#हरिबहादुर श्रेष्ठ
कम्युनिस्ट लिगको स्थापना
१८४५ को वसन्ततिर एङ्गेल्स बेल्जियमको राजधानी ब्रुसेल्स जानुभयो । त्यसबेला कार्ल माक्र्सलाई पेरिसबाट निकाला भइसक्नुभएको थियो र उहाँ पनि ब्रुसेल्समै हुनुहुन्थ्यो । एङ्गेल्स ब्रुसेल्समा केही दिन बस्नुभएपछि सङ्गठनको कामलाई चालु राख्न पेरिस जानुभयो । पेरिस त्यसबेला क्रान्तिको केन्द्र र साम्यवादीहरूको प्रचार थलो थियो । पेरिसमा १८३० मै केही मजदुरहरू मिलेर उनले ‘न्याय सङ्घ’ नामक एक गुप्त सङ्गठन खोलेका थिए । बेलायत, स्वीजरल्यान्ड र अरु देशहरूमा पनि यसको सङ्गठन थियो ।
त्यो सङ्गठनमा ३ देखि १० जवानसम्मको एक प्रारम्भिक समिति हुन्थ्यो । त्यसको मुख्य उद्देश्य पुँजीवादी समाजलाई पल्टाउनु, वर्ग विरोधमा आधारित पुँजीवादी समाजलाई समाप्त गर्न, व्यक्तिगत सम्पत्ति र वर्ग नभएको नयाँ समाजको जग बसाल्नु थियो । त्यस ‘न्याय सङ्घ’ का कार्यकर्ताहरूसँग एङ्गेल्स पहिले नै परिचित हुनुहुन्थ्यो ।
१८४७ को गर्मीमा ‘न्याय सङ्घ’ को पहिलो गुप्त अधिवेशन भयो । त्यस अधिवेशनले त्यस सङ्गठनको नाम ‘कम्युनिस्ट लिग’ राखियो । लिगको नियम, उपनियम सबै प्रारम्भिक समितिहरूमा पठाइयो र दोस्रो अधिवेशन बेलायतमा खुलारूपले गर्ने निधो गरियो ।
१८४७ नोभेम्बर महिनामा लण्डनमा ‘कम्युनिस्ट लिग’ को खुला अधिवेशन भयो । अधिवेशन दस दिनसम्म चल्यो । अधिवेशनले पार्टीको सैद्धान्तिक र व्यवहारिक कार्यक्रम लेखी छपाउन माक्र्स र एङ्गेल्सलाई जिम्मा दिइयो । १८४७ डिसेम्बरदेखि १८४८ सम्ममा घोषणापत्र तयार गरेर १८४८ को फेब्रुअरी महिनामा बेलायतमा प्रकाशित गरियो । एङ्गेल्सले क्रान्तिकारी सङ्घर्षमा राष्ट्रवादको विरुद्ध भन्नुभएको थियो, “अरु राष्ट्रलाई दबाइराख्ने कुनै पनि देशले आफूलाई स्वतन्त्र गर्न सक्दैन ।”
कम्युनिस्ट घोषणापत्र
माक्र्स र एङ्गेल्स मिलेर लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएको केही दिनपछि नै फ्रान्समा क्रान्ति भयो । घोषणापत्र ४ भागमा विभाजित छ । त्यसको सुरुमा लेखिएको छ– “आज सारा युरोप कम्युनिज्मको चर्चाले तर्सेको छ ।” पुँजीपति र मजदुर शीर्षकको भागमा लेखिएको छ– “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” दोस्रो भाग ‘मजदुर र कम्युनिस्ट’ को विषयमा छ । त्यसमा लेखिएको छ– ‘मजदुरहरूको पार्टीको विरोधमा कम्युनिस्ट आफ्नो कुनै छुट्टै पार्टी बनाउँदैन’ र ‘मजदुरवर्गको हित छोडेर कम्युनिस्टको अर्को कुनै हित पनि छैन ।’
तेस्रो भागमा समाजवादी र साम्यवादी साहित्यको लेखाजोखा गरिएको छ । त्यसमा समाजवादी र साम्यवादी नामले शोषकवर्गको झूटा र नानाथरीका प्रचारलाई आलोचना र उदाङ्गयाइएको छ ।
