सितु
साहित्यमा नियात्रा विधा धेरैका निम्ति प्रिय मानिन्छ । घुमघाम धेरैका निम्ति अभिरूचिको विषय हुँदाहँुदै कममात्रले अवसर या फुर्सद पाउने हुनाले धेरै मानिसले नियात्रा पढेर आफ्नो प्यास मेट्ने गर्दछन् । घुमफिर गर्दाको अनुभव या प्रभाव कसैलाई नबताई या कसैका निम्ति नलेखी बस्न सक्ने यात्रीहरू सायदै मात्र होलान् ¤ परिणामस्वरूप यात्रासम्बन्धी रचनाहरू जन्मिन्छन् । लेख्नका निम्ति भ्रमण गर्नेभन्दा पनि भ्रमण गरिसकेपछि कसैको आग्रह या जोडबलका कारण यस्ता साहित्य जन्मिने गरेको यथार्थ सुन्नपढ्न पाइन्छ । कतिपय अवस्थामा नियात्रा साहित्य व्यवस्थित नहुनाको कारण यही हुनुपर्छ । कतिपय ‘व्यवस्थित’ नियात्रा पढ्दा अस्वाभाविक लाग्छ किनभने त्यो ‘पूर्व निर्धारित ढाँचा’ मा कैद हुन्छ । कृत्रिमताको अंश नभएको नियात्रा रोचक–घोचक, ज्ञानबद्र्धक तथा पढ्दा आपैmँ एक सहयात्री बनेको अनुभूति मिल्छ । कतिपय नियात्रामा ‘स्रष्टा–यात्री’ आफू एक्लै कुदिरहेको हुन्छ तर ‘पाठक–यात्री’ कहिले कहाँ छुट्यो या झ¥यो पत्तो नै हुँदैन । नियात्रा ‘ट्रलि बस’, ‘साझा बस’ को यात्रा नभई ‘तीर्थ यात्रा’ हो जहाँ कुनै पनि यात्री गन्तव्य पुग्न अगावै छुट्दैनन् या झर्दैनन् । आजको यात्रा वर्णन भोलिका लागि इतिहास बनेका कैयौँ उदाहरण भेटिन्छन् ।
आजभन्दा ७५ वर्ष अगाडि भारतीय एक बौद्ध भिक्षुले नेपाल भ्रमण गरे । विशेषगरी उनले काठमाडौँ उपत्यका, बनेपा, पनौती, पोखरा, पाल्पा, बुटवल, लुम्बिनी र मुस्ताङको भ्रमण गरे । नमोबुद्ध, बौद्ध, स्वयम्भू, नागार्जुनलगायत विभिन्न स्थान तथा चैत्यमा विशेष समय बिताए । बौद्ध दर्शनबारे ठाउँ–ठाउँमा प्रवचनसमेत दिए । १ मार्च १९४८ मा भारतबाट चार जनाको टोली बनाएर नेपाल आएर २५ अप्रिलसम्म रहँदा बस्दा र घुम्दाका तीता–मीठा अनुभवको सङ्गालो नै ‘त्यो समयको नेपाल’ हो ।
त्रिपिटकाचार्य डा. भिक्षु धर्मरक्षितले नेपाल यात्रा आफू २५ वर्षको जवान छँदा गर्नुभएको हो । एक जवान बौद्ध भिक्षुको आँखामा नेपालको तत्कालीन वस्तुस्थिति र नेपालीको जनजीवनको वर्णन यस पुस्तकमा पाइन्छ । मूलतः सामाजिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक विषयवस्तुमा केन्द्रित यो पुस्तकमा कहीँकतै राजनीतिक छलफलमा प्रवेश गर्ने प्रयास गरिएको भेटिन्छ । इतिहास, सभ्यता, सम्पदा, पुरातत्व र बौद्ध दर्शनबारे विशिष्ट ज्ञान राख्ने भिक्षुले यी नै क्षेत्रका अन्वेषकहरूका निम्ति उपयोगी पुस्तक तयार पारे । उहाँको यो महत्वपूर्ण देन मान्नु अतियुक्तिसम्म नहोला । यद्यपि, यो पुस्तक आलोचनाबाट मुक्त हुने सम्भावना कमै मात्र छ । ‘भारतीय अहङ्कार’ तथा