१४ असोज, कञ्चन
धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चन ४ रुपन्देहीको १३ औं साधारण सभा समपन्न भएको छ। करिब ६० लाख १० हजार १०२ रुपैया स्थिर सम्पत्ती रहेको धरोहर साकोसले ५५ लाख ९५ हजार ५६५ रुपैया खुद नाफा गरेको छ।
साधारण सभालाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सहकारीलाई बचत र ऋणमा मात्र सिमित नराखी शेयर सदस्यहरुलाई उत्पादनमुखी बनाउने योजना समेत निर्माण गर्नु पर्नेमा जोड दिनु भयो। आज गरिएको थोरै थोरै बचतले भोली आउन सक्ने ठूला समस्याहरुलाई सहजै पार गर्न सहयोग गर्ने सहकारीहरुले शेयर सदस्यहरुलाई कृषि, पशु तथा उद्यमी बन्न तर्फ प्रोत्साहनमुखी कार्यक्रम संचालन गर्न सके सहकारीहरुको क्षेत्र अझ फराकिलो हुने उपाध्यक्ष थापा मागरले बताउनु भयो।

कार्यक्रममा केन्द्रिय बचत तथा ऋण सहकारी संघका सञ्चालक समिती सदस्य सन्दिप सापकोटाले हिजो मिटरब्याजी लगाएर सर्ब साधारण जनताको जिवनलाई उकास्न नदिएका ब्यक्तीहरु बैंक हुदै सहकारीमा समेत प्रबेश गरी सहकारीलाई धमिल्याउने कार्य गर्नमा उद्यत रहेको बताउनु भयो। सहकारीमा पञ्चायती सोंच र चक्रिय व्याज खाई पल्केका सिमित व्यक्तीहरुको प्रबेशलाई छेकवार गर्ने कुनै ऐन नबनेको भएपनि सहकारी भित्र रहेर गलत क्रियाकलाप गर्ने कार्यलाई रोक्न सबै सदस्यहरु एक हुनुपर्नेमा जोड दिनु भयो।

यसैगरी कञ्चन गाउपालिकाका प्रशासन तथा सहकारी शाखा प्रमुख गिरीराज अर्यालले एकका लागि सबै र सबैका लागि एक भन्ने नीतिका आधारमा संचालन गरिने सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्साहित गर्नु पर्नेमा जोड दिनु भयो। सहकारीबाट ऋण लिएको सदस्यले के प्रयोजनमा लगानी गरेको छ या ऋण तिर्नका लागि ऋण लिइरहेको छ भन्ने कुराको अनुगमनलाई प्रभावकारी बनाउन सके कुनैपनि सहकारी जोखिममा नपर्ने र ऋणी सदस्यहरुले समेत ऋण भुक्तानी गर्ने कुरामा तत्परता देखाउने अर्यालले बताउनु भयो। प्रशासन तथा सहकारी शाखा प्रमुख अर्यालले झोलामा सहकारी बोकेर हिड्ने समयकालको अन्त्य भएपनि कञ्चनमा कतिपय सहकारीहरुले झोलामा सहकारी बोकेर हिडिरहेको अवस्थालाई अन्त्य गर्न कञ्चन गाउपालिकाको सहकारी शाखाले कडाई गर्ने योजना अगाडी सारेको समेत बताउनु भयो।

कार्यक्रममा कञ्चनका वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी., धरोहर साकोसका संस्थापक अध्यक्ष लेखनाथ पौडेल, राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका कर्जा प्रमुख सुशील भट्टराई लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

संस्थाका अध्यक्ष पुष्पराज शर्माले संस्थाको बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद ढकालले लेखा सुपरिवेक्षण प्रतिबेदन प्रस्तु गर्नु भएको साधारण सभामा संस्थाका सचिव कविराज ढकालले संस्थाको संस्थागत प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
संस्थाका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा कोषाध्यक्ष उमा ढकालको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु नारायण श्रेष्ठले स्वागत गर्नु भएको थियो।

२ हजार १४१ शेयर सदस्य रहेको धरोहर साकोसको १ करोड ६४ लाख ८५ हजार शेयर पुँजी रहेको छ भने संस्थागत पुँजीकोषमा १ करोड ७७ लाख ६३ हजार ८१९ रुपैया रहेको छ । २ वटा सेवा केन्द्र समेत रहेको उक्त साकोसको जगेडा कोषमा १ करोड ४९ लाख २६ हजार ८८३ रहेको छ ।