#सिड्नी स्यापिरो
(सिड्नी स्यापिरो अमेरिकी नागरिक थिए । दोस्रो विश्वयुद्धमा उनी अमेरिकी सिपाहीँ थिए । विश्वयुद्ध सकिएपछि सिपाहीँहरूलाई सामाजिक समायोजनको क्रममा कुनै न कुनै विदेशी भाषा सिक्ने अवसर दिइयो । सिड्नी खासमा फ्रान्सेली भाषा सिक्न चाहन्थे । तर, फ्रान्सेली भाषाको कक्षामा उनले ठाउँ पाएनन् । अनि उनी चिनियाँ भाषा सिक्न थाले । चीनमा गएर पैसा कमाउने उनको सपना थियो । चिनियाँ भाषा सिकेर उनी साङ्घाई घुम्न आए । त्यतिबेला चीन पश्चिमा साम्राज्यवादी देशहरूका अर्ध उपनिवेश थियो । चीनका विभिन्न भूभाग, सहर र नाका साम्राज्यवादीहरूले कब्जा जमाएका थिए । तर, चीनमा कम्युनिस्ट पार्टीको प्रभाव पनि बलियो बन्दै थियो । सिड्नीले चिनियाँ छोरी फिनिक्ससँग विवाह गरे । फिनिक्स सांस्कृतिक क्षेत्रका कलाकार थिइन् । उनीहरूले पनि कम्युनिस्ट पार्टी र क्रान्तिलाई समर्थन गरे ।
चीन जापानी उपनिवेशवाद र कोमिङतानको शासनबाट मुक्त भएपछि सिड्नी र उनको परिवार पेइचिङमा बस्न थाले । सिड्नीले चीनका विभिन्न कृतिको अङ्गे्रजी भाषामा अनुवाद गर्ने काम पाए । उनले चीनका धेरै शास्त्रीय तथा समकालीन कृतिको अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । उनले अनुवाद गरेका तिनै कृति नै चीनको नयाँ जनवादी व्यवस्था र चिनियाँ क्रान्ति संसारभर पु¥याउने सेतु बन्यो । उनै सिड्नी स्यापिरोको आत्मसंस्मरणात्मक कृति ‘एन अमेरिकन इन चाइना, थर्टी एयर्स इन द पिपुल्स रिपब्लिक’ सन् १९७९ मा प्रकाशित भयो । सोही पुस्तकको तेस्रो पाठको नेपाली सारांश प्रस्तुत छ । चीनको तत्कालीन परिस्थिति र जनजीवन बुझ्न यो सामग्री पाठकको लागि रोचक र उपयोगी हुन सक्छ ।)
धर्म
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि त्यहाँ धर्म क्रमशः ओइलाएर गयो । तर, चीनमा धर्ममाथि कुनै निषेध थिएन । बरु संविधानले नै धार्मिक स्वतन्त्रता सुनिश्चित गरेको थियो । सरकारले प्रार्थना गृहहरूलाई कर मुक्त गरेको थियो । भत्केका मन्दिर बनाउन सरकारले नै बजेट उपलब्ध गराएको थियो ।
तर, अधिकांश सर्वसाधारणले यो अवस्थामा परिवर्तन चाहे । गाउँका पर्खालमा बनाइएका भगवानका प्रतिमा रित्तिन थाले । मैले एक जना बुढो किसानलाई त्यसको कारण सोधेँ । उनले भने, “ती भगवानहरूले हामीलाई कुनै सौभाग्य दिन सकेनन् । हामीले अनिकाल, बाढी, पहिरो र भोकमरी झेल्यौँ । जमिनदारले हामीलाई चुस्नु चुसे । कोमिङतानले हामीमाथि करको भारी थोप¥यो । हाम्रा छोराहरूलाई जबरजस्ती सेनामा भर्ती गरियो । हामीसँग दुःखबाहेक केही थिएन । अध्यक्ष माओ र कम्युनिस्ट पार्टीले यो अवस्थाको अन्त्य गरे । अहिले सबै कुरा राम्रो बन्दै गएको छ । हामीलाई धर्म किन चाहियो र ?”
