२५ कार्तिक, गुल्मी /पारस राहादी मगर
विगत ९० बर्षदेखि लाग्दै आएको सत्यवती सांस्कृतिक तथा पर्यटन मेला -२०८०ू को तयारी शुरु भएको छ । गुल्मीको ठूलो लुम्पेकमा अवस्थित सत्यवतीमा हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
यो सत्यवती क्षेत्रलाई सरकारले नेपालको "सय पर्यटकीय गन्तव्य क्षेत्र" को सुचीभित्र समावेश गरेको छ । हरेक बर्ष कार्तिक शुक्ल पुर्णिामाको दिन लाग्ने यस सत्यवती मेलामा सत्यवती बजैको दर्शन गर्न तथा वर माग्न दशौँ हजार भक्तजनहरू एवं मेला हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गर्दछ । सत्यवती बजैले कान नसुन्ने भएकोले चर्को स्वरमा चिच्याएर वर माग्ने गर्दछन् ।
यसबर्ष मंसिर ११ गते मेला लाग्दैछ । सत्यवती मेलाको आयोजक साकटेक नेपालले मेलाको लागि सम्पूर्ण तयारी दुई हप्ताभित्र सक्ने बताएको छ । व्यापारीक स्टल, पुजा स्टल, पार्किङ लगायत सत्यवती क्षेत्र भित्र सरसफाइ, मर्मत र व्यवस्थापन भइरहेको साकटेक नेपालले जनाएको छ । मंसिर ११ गते सालैजो, सोरठी, लगायतका स्थानीय मौलिक विविध सांस्कृतिक प्रस्तुतिहरू हुनेछन् ।
सत्यवती क्षेत्रमा बनाइएको सेल्फी जोन
यसबर्ष प्रगतिशील समाज क्वाङले साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ । समाजका अध्यक्ष लिलस श्रीसका अनुसार भलिबल प्रतियोगिता मंसिर ७ गतेदेखि सुरु भइ मंसिर १० गते फाइनल हुने जनाइएको छ । प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार राशि रु ३५०००/- र रु २००००/-मेडल र प्रमाणपत्र रहेको छ ।
क्वाङ सत्यवती देखि करिब पाँच किलोमिटर कच्ची मोटर बाटो मसिना हुँदै बुढि सत्यवती जान सकिने तथा क्वाङ सत्यवती देखि निर्माणाधीन पद मार्गबाट करिब चार किमि हिँडेर बुढि सत्यवती पुग्न सकिने वडाध्यक्ष जीतबहादुर तरामु मगरले बताउनु भएको छ। आगामी बर्षमा सत्यवती क्षेत्र व्यवस्थित र आकर्षक बनाउन, सेवा सुविधा दिन र बढी भन्दा बढी पर्यटकहरूको आगमन गराउने गरि यस सत्यवती क्षेत्रमा शुरु भइरहेका पुर्वाधार निर्माण आयोजनाका कामहरू छिटोभन्दा छिटो सम्पन्न गर्न लागि रहेको वडाध्यक्ष तरामु मगरले बताए ।
सत्यवती क्षेत्रका लागि निर्माण गरिएको खानेपानी टंकी
सत्यवतीमा दैनिक सयौँका सङ्ख्यामा पिकनिक, घुमघाम, सत्यवती पुजा तथा मनोरञ्जनको लागि पर्यटकहरू आउने गर्दछन् । सत्यवतीमा गतवर्ष देखि चियाखेती परिक्षण समेत सुरु भएको छ । सत्यवतीबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालहरू देख्न सकिन्छ ।
सत्यवती क्षेत्रबाट देखिने सुन्दर हिम श्रृंखला
प्रत्येक बर्ष मेलामा गुल्मी, बाग्लुङ्ग, स्याङ्गजा, अघार्चखांची पाल्पाको पश्चिम क्षेत्र, प्युठान, पर्वत लगायत बिभिन्न स्थानहरुबाट सत्यवती बजैको पुजा गर्न, सत्यवती बजैसंग भाकल माग्न र भोक चढाउन आउने गर्दछन। अहिले बुटवल देखि ठूलो लुम्पेक हुदै सिधै सत्यवती सम्म मोटर बाटोको समेत सुबिधा रहेको छ।
सत्यवती क्षेत्र
वडा अध्यक्ष जित बहादुर तरामु सहितको पर्यटकको टोली