नेपालप्रति ‘हेपाहा दृष्टिकोण’ कहीँकतै झुल्किनु भिक्षुको मौलिक विचार नभई पुस्तक प्रकाशनपूर्व सम्पादनका क्रममा हुन गएको ‘दुर्घटना’ हुने अनुमान गर्ने ठाउँ बाँकी छ भन्न सकिन्छ । अथवा, बेलायती–भारतले तयार पारेको इतिहासलाई नै अन्तिम सत्य मान्दाको ‘दुष्परिणाम’ भन्नु तर्कसङ्त होला ¤ साथै इतिहाससँग जोडिएका तथ्य–तथ्याङ्कमा भएका केही त्रुटिहरूमा आँखा चिम्लिने हो भने पुस्तक अमूल्य मान्न सकिन्छ ।
‘नेपालको बाह्य देशसँग सम्बन्ध’ मा भिक्षु लेख्छन्– ‘त्यतिखेर (प्राचीनकालमा) नेपाल भारतकै एक अङ्ग थियो । र, पछि पनि धेरै समयसम्म नेपाल भारतकै अङ्ग बनिरह्यो ।’ ‘नेपाल राज्य’ खण्डमा भिक्षु लेख्छन्, “अशोक कालमा ईसापूर्वको तीन सय वर्षअगाडि सारा नेपाल भारतका सम्राट अशोकको अधीनमा थियो ।” (पृ.– ८५) भिक्षुको यो भनाइबारे नेपाली इतिहासका जानकारहरूले सत्यतथ्य प्रस्तुत गर्ने विश्वास छ । हुन त यो पुस्तक हिन्दीबाट नेपाली भाषामा अनुदित हो । सम्भवतः यस पुस्तकको मूल कपी या हिन्दी संस्करण सर्वसुलभ छैन ।
त्यसैगरी सोही खण्डमा भिक्षु लेख्छन्– ‘भादगाउँका राजा जयप्रकाशलाई मारेर पृथ्वीनारायणले नेपालको पुरानो राजवंशलाई समाप्त गरेर गोरखा राज्य स्थापित गरे । (पृ. – ८८) पक्कै पनि यो अनुवादको समस्या मात्र होइन । भिक्षुलाई जानकारी दिने व्यक्तिको गल्ती भएको हुनुपर्छ । इतिहासका पाठकहरूलाई थाहा भएकै कुरा हो, जयप्रकाश कान्तिपुरका राजा थिए तर उनको हत्या पृथ्वीनारायणको भक्तपुर हमलाको क्रममा भएको थियो । साथै जयप्रकाशलाई मारेर गोरखा राज्य स्थापित ग¥यो भन्नु पनि सच्चाइ होइन ।
यस पुस्तकका ठाउँ–ठाउँमा नेपाली वनजङ्गलमा सिंह पाइने र राणाहरू सिंह सिकार गर्थे भनी उल्लेख गरिएको छ । उनी ‘नागार्जुन शिखर र गुफा’ खण्डमा लेख्छन्, “नागार्जुन पर्वतको अर्को नाम ‘जामा चो’ पनि हो । यो पर्वतको जङ्गलमा बाघ र सिंह पनि पाइन्छन् ।” (पृ. – ५७) ‘नेपाली खानपान र वेशभूषा’ मा भिक्षु धर्मरक्षित लेख्छन्, “राणाहरू पनि सिकारमा खुबै रूचि राख्छन् । उनीहरू सिंहको सिकार गर्छन् ।” (पृ. – ११७) जानकारी लिँदादिँदा कहाँ चुके, त्यसै भन्न सकिन्न । संसारलाई थाहा छ कि नेपालमा सिंह पाइँदैन । नेवारहरूले भैंसीको मासु खाने प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएको छ । भिक्षुले कसलाई अनुवादक या सहयोगी बनाए, त्यो पनि उल्लेख भएको भए धेरै कुरा सजिलै प्रस्ट हुने थियो ।