राजनीतिक अध्ययन गोष्ठी
चिनियाँहरू राजनीतिक अध्ययन गोष्ठीलाई गम्भीरतापूर्वक लिने गर्थे । उनीहरू सधैँ कुनै न कुनै विषयका अभियानमा लागिरहेका हुन्थे । उनीहरूका कुनै अध्ययन गोष्ठी, कुनै अभियान र कुनै आन्दोलन खाली हुन्थेन र नबिराई लागिरहन्थे । ती सबै अभियानमा माक्र्सवादका पुस्तकको अध्ययन, माओका रचनाको अध्ययन, चिनियाँ र अन्तर्राष्ट्रिय परिस्थितिको लेखाजोखा, विश्लेषण, तर्कवितर्क, सिद्धान्तलाई व्यवहारमा लागु गर्ने कुरा अनिवार्यरूपमा समावेश हुन्थे । हाम्रो वरपर यस्ता गतिविधि लगातार भइरहेका हुन्थे । अनि यस्ता गतिविधि हामीमा पनि क्रमशः सङ्क्रमण हुँदै गए । आवश्यक भाषिक ज्ञान भएका विदेशीहरू पनि आफ्ना चिनियाँ सहकर्मीहरूसँग त्यस्ता गोष्ठीमा भाग लिन्थे । तर, विदेशहरूको लागि अलगै समूह पनि बनाइएको हुन्थ्यो । उनीहरूले समसामयिक सन्दर्भमा ताजा विषयमाथि छलफल पनि चलाउँथे ।
मेरो लागि यस्ता गतिविधिले जीवनको एउटा नयाँ ढोका उघा¥यो । चीनमा आउनुअघि मैले माक्र्सको नाममा ग्रोचो माक्र्स मात्र चिनेको थिएँ । (ग्रोचो माक्र्स अमेरिकी हास्यकलाकार थिए ।)
कार्यालय
हाम्रो कार्यालयमा कुनै वातानुकूल (एयर कन्डिसन) थिएन । न कोही सफाइ मजदुर नै । हामी आफैँले सबै सरसफाइको काम ग¥थ्यौँ । आलोपालो गरेर हामी बढार्ने, भुइँ पुछ्ने र कोठाहरू सफा ग¥थ्यौँ । बाहिरको सभा कक्ष पनि हामी नै सफा ग¥थ्यौँ । थर्मस बोटलहरूमा हामी नै तातो पानी भ¥थ्र्यौँ । साताको एक दिन सरसफाइको पालो सबैको भागमा आउँथ्यो । पन्ध्र मिनेट जति समयमा हामीले त्यो काम भ्याइसक्थ्यौँ । अर्को पालैपालो गर्ने काम थियो–शौचालय सफा गर्ने । सबै सक्षम मानिसले यो काममा संलग्नता जनाउने भएकोले लगभग महिनाको एकपटक मात्र सबैको भागमा यो काम आइलाग्थ्यो । झ्यालको भित्री र बाहिरी भागमा मासिक सरसफाइ हुन्थ्यो । विशेषतः युवकहरूले झ्याल सफाइको काम पाउँथे ।
वर्षौँ वर्षसम्म कार्यालय समय सुरु भएको पहिलो घण्टा आधारभूत राजनीतिक सिद्धान्तको अध्ययन गरिन्थ्यो । हामीले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन वा माओमध्ये छानेर उनीहरूका कृतिको अध्ययन गर्नुपथ्र्यो । साताको दुई अपराह्न र कहिलेकाहीँ एक साँझ आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिक मामिलाबारे छलफल हुन्थ्यो । आफ्नै कार्यालयका सहकर्मीहरूको पाँचदेखि दसजनासम्मको समूहमा यस्ता गोष्ठी सञ्चालन हुन्थे । बेला मौकामा विदेशी भाषा प्रेसकै कोही पाका कर्मचारी अथवा कुनै माथिल्लो सङ्गठनका प्रतिनिधिले हामीलाई केही महत्वपूर्ण विषयमा प्रवचन सुनाउँथे । त्यस्ता प्रवचनपश्चात् स–साना समूहमा छलफलहरू हुन्थे ।
