सोध्दै छन् ।
जनमत सर्वेक्षणअनुसार महँगो घरभाडा र घरघडेरीको चर्को मूल्यविरुद्ध राजधानी तेल अभिभको रुथ्सचाइल्ड भवनसामु अभियन्ताहरूको सानो समूहले पाल टाँगेर धर्ना दिइरहेको भए तापनि झण्डै ९० प्रतिशत जनताको सहानुभूति प्रदर्शनकारीहरूसँग छ ।
देशभरि नै प्रदर्शनकारीहरूले पाल टाँगेका छन् । सारा प्रदर्शनकारीहरूको एउटै नारा छ – ‘सामाजिक न्याय चाहिन्छ–चाहिन्छ ।’ उनीहरूले आवास, यातायात, शिशु स्याहार, खाद्यान्न र इन्धनमा भएको महँगी; डाक्टरी र शिक्षणलगायत अधिकांश पेसाका कामदारलाई दिइँदै आएको अति अल्पवेतन जस्ता मुद्दा उठाएका छन् । उनीहरूले कर प्रणालीमा सुधार गर्नुपर्ने र सेवा–सहुलियत बढाउनुपर्ने माग राखेका छन् । प्रदर्शनकारीहरूले उठाएका मुद्दाहरूको जाँचबुझ गर्न सरकारले अर्थशास्त्रका प्रोफेसर मानुयल त्राजतेन्बर्गको नेतृत्वमा एउटा समिति गठन गरेको छ । समितिले एक महिनापछि आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाउनेछ ।
शनिबार राति तेल अभिभमा जम्मा भएका प्रदर्शनकारीहरूले सिटी र ड्रम बजाउँदै अघि बढे र हर्षोल्लासको माहोलमा टुँडिखेलतिर लागे । स्थानीय बासिन्दाहरूले उनीहरूको सम्मानमा आफ्ना बार्दलीहरूबाट तुलहरू फहराए र प्रदर्शनकारीहरू अघि बढ्दै गर्दा स्वरमा स्वर मिलाए ।
अर्को एक अखबारले लेख्यो :
सामाजिक न्याय आन्दोलनको एउटै केन्द्रिकृत नेतृत्व छैन । गर्मीयामभरि त्यसका स्पष्ट उद्देश्यहरू पनि थिएनन् । तथापि आन्दोलन रोकिएन । आन्दोलनको जग वामपन्थी भए पनि देशैभरिबाट विभिन्न तह र तप्काका मानिसहरूले आन्दोलनप्रति सहानुभूति व्यक्त गरेका छन् । जेरुसेलमस्थित हार्टमन संस्थानका वरिष्ठ अध्येता योसी क्लेन हालेभीले भने, “झिल्का वामपन्थीहरूले बाले पनि यसमा सबैखाले इजरायलीहरू सहभागी भए ।” उनले भने, “सहभागीहरूमा नयाँ बस्तीका बासिन्दा र पुरातन यहुदीवादी पनि थिए । यसलाई राष्ट्रिय आन्दोलनको रूपमा हेरिएको थियो ।” एक महिनाअघि एक इजरायली टीभी च्यानलले गरेको सर्वेक्षणबाट देशभरका ८५ प्रतिशत जनता सो आन्दोलनको समर्थनमा उभिएको पाइयो । यो आफँैमा ठूलो प्रभाव थियो । यद्यपि, अझ मसिनो अध्ययन गर्दा अझ महŒवपूर्ण तथ्य फेला प¥यो ।
आन्दोलनमा त्योभन्दा बढी ९० प्रतिशत जनताको साथ र सहयोग थियो ! आन्दोलनकारीहरूमा इजरायली यहुदीबिच विभेदपूर्ण जीवन बाँचिरहेका सेफ्रोडिक र मिज्राही यहुदीहरूको दुःखप्रतिको सहानुभूति मात्र थिएन । कुरा त्यति मात्र थिएन ! त्यो आन्दोलन वास्तवमा यहुदी र गैरयहुदी सबै जातिका समग्र कामदार जनताको आर्थिक दमनको विरुद्ध थियो । प्रदर्शनकारीहरूले इजरायलका गैरयहुदी जातिको मात्र पनि कुरा उठाएका थिएनन् । इजरायलको एउटा वामपन्थी समूह यहुदीवादी छ । उनीहरू यहुदी मात्रको समाजवादको कुरा गर्छन् । यिनीहरू यहुदी र गैरयहुदी जाति दुवैमाथिको शोषणबारे आन्दोलनमा उठेकोले अलि चिन्तित बन्न पुगेका थिए ।
‘द गार्जियन’ ले लेख्यो :
आन्दोलनले इजरायली अरबहरूले भोगिरहेको विभेदमा पर्याप्त ध्यान नदिएको आलोचना पनि भयो । इजरायलको २० प्रतिशत आवादी अरब जातिको छ । अर्कोतिर, इजरायलले प्यालेस्टिनी भूभाग कब्जा गरिरहेको मुद्दा सशक्त रूपमा नउठाएको गुनासो पनि थियो ।