यही खण्डमा एउटा मननीय विषय भिक्षु उल्लेख गर्छन्, “नेपालका नेवार जाति खुबै मदिरा पिउँछन् । ब्राह्मण, क्षत्रीयजस्ता जातका मानिसहरू मदिरा पिउनेलाई घृणा गर्छन् । मैले आफ्नो यात्राकालमा नेवार जातिका घरको कुनामा मदिरा भरिएका मट्का देखेको थिएँ ।” भिक्षु अगाडि लेख्छन्, “नेवारी कन्याहरू विभिन्न प्रकारका मदिरा बनाउन पोख्त नभएसम्म उनीहरूको विवाह गरिँदैन । विवाहपछि पनि नेवारी कन्याहरूले पतिको घरमा पहिलो दिन मदिरा बनाउनुपर्छ । घरपरिवारले नवबधुले बनाएको मदिरा पिएर उनको पाककलाको जाँच गर्छन् ।” धेरैका निम्ति यी विषय अनौठा लाग्न सक्छन् । ७५ वर्ष अगाडिको परम्परा र अहिलेको परिस्थितिमा परिवर्तन निकै नै आइसकेको छ ।
‘नेपालको भाषा र नेवारी साहित्य’ खण्डमा भिक्षुले लेखेका छन्, “भारत र नेपालको सम्बन्ध प्राचीनकालदेखि नै रहिआएको छ । भारतीय संस्कृति र सभ्यताले नेपालको जीवन माथि उठाएको छ । नेपाली साहित्यले पाएको गौरव, नेपाली साहित्यसँग भएको अमूल्य निधि भारतीय विचारकै देन हो ।” (पृ. – १३२) यहाँनिर पनि ‘बडाराष्ट्र अहङ्कार’ तथा ‘ठूल्दाइ’ प्रवृत्ति छचल्किएको पाठकले अनुभव गर्नेछन् । यस अखण्डमा एउटा मननीय विषय उजागर गरिएको छ, “हड्सनले नेपालबाट संस्कृत भाषामा लेखिएका बौद्ध धर्मका अनेक ग्रन्थ फेला पारेका थिए । तर, दुर्भाग्य जुन जहाजमा यी सबै पुस्तकको पहिलो प्रति पठाइयो त्यो जहाज समुद्रमा डुब्यो । तर पनि निरास नभइकन हड्सनले आफूले पढेका किताबको नक्कल उतारे ।” (पृ. – १३३) जहाज कहिले, कहाँ र कसरी डुब्यो, खुल्दुली लाग्नु स्वाभाविक छ । इतिहासका जानकारहरूले यथार्थ सर्वसाधारणबिच समेत राख्ने विश्वास लिन सकिन्छ ।
‘नेपालमा दुई हजार सात सय ३३ त उल्लेखनीय तीर्थ क्षेत्र र मन्दिर’ भएको भिक्षु दाबी गर्दछन् । गोसाईँथान र तिब्बतको मानसरोवर जाने तीव्र इच्छा हुँदाहुँदै जान नपाएकोमा भिक्षु दुःख व्यक्त गर्छन् । त्रिशुली नदीको ‘शुद्ध र शीतल जल’ देखेपछि २९ दिनपछि साबुन लगाएर नुहाएको प्रसङ्ग पनि रोचक छ । भिक्षु लेख्छन्, “नेपाल उपत्यकामा चिसोका कारण मैले नुहाउन सकेको थिइनँ ।” (पृ. – १५४) यस भनाइले तत्कालीन काठमाडौँ उपत्यका र मौसमबारे अनुमान लगाउन सघाउँछ ।
भिक्षु नेपालको प्राकृतिक सौन्दर्यप्रति मोहित भएको ठाउँ–ठाउँमा गरिएका वर्णनबाट स्पष्ट हुन्छ । हिमाल, पर्वत, वनजङ्गल, खोलानाला, तलाउ र वन्यजन्तुबारे मात्र होइन मानवबस्ती, बजार, मठ–मन्दिर तथा चैत्य–विहारबारे उनले सकारात्मक टिप्पणीहरू गरेका छन् । मानिसहरूको जीविकोपार्जन तथा आयआर्जन, पेसा तथा व्यवसाय, हावापानी, सामाजिक–आर्थिक संरचना आदिबारे पनि अभिरूचिपूर्वक अध्ययन गरेको पुस्तकका विभिन्न अध्यायले स्पष्ट पार्दछ । भिक्षुले हरेक बस्तीमा फोहरमैलाको गम्भीर समस्या रहेको औँल्याएका छन् । बाग्मती, विष्णुमतीको जलप्रवाह र हरिया फाँटलाई मानिसका बस्तीको दुर्गन्धले गिज्याइरहेको आभास उनले गरेको पाइन्छ ।
