३० भदौ, कञ्चन
हामी सक्छौं साथी सञ्जाल, गैडहवाले आर्थिक रुपमा कमजोर भएका परिवारका बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा गैडहवा गाउँपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको समन्वयमा बिपन्न परिवारका बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो।

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मुख्य नारा सहित हामी सक्छौं साथी सञ्जालले शुक्रवार बाल अधिकार सम्बन्धी जनचेतनामुलक सडक नाटक समेत प्रस्तुतत गरेका थिए। कुनै पनि कारणले कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित गराउनु हुदैन भन्ने सन्देश सहित गैडहवा गाउपालिका वडा नं. ९ का अािर्थक रुपमा बिपन्न परिवारका बिधार्थीहरुलाई वडाकै आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हामी सक्छौं साथी सञ्जालका अध्यक्ष समिक्षा सिंजालीले जानकारी दिनु भयो।

शैक्षिक सामग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गैडहवा वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्रीले जनताको हरेक समस्याहरुलाई सामधानका लागि निरन्तर खटिरहदा कति समस्याहरुको पहिचान हुन नसक्दा बनाइएका योजनाहरु समेत असफल हुने बताउनु भयो। आजका बालबालिकाहरु भविष्यका कर्णधार भनिएपनि आर्थिक रुपमा कमजोर भएका परिवारका बालबालिकाहरु बिद्यालय शिक्षा देखि टाढा रहनु परेको अवस्थालाई नजरअन्दाज गरिंदा खास समस्याको पहिचान हुन नसकेको होकी भन्ने आफुलाई महसुस भएकै कारण साथी सञ्जालसंगको सहकार्यमा शैक्षिक सामग्री प्रदान गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो।

वडा अध्यक्ष थापाले साथी सञ्जालद्वारा प्रस्तुत सडक नाटक सारै नै जिवन्त भएको र समाजमा देखिएका यथार्थहरुलाई सडक नाटक मार्फत चित्रणगरी समाजलाई सचेत गराउने प्रयास निकै उदाहरणिय कार्य भएको उल्लेख गर्नु भयो।
यसैगरी वडा नं. ९ वडा सचिव सुख्खु यादवले हरेक बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा पुर्याउन पालिकाले बिभिन्न योजनाहरु बनाइरहेको बताउनु भयो। अभिभावक, समुदाय र स्थानीय तहको आपसी समन्वयमा मात्र बालबालिकाहरुको सुनिश्चित भविष्यको थालनीका लागि शिक्षा स्वास्थ्यमा लगानी आवस्यक रहेको वडा सचिव यादवले बताउनु भयो।

हामी सक्छौं साथी सञ्जालका अध्यक्ष समिक्षा सिंजालीको अध्यक्षता, अनिता कुमारी लोधको स्वागत तथा निशा लोधको संचालनमा सम्पन्न कार्यक्रम गैडहवा वडा नं. ९ को कार्यालयमा भएको थियो। कार्यक्रममा बिभिन्न टोल बिकास संस्थाका प्रतिनीधिहरुको सहभागिता समेत रहेको थियो।