घोषणापत्रको अन्तमा लेखिएको छ– “आफ्नो विचार र उद्देश्यहरू लुकाउन कम्युनिस्टहरू मन पराउँदैनन् । तिनीहरू खुलमखुला घोषणा गर्छन् कि वर्तमान सबै समाज व्यवस्थालाई बलपूर्वक उखेली सकेपछि मात्रै तिनीहरूको उद्देश्य पूरा हुन्छ । शासकवर्ग कम्युनिस्ट क्रान्तिको डरले थरथर काँपून् । आफूलाई बाँधिएको सिक्रीबाहेक मजदुरवर्गले केही गुमाउनु छैन । तर, तिनीहरूको निम्ति सारा संसार नै जित्नु छ ।” ‘सबै देशका मजदुरहरू एक होऔँ ।’
यस घोषणापत्रले पुँजीवादी व्यवस्थाको उत्पत्ति र भविष्यबारे राम्रो व्याख्या गरेको छ । आज त्यो घोषणापत्र एक ऐतिहासिक ग्रन्थ भइसकेको छ र साथमा मजदुर र भोका नाङ्गा जनताको निम्ति एक प्रेरणाको स्रोत र ज्ञानको सागर पनि हो । यस्तो महान् र अपराजय कृतिको सह–लेखक बन्दा फ्रेडरिक एङ्गेल्स भर्खर २८ वर्षको मात्रै हुनुहुन्थ्यो । ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशन भएको एक सय ७० वर्ष भयो । आजसम्म पनि यही घोषणापत्र कामदारवर्गको दिशानिर्देशकको काम गर्दै छ ।
कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्स
एङ्गेल्स मातृभूमिमा
फ्रान्समा १८४८ को फेब्रुअरीको क्रान्तिपछि नयाँ क्रान्तिकारी सरकारले पहिलेका प्रतिक्रियावादी शासकहरूले देश निकाला गरेका सबै क्रान्तिकारीहरूलाई फिर्ता बोलाए । एङ्गेल्स र अरु क्रान्तिकारीहरू पनि पेरिसमा गएर नेतृत्व स्थापना गर्नुभयो । फ्रान्सको क्रान्तिकारी सरकारले जर्मनीको क्रान्तिको निम्ति भौतिक र नैतिक सहायता दिने कुरो निश्चित थियो ।
एङ्गेल्स पनि जर्मनीमा जानुभयो र नयाँ पत्रिका निकाल्न बन्दोबस्त मिलाउनुभयो । माक्र्स पनि राइल्यान्ड पुग्नुभयो र ‘नयाँ राइन समाचारपत्र’ (नोये राइनिशे जाइटुङ) नामको अखबार प्रकाशित गर्नुभयो । एङ्गेल्स पनि त्यस पत्रिकाको सम्पादक मण्डलमा हुनुहुन्थ्यो ।
त्यसबेला १७ वटा मागहरू राखेर जर्मनीमा आन्दोलन अगाडि बढेको थियो । राजा–रजौटा र सामन्तहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, खानी र यातायातका साधनहरूलाई राष्ट्रियकरण गर्ने र जर्मनीलाई एक अविभाज्य गणतन्त्र घोषणा गर्ने, अनिवार्य र निःशुल्क शिक्षा आदि माग पत्रमा लेखिएको थियो । यी मागहरू सर्वहारा, निम्न मध्यमवर्ग र किसानहरूको हितमा थियो ।
जर्मनीमा प्रतिक्रान्तिकारीहरू सक्रिय हुन थाले । तर, ‘नयाँ राइन समाचारपत्र’ ले प्रतिक्रियावादको विरोधमा जनताको हित र स्वतन्त्रताको निम्ति अन्तिम दमसम्म लेख्दै रह्यो । आखिर २० सेप्टेम्बरको दिन पत्रिका बन्द गराइयो । माक्र्सलाई देश निकालाको सजाय दिइयो र सम्पादक मण्डलका अरु सदस्यहरूको नाउँमा पक्राउ पुर्जी जारी गरियो । एङ्गेल्स स्वीडजरल्यान्ड हुँदै बेल्जियम पुग्नुभयो र त्यहाँबाट पेरिस पुग्नुभयो । धेरै ठाउँमा उहाँले हिँडेरै आफ्नो गन्तव्य पुग्नुभयो ।
७ जून १८४९ मा माक्र्स पेरिस पुग्नुभयो र एङ्गेल्ससँग भेट्नुभयो । एङ्गेल्स फेरि काडलर स्ताउटेन फर्केर प्रसियन सरकारको भूतपूर्ण लेफ्टिनेन्ट बिलिचले सङ्गठन गरेको स्वयंसेवक सेनामा भर्ती हुनुभयो । वाडेन र प्लाटिनातमा विद्रोहको आयोजना गर्नुभयो । तर, विद्रोह असफल भयो । एङ्गेल्स झन्डै झन्डै मारिइसक्नुभएको थियो । विद्रोह दबाइएपछि उहाँ स्वीडजरल्यान्डबाट बेलायत पुग्नुभयो ।