‘चाइनिज लिटरेचर’ को कार्यालयमा पनि प्रायशः कार्यशाला हुन्थे । त्यस्ता कार्यशालामा हामी योजना निर्माण, सम्पादन, अनुवाद र चित्र लेखनबारे कुराकानी ग¥थ्यौँ । नेतृत्वको कार्यशैली र मनसायमाथि आलोचना हुन्थ्यो । अनि बेला बेला एक आपसकै आलोचना र आत्मालोचना पनि गरिन्थ्यो । कार्यकर्ता पङ्क्तिमा आलोचनाभन्दा बढी आत्मालोचनाको प्रवाह व्यापक थियो । कुनै पनि एकाइका कमी कमजोरी र सदस्यहरूका कमी कमजोरीको जिम्मेवारी अन्ततः नेतृत्वको कमजोरी हुने गर्छ । प्रभावशाली नेतृत्वले त्यस्ता कमजोरी पहिल्याउन नसक्नु र आवश्यक निर्देशन दिन नसक्नु नेतृत्वकै दोष मानिन्थ्यो ।
मेरा लागि त्यस्ता बैठक र छलफल अत्यन्त फलदायी भए । त्यस्ता बैठकबाटै चीनले लागु गर्न लागेका उच्चस्तरीय नीति र राजनीतिक, आर्थिक र सांस्कृतिक मामिलाबारे म जानकारी पाउँथेँ । बैठकमा मैले व्यक्त गरेका सहमति वा असहमतिका कुरा संरचनाअनुरूप (चेन अफ कमान्ड) माथिल्लो तहमा पु¥याइन्थ्यो । हाम्रो एकाइको कोही सदस्यले कम्युनिस्ट पार्टीको सदस्यताको लागि आवेदन भरे उसको विषयमा हामी बैठकमा छलफल ग¥थ्यौँ । कसैले पनि कम्युनिस्ट पार्टीको सदस्य बन्न उसका सहकर्मीहरूबाट अनुमोदन प्राप्त गर्नु आवश्यक हुन्थ्यो ।
बैठकमा सबैले आफ्नो कामबारे खुलेर कुरा राख्थे । सबैले आफ्नो धारणाको पनि महत्व छ भन्ने अनुभव गर्थे । अनि सबैले आफ्नो धारणा राख्दा नेतृत्व र व्यवस्थापन तहको प्रजातान्त्रिक प्रक्रियामा आफू सामेल भइरहेको बोध गर्थे । विदेशी हुनुको नाताले प्राविधिकरूपमा यी सबै अधिकार मलाई प्राप्त त थिएन । तथापि, मलाई झन्डै सबै बैठकमा सहभागिताको लागि आमन्त्रण गरिन्थ्यो । मेरो विचारलाई विनम्रतापूर्वक सुनिन्थ्यो ।
बारम्बारको छलफल, विमर्श र विचार आदानप्रदानले सहकर्मीहरूबिच आपसी समझदारी राम्रो बन्दै गयो । मेरा सहकर्मीहरू बीसदेखि साठी दशकमा हिँड्दै गरेका थिए । उनीहरू चीनका विभिन्न ठाउँबाट आएका थिए । उनीहरू सबैले आफ्नो जीवन र अनुभवका दृष्टान्तसहित आफ्ना धारणा प्रस्ट पार्थे । उनीहरूको यस्तो शैलीबाट मैले चिनियाँ तरिका र मानसिकताबारे बुझ्ने मौका पाएँ । अनि मैले विगत र वर्तमान परिस्थितिबारे पनि धेरै जानकारी पाएँ ।
हामीले बैठकको लागि निकै लामो समय बिताएजस्तो देखिन्थ्यो । हामी प्रायशः कामभन्दा बढी छलफल ग¥थ्यौँ । प्रजातन्त्र चीनको लागि नयाँ अभ्यास थियो । तर, कहिलेकाहीँ मलाई चिन्ता लाग्थ्यो–कतै हामीले प्रजातन्त्रको वैचारिक पक्षलाई अलि बढी समय दिइरहेका छौँ कि ? यसले हामीमा हाम्रा सहकर्मीहरूको शब्दमा ‘आराममा सुरुवात, हतारमा समापन’ को रोग लागेको हो कि ? हामीलाई कहिले केही समस्या वा काम नभएजस्तो लाग्थ्यो त कहिले निकै ठुला चुनौती अगाडि पसारिएजस्तो लाग्थ्यो । तथापि, जब सबै विषयवस्तु र लक्ष्यमा स्पष्ट भएपछि काममा हामफालेपश्चात् भने सामूहिक सहकार्य निकै प्रभावशाली हुन्थ्यो ।