काठमाडौँ नगरबारे भिक्षु लेख्छन्, “नगरमा म्युनिसिप्यालिटीको व्यवस्था भए पनि नगर भने फोहरले भरिएको छ । सरसफाइको कुनै व्यवस्था छैन ।” (पृ.– ४५) उनी अगाडि लेख्छन्, “आनन्दकुटीबाट काठमाडौँ जाने बाटोमा पर्ने विष्णुमती पुलमा पुगेपछि नाक नछोपी हिँड्न सकिँदैन । यहाँका गल्लीमा सडेगलेको चिज, फोहोर यत्रतत्र छरिएको हुन्छ । घिनै लाग्ने गरी गल्लीभरि फोहोर छरिएको हुन्छ । कति टोलमा त यहाँ खुलेआम भैँसी, राँगा पनि काटिन्छन् । एकदिन त मैले बाटैमा एक ठूलो भैँसी काटिरहेको देखेँ । त्यसपछि म त्यो बाटो कहिल्यै हिँडिनँ ।” (पृ.– ४५)
काठमाडौँ र शासकबारे ‘खास नेपाल’ मा भिक्षु भन्छन्, “अन्न, जलले भरिएको यो नगरबासीलाई राणाशाही शासकले सुधारात्मक तरिकाले शासन गर्थे र जनताको हितमा काम गर्थे भने खेतमा सुन फलाउने यहाँका किसान दुःखी हुन्थेनन् ।” (पृ.– ४७) तत्कालीन परिस्थिति र जनताको जीवनबारे कडा शब्दको प्रयोग नगरी उनले पुग्दो प्रहार गरेका छन् ।
पाटनका चैत्य र विहारहरू घुम्दा भिक्षु खुसी हुन्छन् र आनन्दको अनुभव गर्छन् । उनी लेख्छन्, “पाटन नगरको बिचमा पुरानो राजमहल छ । तर, अब त्यसमा त्यो पुरानो रौनक कहाँ बाँकी रह्यो र ? गल्लीहरूमा ओछ्याइएका इँटा हेर्दा, थाहा हुन्छ कुनै समय यो नगर समृद्ध थियो भन्ने ।” (पृ.– ५२) यद्यपि, सरसफाइको बन्दोबस्त पटक्कै नभएको देख्दा उनी उदेक मान्छन् । भिक्षु भन्छन्, “यहाँका गल्लीहरू काठमाडौँको भन्दा पनि बढ्ता फोहोर छन् । नगरमा यत्रतत्र पानीका धारा र बिजुलीका तार देखिन्छन् । घरहरू एक–आपसमा जोडिएका छन् । यो सहरको आवादी घना छ ।” (पृ.– ५२)
पाटनमा भिक्षु अश्वघोषको परिवारसँग बसेर खाना खान पाएर उनी प्रसन्न हुन्छन् । अश्वघोषलाई उनले कुशीनगरमा हिन्दी सिकाएका थिए । साथै (श्री) लङ्का पनि सँगै गएका थिए । लङ्कामा अश्वघोषलाई हिन्दी र पाली भाषामा पढाएका थिए । भिक्षु धर्मरक्षित अश्वघोषको परिवारबारे लेख्छन्, “हामीले हिजो खाएको खाना पनि अश्वघोषको परिवारले नै पकाएका थिए भन्ने थाहा पाएपछि झनै प्रसन्न भएँ । अश्वघोषको परिवार यहाँको ठूलो श्रद्धालु, बौद्ध गृहस्थी हुन् । त्यसैले त उनीहरूले आफ्नो विवाहित पुत्रलाई नै भिक्षु सङ्घमा पठाएका थिए । भिक्षु सङ्घमा गएकै कारण उनकी स्त्री अनाथजस्तै भएकी थिइन् ।” (पृ.– ५४)