यद्यपि, यी आन्दोलनहरूले इजरायलका यहुदी तथा गैरयहुदी जातिका जनताबिचको ऐक्यबद्धता र एकता प्रदर्शन गरे । ‘द गार्जियन’ ले लेख्यो :
हाइफा, शाहनिन नासेरमा भएको एक जुलुसमा आएका एक इजरायली अरबले भने, “आज हामी खेलको नियम फेर्दै छौँ । धर्मको नाममा एक हुने दिन गए । वास्तविक सहअस्तित्व अहिले देखिँदै छ । अरब र यहुदीहरूसँगै काँधमा काँध मिलाएर हिँड्दै छन् । सामाजिक न्याय र शान्तिको निम्ति हातेमालो गर्दै छन् । हामी यसमा सफल भइसकेका छौँ ।”
‘द गार्जियन’ मै यस विषयमा अर्को एक लेख प्रकाशित भयो । लेखअनुसार आन्दोलनकारीहरूबिच ‘मध्यम वर्ग’ का मानिसहरू पनि छन् । अर्थात् कामदार जनताबिच मध्यम वर्ग पनि मिसिँदै छन् । लेख भन्छ :
इजरायलभरि नै पालै पालका गाउँहरू भरिएका छन् । फेसबुकबाटै मध्यपूर्वभरि प्रजातन्त्रको मागसहितको आन्दोलन आगोसरि फैलेको छ । तर, नादभले ती आन्दोलन र इजरायलमा चलिरहेको आन्दोलनबिच भेद पहिल्याउन भ्याइसकेका छन् । उनले भने, “मध्यमवर्ग एउटा निश्चित विषय लिएर आन्दोलनमा आएको छ । इजिप्टका आन्दोलनकारीसँग गुमाउनलाई धेरैथोक थिएन । तिनीहरूसँग नागरिक अधिकार थिएन र सरकारप्रति तिनको विश्वास थिएन ।” तर उनले भने, “सरकारमाथिको मेरो विश्वास पनि गुमेको छ किनभने यसले मेरा आवश्यकताहरू पूरा गर्दैन ।”
आन्दोलन फैलेकोमा इजरायली सरकार चनाखो बनेको छ । आन्दोलनको मुद्दाले वामपन्थी, दक्षिणपन्थी, आस्तिक र नास्तिक तथा मध्यमवर्ग र तिनका दरिद्र स्वदेशी बन्धुलाई एकसाथ ल्याएको छ ।
घरघडेरीमा भएको महँगीको विरोधबाट आन्दोलनले उपभोग्य सामग्रीको बहिष्कारसम्म पु¥यायो । दुग्ध पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिका कारण चिजको सार्वजनिक बहिष्कार गरिएको थियो । आन्दोलनको रापतापकै कारण डेरी कम्पनीहरू मूल्य घटाउन बाध्य भएका थिए र सरकारले दुग्ध उद्योगकै विषयमा समीक्षा गरेको थियो ।
मोशे सिल्मन यहुदी जातिका साना व्यवसायी थिए । सन् २०१२ मा उनले आत्मदाह गरेपछि आन्दोलनको आक्रोश झन् बढेको थियो । उनको इच्छापत्रबारे विकिपिडियामा यस्तो लेखिएको छ :
“सन् २०१२ जुलाई १४ मा आन्दोलन चर्किरहेकै बेला सिल्मनले आफैँलाई आगो लगाए । आफूलाई जलाउनुअघि उनले लेखेको इच्छापत्रमा उनले इजरायल सरकारका कारण आफूजस्तो दूरवस्थामा रहेका जनतालाई लाभ नदिने इजरायली शासन व्यवस्थाका कारण आफूले आत्मदाह गरेको लेखेका थिए । उनले यसमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र वित्तमन्त्री युभल स्टेनिजलाई दोष दिएका थिए । तिनीहरूको अर्थनीतिका कारण आफूले आत्महत्या गरेको इच्छापत्रमा लेखिएको थियो । सिल्मनले लेखे – इजरायल सरकार तथा पाजी बिबी नेतन्याहु र स्टेनिजलाई गरिब नागरिकलाई अपमान गरेको र उनीहरूले दैनिक भोग्नुपरिरहेको पीडामा चासो नदिएको दोष दिन्छु । उनीहरूको राजमा धनीमानी र सरकारी अधिकारीहरूले गरिबहरूका खुन चुसिरहेको छन् ।”
निश्चय नै कामदारवर्गको एकताले इजरायली शासकवर्गको होसचेत उडाएको थियो !