१८४८–५० को क्रान्तिको अवधिमा एङ्गेल्सले स्वतन्त्रताको निम्ति विद्रोहको तीन लडाइँहरू लड्नुभएको थियो । यसले उहाँको निःस्वार्थी भावना, सिद्धान्त र व्यवहारप्रतिको एकरूपता र एक जना बहादुरीको तस्बिर प्रस्ट हुन्छ ।
कम्युनिस्ट लिगमा फाटो
१ जनवरी १८५० मा माक्र्सले लन्डनबाट ‘नयाँ राइन समीक्षा’ (नोये राइनिशे रिभ्यू) नामको २८ पाने एक मासिक निकाल्नुभयो । एङ्गेल्स पनि स्वीडजरल्यान्डबाट लण्डन पुगेर त्यस पत्रिकामा आफ्नो आत्मालोचना लेख्न थाल्नुभयो ।
क्रान्ति असफल भएर लण्डनमा शरण लिन थुप्रै राजनैतिक शरणार्थीहरू पुगेका थिए । यसकारण, एङ्गेल्सले माक्र्ससँग मिलेर कम्युनिस्ट लिगको पुनः सङ्गठनको काम सुरु गर्नुभयो । दुवै मिलेर केन्द्रीय समितिको तर्फबाट १५ सेप्टेम्बर १८५० को केन्द्रीय समितिको अधिवेशनको परिपत्र तयार गरियो ।
त्यस पत्रिकामा निम्न मध्यम वर्गीय प्रजातन्त्रवादीहरूको अवसरवादी नीतिदेखि मजदुरवर्गलाई सतर्क गराइएको थियो । पुँजीवादी राजसत्ता मजदुरवर्गको हातमा नआएसम्म, सबै देशका मजदुरहरूको हानथापपूर्ण उत्पादन सम्बन्ध समाप्त नभएसम्म क्रान्तिलाई अगाडि बढाउँदै जाने कुरो पनि परिपत्रमा उल्लेख गरिएको थियो । तर, निम्न मध्यम वर्गीय प्रजातन्त्रवादीहरू आफूलाई अलिकति फाइदा हुनासाथै क्रान्तिलाई सम्झौतामा टुङ्ग्याई दिन्थ्यो । यसकारण, मजदुर वगले पुँजीवादी प्रजातन्त्रवादीहरूको आतङ्कवादलाई वास्तविकरूपमा लागु गर्नुपर्छ । गाउँ–गाउँमा सामन्त र जमिनदारहरूको जग्गा जफत गरेर किसानहरूमा व्यक्तिगत सम्पत्तिको रूपमा बाँडेपछि गाउँका सर्वहारावर्ग पनि निम्न मध्यमवर्गमा परिणत हुन जानेछ । अनि तिनीहरूमा पनि निम्न मध्यम वर्गीय विचार आउन थाल्दछ । यसकारण, जफत गरिएको जग्गालाई एक सामूहिक खेतीमा परिणत गर्नुपर्दछ । यो सामूहिक खेती एक सामूहिक स्वामित्वको आधारमा अगाडि लगेर पुँजीवादी स्वामित्वलाई विस्तारै समाप्त गर्नुपर्दछ ।
केन्द्रीय समितिको अधिवेशन १५ सेप्टेम्बरमै भयो । तर, केन्द्रीय नेतृत्व राख्ने विषयमा मतभेद भयो । माक्र्स र एङ्गेल्ससहित ६ जना सदस्यहरू केन्द्रीय नेतृत्व कोलोनमा राख्ने पक्षमा हुनुहुन्थ्यो । तर, बिलिचसहित अरु ४ जना सदस्यहरू केन्द्रीय कार्यालय लण्डनमा राख्न ढिपी गर्न लागे । हुन त एङ्गेल्ससँग बिलिच सहयोद्धा भएर विद्रोहमा लडिसकेका थिए । बिलिचले विद्रोहमा ठुलो योग्यता देखाएका भए पनि उनी सिद्धान्तमा त्यति प्रस्टता भएका व्यक्ति थिएनन् ।