मार्च १५ को दिन भिक्षु आफ्ना साथीहरूसँगै भक्तपुर पुग्छन् । ‘भादगाउँ’ अध्यायमा भिक्षु यसरी लेख्छन्, “कान्तिपुरबाट मोटरकार वा बसको प्रबन्ध गर्ने प्रयास गरेका थिए, उपासकहरूले । तर, तेलको अभाव भएकाले मोटरकार र बस केही पाइएन । अब हामी हिँडेरै भादगाउँ जाने भयौँ । साथीहरू त मोटर नभई जान सकिँदैन भनिरहेका थिए ।” (पृ.– ६७) भिक्षु भक्तपुरबारे प्रारम्भिक टिप्पणी यसरी गर्छन्, “यो नगर पनि कान्तिपुर र पाटनजस्तै सुन्दर छ । तर, यहाँ ठूला दोकान छैनन् । यहाँ पनि बिजुलीको प्रबन्ध भने छ ।” (पृ.– ६८) नगरमा १८ वटा विहार भएको र नगरको पश्चिमी भागमा अत्यधिक चैत्य रहेको उनले उल्लेख गरेका छन् । “यहाँ पनि यत्रतत्र फोहोर र शौच भरिएको छ । यहाँ त हरेक गल्लीमा सुँगुर डुलिरहेका हुन्छन् ।” (पृ. – ६९) यस भनाइबाट भक्तपुरको विगतको अवस्थाबारे अनुमान लगाउन सकिन्छ । उनै भिक्षुले आजको परिवर्तन देख्न सक्थे भने ? अब कल्पना मात्र गर्न सकिन्छ !
भिक्षुले प्राचीनकालमा सिङ्गै बनेपा बौद्ध बस्ती भएको उल्लेख गरेका छन् । त्यस्तो ठाउँमा समेत विहारहरू अलपत्र परिसकेको र सुन्दर मूर्ति तथा चैत्यहरूको सुरक्षा गर्ने मानिससमेत नभएकोमा दुःख व्यक्त गरेका छन् । विहारहरूको दयनीय अवस्था देखेर उनी खिन्न भएको देखिन्छ ।
भिक्षु जहाँ पुग्छन् त्यहाँ प्राकृतिक सुन्दरता पाउँछन् । तर, फोहोरमैलाले उनलाई चिन्तित तुल्याएको प्रस्ट छ । पनौतीबारे उनी लेख्छन्, “नदीले घेरिएको छ पनौती गाउँ । उत्तरमा निलावती नदी छ । यो नदीमा काठ र तारले बनेको लचकदार पुल छ । दक्षिणमा पद्मावती नदी छ । नदीले घेरिएका कारण यो गाउँको प्राकृतिक सुन्दरता झनै बढेको छ । तर, गाउँ फोहोरले भरिएको छ । गाउँमा सरसफाइ भने शून्य बराबर छ । मानिसहरू आफ्नो घरअगाडि नै खाल्टो खनेर फोहोर थुपार्ने गर्छन् । बाटोभरि कुहिएका वस्तु भेटिन्छन् । नाक खुलै राखेर त गाउँमा हिँड्न पनि सकिँदैन । यहाँको चिसो मौसमका कारण, फोहोर भए पनि मलेरियाको प्रकोप आउँदैन ।” (पृ. – ८१)
छोटो समयकै भ्रमण, भेटघाट तथा अवलोकनमा उतारिएको भए तापनि दृश्यचित्र त्यति कमजोर देखिँदैन । भिक्षुको वर्णन शैली सरल, सङ्क्षिप्त तथा जानकारीमूलक भएको पाठकले अनुभव गर्नेछन् । छोटो समयमा महत्वपूर्ण जानकारी हासिल गरी सङ्क्षेपमा पाठकका लागि निम्नत्तम आवश्यक विवरण दिन सक्नु लेखकको सफलता मान्न सकिन्छ ।
‘नेपाल राज्य’ अध्यायमा भिक्षुले लेखेका शब्दबाट उनको मनभित्रको उकुसमुकुस तथा तत्कालीन नेपाली शासक वर्गप्रति आक्रोशको तह बुझ्न सकिन्छ । उनी भन्छन्, “पाटनदेखि काठमाडौँसम्मको यात्रामा मैले निकै ठूला पर्खालले घेरिएका ठूलाठूला महल देखेँ । यी पर्खालभित्र नेपालका राणा वंशका महामन्त्री (महाराज वा प्रधानमन्त्री) का निवासस्थान थिए । यी पर्खालभित्र नेपालवासीको शोषण गरेर, उनीहरूका रगततुल्य पैसा चुसेर उभ्याइएका महल छन् । नेपालको सुन्दर भविष्य यिनै लोभीहरूले आफ्ना पर्खालभित्र छोपिएका घरमा लुकाएर राखेका छन् ।” (पृ.– ९०) यति कम शब्दमा नेपाली शासकहरूको दुष्ट प्रवृत्ति र नेपाली जनताको दुरवस्था प्रस्तुत गरिएको छ । यी शब्द ७५ वर्ष अगाडिका शासकविरूद्ध ओकलिएका नभई आजका शासकको चित्रण गर्ने क्रममा उतारिएका हुन् कि भन्ने पाठकलाई लागेमा त्यो अस्वाभाविक हुनेछैन । हिजो र आजका शासकहरूमा कुनै तात्विक भिन्नता देखिन्न । हिजोका राणाकै सन्तानहरूको नियन्त्रणमा छ सत्ताको बागडोर ।
तानसेन बजार पुग्दा भारतीय भिक्षु धर्मरक्षितलाई एउटा विषयले अत्यन्त चिन्तित तुल्याउँछ । उनको मन पोल्छ । त्यही क्रममा उनी लेख्छन्, “यहाँका नेवारहरू आफ्नो मातृभाषा बोल्न भने लाज मान्छन् । कतिपयले त आफ्नो मातृभाषा नै बिर्सिसके । यो कुरा थाहा पाएपछि मलाई खल्लो लाग्यो । नेपालको सर्वश्रेष्ठ भाषा बोल्नु पनि के लाज मान्नु त । आफ्नो मातृभाषा बोल्ने लाज मान्ने प्रवृत्ति छोडेर नेवारी भाषा उत्थानमा सहयोग गर्नुपर्छ । नेवारहरूले नै नेवारी भाषा बोल्नुपर्छ, यसो गरेमा उनीहरूको भाषा, संस्कृति र बौद्ध धर्म दीर्घकालसम्म रहन्छ ।” (पृ. –१८४)
अप्रिल २३ मा भिक्षु बुटवल वास बसे । बुटवलमा १५ जति घर बौद्ध धर्मावलम्बी रहेको र बाँकी सबै हिन्दू र मुसलमान रहेको उल्लेख गरेका छन् । भिक्षु बुटवलको चित्र शब्दमा यसरी उतार्छन्, “व्यापारिक केन्द्र भए पनि यो सहर निकै फोहोर छ । नाक नछोपी बाटोमा हिँड्न सकिँदैन । मच्छडको त यहाँ राज्य नै छ । बुटवलवासी तिनाउ नदीको पानी पिउँछन् । त्यही खोलामा नुहाउँछन्, त्यही किनारमा शौच पनि गर्छन् । त्यसमाथि नदीको दुबै किनारा फोहोरले भरिएका छन् । यही कारण प्रत्येक वर्ष गर्मीमा यहाँ हैजा फैलिन्छ । सयौँ मानिस अकालमा मर्छन् ।” (पृ.– १८६) ती कुरा स्मरण गर्दा आज पनि हामीलाई असजिलो अनुभव हुन्छ ।
भारतीय भिक्षु धर्मरक्षितले भारतको कुशीनगरबाट यात्रा आरम्भ गरी ५५–५६ दिन नेपालका गाउँ–सहर डुले, विभिन्न मानिससँग भेटे र ठाउँ–ठाउँमा धर्मोपदेश पनि दिए । नेपालमा प्रजातन्त्र आउनु अगाडि आएका भिक्षुले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक आँखाबाट नेपाल नियाल्ने कोसिस गरे । उनले राणा, शाह, मल्लकाल र प्राचीन नेपालको सङ्क्षिप्त इतिहास पस्कने कोसिससमेत गरेका छन् । ‘आधुनिक भारतमा बौद्ध धर्मको पुनरूत्थान गर्ने महत्वपूर्ण व्यक्ति’ को चिनारी पाएका त्रिपिटकाचार्य डा. भिक्षु धर्मरक्षितको ‘त्यो समयको नेपाल’ एउटा सानो आँखीझ्याल हो जहाँबाट पुरानो नेपालको अंश नियाल्न टेवा पु¥याउनेछ ।
३१ वैशाख, २०८० (श्रोतःअनलाइन मजदुर)