मेरा सम्पादकहरू
हाम्रा प्रधानसम्पादक अग्लो र खाइलाग्दो चिनियाँ उपन्यासकार थिए । उनको अङ्ग्रेजीलगायत केही अरू भाषामा पनि राम्रो दखल थियो । उनी क्याम्ब्रिजको किङ्स कलेज पढेका थिए । चीनको साहित्यिक वृत्तमा उनी निकै सक्रिय थिए । उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् । तर, उनी कम्युनिस्ट पार्टीको सिद्धान्तको समर्थन गर्थे ।
प्रधानसम्पादकको सहायक पदमा हिस्सी परेकी एक जना सक्षम महिला थिइन् । उनी पत्रिकाको कार्यालयमा गठित कम्युनिस्ट पार्टीकी प्रमुख व्यक्ति थिइन् । उनी होनानको धनी परिवारकी छोरी थिइन् । किशोरावस्थामा उनले सबै पुगेको सुखद घर परिवार त्यागेर हजारौँ हजार आफू जस्ता युवकहरूसँगै येनान गएर उतिबेला प्रतिबन्धित कम्युनिस्टहरूमा मिसिएकी थिइन् । येनानमा उनले कला र साहित्यबारे अध्ययन गरिन् । त्यही अध्ययनले नै उनलाई अहिलेको साहित्य सम्पादकको पदमा पु¥यायो ।
हाम्रो अनुवाद शाखाकी प्रमुख एक जना भर्खरकी महिला थिइन् । उनी पनि धनीमानी परिवारकी छोरी थिइन् । उनले अमेरिकी मिसनरीले चलाएको साङ्घाईको क्याम्पसमा पढेकी थिइन् । केही वर्ष उनले संयुक्त राष्ट्र सङ्घका भाषानुवादक भएर पनि काम गरिन् । उनी शुद्ध अमेरिकी लवजको अङ्ग्रेजी बोल्थिन् । उनी ‘समानान्तर’ अनुवादकमध्ये प्रतिभावान व्यक्ति थिइन् । अर्थात्, उनी चिनियाँबाट अङ्ग्रेजी अथवा अङ्ग्रेजीबाट चिनियाँमा सामान्यतः बोलेजस्तो तेजगतिमा अनुवाद गर्न सक्थिन् । कहिलेकाहीँ त तपाईँले अन्तिम वाक्य बोल्न पनि भ्याउनुभएको हुँदैन, उनले त्यसको अनुवाद भ्याइसकेकी हुन्थिन् ।
तीबाहेक अरू अनुवादकहरू मुख्यतः भर्खरका कलेज पढिभ्याएका विद्यार्थी थिए । उनीहरूले अङ्ग्रेजीलाई मुख्य विषय लिएर पढेका हुन्थे । (हाम्रा सम्पादकहरू भने अधिकांशतः चिनियाँ भाषा–साहित्य प्रमुख विषय लिएर पढेका व्यक्तिहरू थिए ।) पचास दशकको सुरुमा त्यो स्थान वा पदमा पुग्ने अधिकांश मानिस मध्यम वर्ग वा धनी परिवारका थिए । किनभने, पुरानो समाजमा विश्वविद्यालयको प्रवेशद्वारभित्र प्रवेश गर्न पुग्दो शिक्षा दिने क्षमता त्यो वर्गसँग मात्र थियो । तर, चीनको मुक्तिपश्चात् धेरैभन्दा धेरै मजदुर र किसानका छोराछोरी विद्यालय जान सक्ने भएपछि अवस्था क्रमशः बदलियो ।
मेरा चिनियाँ मित्रहरूसँग मेरो सम्बन्ध सुखद र सौहार्दपूर्ण थियो । उनीहरू अमेरिकाबारे धेरै कुरा जान्न उत्सुक हुन्थे । अनि मेरो अमेरिकी शैली देखेर उनीहरू कतिबेला अलमल पर्थे । खाजा र आरामको समयमा म उनीहरूसँग भकुण्डो खेल्थेँ । भकुण्डो खेल्दा मलाई कहिल्यै पनि आफूलाई अलगै ‘सम्मानित’ भएको अनुभव भएन । हामी आ–आफ्ना परिवारबारे खुलेर कुराकानी ग¥थ्यौँ । कार्यालयमा बलियो खालको पारिवारिक वातावरण थियो । हाम्रा केही सहकर्मीहरू कार्यालयकै छेउछाउ बस्थे र उनीहरूका केटाकेटी कार्यालयकै चमेनागृहमा खान्थे । ती केटाकेटीहरू कार्यालयकै वरिपरि केही न केही गरिरहेका हुन्थे । उनीहरू कहिले आफ्ना आमाबुबाले बिर्सेका सामान पु¥याउन आउँथे, कहिले घरको साँचो लिन आउँथे त कहिले आफ्नो लुगाको फुस्केको टाँक सिलाउन धरी कार्यालयमा झुल्किन्थे । घरमा केटाकेटी स्याहार गर्ने व्यक्ति बिरामी पर्दा वा कुनै कारणवश काममा नआउँदा त्यस्ता केटाकेटी दिनभर कार्यालयमै हुन्थे । उनीहरू रित्तो टेबुलमाथि कलम र कागजको खाली पाना बोकेर दिनभर खेलिरहेका हुन्थे । चिनियाँहरू केटाकेटी भनेपछि हुरुक्क हुन्छन् । केटाकेटीलाई उनीहरू असल व्यवहार गर्न जान्दछन् । केटाकेटीसँग मायाले केही बेर खेल्न उनीहरू जहाँ भए पनि केही बेर रोकिन्छन् ।
मेरा सहकर्मीहरू मेरो आवासमा आउँथे र म पनि उनीहरूका आवासमा भेट्न गइरहन्थेँ । म चिनियाँ शैलीकै घरमा बस्थेँ र मेरी श्रीमती, छोरी चिनियाँ नै भए पनि म समुदायमा विदेशी नै थिएँ । मलाई देख्दा मानिसहरू पक्क परेर हेरिरहन्थे ।
मेरा सहकर्मीहरूका घर विविध खालका थिए । मेरा दुवै सम्पादकहरू हाम्रै आवासमा जस्तै परम्परागत शैलीको परिसरमा बस्थे । तातोको लागि त्यहाँ कोइलाको चुल्होको बन्दोबस्त थियो । खाना पकाउन कोइला प्रयोग हुन्थ्यो । तर, उनीहरूका कोठामा रोजउडका सुन्दर फर्निचर निकै आकर्षक लाग्थ्यो । अलगै बगैँचा थियो । त्यहाँ अलगै गोप्यता र शान्ति थियो । युवक सहकर्मीहरू भने नयाँ खालका कोठा रुचाउँथे । नयाँखाले आवासमा वाष्प ऊर्जाको प्रयोग हुन्थ्यो । तातो पानीको बन्दोबस्त हुन्थ्यो । कतै कतै त ग्यासको समेत व्यवस्था हुन्थ्यो । कोठाहरू चिनियाँ शैलीका भव्य फर्निचरले सजाइएका हुन्थे । तर, मलाई त्यस्ता फर्निचर फिकाफिका लाग्थ्यो । खुलेर हाँस्ने हजुरआमाहरू र चिटिक्क परेका केटाकेटी, स्वादिलो चियासँगैको ताजा आतिथ्य, अनि बदाम वा मिठाइ वा फर्सीको बियाँ आदि परिवारको सबभन्दा उत्कृष्ट पाटो थियो । जसले वातावरणलाई निकै सुन्दर बनाएको हुन्थ्यो ।
वसन्त र शरद्कालीन पर्वको दिनमा हामी घुम्न जान्थ्यौँ । कहिले पश्चिम पहाड, कहिले ग्रेट वाल, कहिले ग्रीष्मकालीन दरबार त कहिले मिङ राजाको चिहानघारीमा जान्थ्यौँ । हामीले साथमा घरबाटै तयारी खाजा बोकेका हुन्थ्यौँ । अधिकांशतः खाजा केटाकेटीको इच्छाअनुसार हुन्थ्यो । कार्यालयका सबै कर्मचारी सहर छेउकै कुनै गाउँमा फसल उठाउन वा सिँचाइको कुलो खन्न वा जलाशय बनाउन श्रमदान गर्न जाँदा प्रायः म गएकै हुन्थेँ । मलाई पसिना बगाउन, हिलो मैलो हुन कति पनि अप्ठ्यारो लाग्दैनथ्यो । मेरो त्यस्तो तालबाल देखेर ठाँट पाराका मेरा बुढा सहकर्मीहरू जिल्ल पर्थे ।
सबै कुरा ठीकठाक भएर पनि कतिबेला हामीबिच केही ठाकठुक पनि भइरहन्थ्यो । त्यस्तो बेला म अलि रुखो हुन रुचाउँथे । म प्रायः ‘जे हुन्छ, हुन दिउँ’ खालको मनस्थितिबाट अघि बढ्थेँ । खास समस्या पत्ता लगाउने र त्यसको समाधान गर्नुभन्दा समस्यालाई अनावश्यकरूपमा लम्ब्याउने र त्यसकै वरपर घुमिरहने बानी मलाई गाह«ो लाग्थ्यो । अहिले पनि मसँग त्यस्तो बानी छैन । त्यस्तो बानीलाई म बठ्याइँ अथवा आफ्नो मुख जोगाउने चलाखी वा कतै विवादमा मुछिएला कि भन्ने भयको रूपमा बुझ्थेँ ।
तर, पछि मलाई लाग्यो–खासमा त्यो त्यति नराम्रो बानी रहेनछ । त्यस्तो गर्दा थोरै घर्षनबाट नै समस्याको समाधान हुन्थ्यो । एक जना अनुवादकले कोही सम्पादकप्रतिको कडा आपत्तिको अभिव्यक्ति लगभग यस्तो हुन्थ्यो, (म अलि अतिरञ्जना गरिरहेको छु कि) यो कथाको तपाईँले निकै मिहिनेत गरेर सम्पादन गर्नुभयो । मलाई ज्यादै खुसी लागेको छ । यस्तो विषयमा त म तपाईँसामु धुलो बराबर पनि हुन सकेको छैन । हो, कथाको मोही किसान पात्र धनी छ । यो एउटा सामान्य प्रश्न मात्र हो । यो खास चर्चायोग्य कुरा पनि होइन । तर, पहिला कहिल्यै साइकलसम्म चढ्ने हैसियत नभएको किसानले साइकल हात परेको दिन पुरै स्वचालित कारको सपना देख्नु अलि पात्र विन्यास नमिल्नु हो कि ? यो मेरो सामान्य सोचाइ मात्र हो । तपाईँले विचार पु¥याउनु होला भनेर उल्लेखसम्म गरेको हुँ ।”
‘समय नै सम्पत्ति हो’, ‘जे गर्नु छ, अहिले नै गरिहाल’ जस्ता भनाइ सुनेर हुर्केका पश्चिमाहरूको निम्ति चीनको जीवनशैली हतास पार्ने खालको थियो । तर, चिनियाँहरू त्यसैमा अभ्यस्त थिए र त्यसैमा रमाउँथे । उनीहरू भिन्न पाराले तर ज्यादै मसिनोसँग यस्तो जीवनशैलीमा अभ्यस्त थिए । विद्युत्तीय उपकरणको सानो किल्ला चलाउँदा मात्र पनि ध्वनि ठुलो हुन्छ । तपाईँले आफ्ना दुवै हातले पियानोका सबै पुर्जामा थिचेजस्तै थिचिरहनपर्दैन ।
मलाई सबभन्दा बैराग लाग्ने कुरा भनेको शक्तिको पूजा गर्ने प्रवृत्ति थियो । आफूभन्दा माथिल्लो पद, शक्तिशाली र ठूलाको बिना सन्देह र प्रश्न अन्धानुशरण गर्ने कन्फुसियसकालीन शताब्दी अघिको प्रवृत्ति र सोचाइ मानिसमा अद्यपि बाँकी थियो । मलाई सम्झना छ, हाम्रो चाइनिज लिट्रेचरको एउटा लेखमा केही विशेषणबारे प्रश्न गर्दा जवाफमा भनिएको थियो, “तर, पिपुल्स डेलीमा त यस्तै लेखिएको छ ।”
माओ त्सेतुङले भनेका छन्, “कथित उच्च विवेकप्रति विवेकहीन अन्धानुकरण प्रगतिको बाधक हो ।” माओले त्यस्तो प्रवृत्तिको विरोधमा धेरै वर्ष लडे । उनी भन्थे, “बारम्बार किन भन्ने प्रश्न गर्नु ।” (यो आलेख अनलाइन मजदुरमा पनि प्रकाशित छ ।)
समाप्त
नेपाली भावानुवाद : नीरज