अल्पमतले बहुमतको निर्णय मान्न अस्वीकार गरेको हुँदा ‘लिग’ निष्क्रिय भयो र ‘नयाँ राइन समीक्षा’ पनि बन्द भयो । पत्रिकाको अन्तिम अङ्कमा एङ्गेल्सले १५२५ को किसान सङ्ग्रामको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले एक लेख लेख्नुभएको थियो । लिग निष्क्रिय भएपछि एङ्गेल्स फेरि आफ्नो बुबा एरमेन एङ्गेल्सको कारखानामा काम गर्न जानुभयो । माक्र्स लण्डनमै अध्ययन र वैज्ञानिक अनुसन्धानमा लाग्नुभयो । एङ्गेल्स मेनचेस्टरमा रहे पनि दुई मित्रको पत्रको आदान–प्रदान चली नै रह्यो । लिगबाट फुटेर जानेहरूले माक्र्सलाई विरोध गर्दै रहे । तर, एङ्गेल्सले त्यस सम्बन्धमा माक्र्सको पत्रको उत्तरमा यसरी लेख्नुभएको थियो, “धेरै दिनपछि अब फेरि हामीलाई के देखाउने समय आएको छ भने हामी नामको भोका छैनौँ, न त कुनै देशको कुनै पार्टीको समर्थन प्राप्त गर्ने आवश्यकता नै छ । यी सानातिना कुरादेखि हामी एकदमै अलग छौँ । अब हामी आफँैप्रति जिम्मेवार छौँ ।”
यस चिट्ठीको अंशले थाहा हुन्छ, एङ्गेल्स आफ्नो सिद्धान्तमा पक्का र दृढ हुनुहुन्थ्यो । उहाँ नाम कमाउने उद्देश्यले क्रान्तिकारी कार्यमा लाग्नुभएको थिएन बरु मजदुरवर्गको अन्तिम मुक्तिको निम्ति आफ्नो जीवन दिन तयार हुनुहुन्थ्यो । त्यसबेला एङ्गेल्स ३१ वर्षका जवान हुनुहुन्थ्यो ।
एङ्गेल्सको त्याग
एङ्गेल्सले मेनचेस्टरमा १८५१ देखि १८७० सम्म २० वर्ष बिताउनुभयो । तर, एङ्गेल्स त्यहाँ बसेर कारखानाको काममा मात्र लाग्नुभएन । बरु, माक्र्स लण्डनमा बस्नुहुँदा एकपछि अर्को आर्थिक सङ्कटको प्रतिकूल परिस्थितिमा माक्र्सलाई सधैँ सहयोग गर्ने जिम्मेवारी पूरा गर्दै जानुभयो । उहाँले सुरुमा केही वर्षमात्र मेनचेस्टरमा बिताएर फेरि अध्ययनमा लाग्ने विचार गर्नुभएको थियो । तर, १८५४ तिर माक्र्सको आर्थिक स्थिति झन् कमजोर हुँदा एङ्गेल्सले त्यो व्यवसाय छोड्ने कुरै भएन । ५–१० स्ट्रलिङ पाउन्डका नोटहरू माक्र्सलाई बराबर पठाउँदै गर्नुभयो ।
एङ्गेल्स आफ्नो व्यवसाय मन पराउनु हुन्नथ्यो र त्यसलाई ‘नरकको काम’ सम्झनुहुन्थ्यो । त्यसबेला कार्ल माक्र्सले ‘पुँजी’ नामको ग्रन्थ लेख्न सुरु गर्नुभएको थियो । त्यस ग्रन्थ नसिधेसम्म माक्र्सलाई आर्थिक मद्दत दिनु एङ्गेल्सले आफ्नो कर्तव्य सम्झनुभयो । यसकारण, उहाँले कारखानाको काम छोड्ने कुरै भएन । माक्र्सले अमेरिकाको एक पत्रिका ‘न्युयोर्क ट्रिव्युन’ मा लेख दिने गर्नुहुन्थ्यो । त्यसमा हप्ताको २ वटा लेख दिनुपर्दथ्यो र त्यसको पारिश्रमिक २ पाउन्ड पाउनुहुन्थ्यो । एङ्गेल्स माक्र्सको नामले त्यसको लागि आफैँले लेखहरू लेख्नुहुन्थ्यो र माक्र्सले लेखेका लेखहरू अनुवाद गर्नुहुन्थ्यो किनभने माक्र्सको अङ्ग्रेजी राम्रो थिएन ।
माक्र्सलाई थाहा थियो, एङ्गेल्स प्रतिभा सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । तर, आर्थिक समस्यासामु माक्र्स लाचार र दुःखी हुनुहुन्थ्यो । एङ्गेल्सको यो त्याग रामायण र महाभारतका कथाहरूमा चित्रण गरिएका कुनै पनि पात्रको भन्दा पनि कता हो कता बढी थियो । वास्तवमा एङ्गेल्सको त्याग र निःस्वार्थ भावना अतुलनीय थियो ।
– माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनीबाट