“अर्काको खुसीमा नै आफ्नो खुसी देख्ने कुनै नारी थिइन् भने त्यो जेनी मार्क्स हुनुहुन्थ्यो ।” – फेडरिख एङ्गेल्स
“दुःखले मानिसलाई स्पात बनाउँछ, प्रेमले मानिसलाई उत्साहित गर्छ” भन्नुहुने जेनी माक्र्सको सम्पूर्ण जीवनले यही कथनलाई प्रमाणित गर्दछ । उहाँले जीवनमा भोग्नुपरेका दुःख र पीडाहरूले हामीलाई पनि आफ्नो दुःख, दर्दहरू सम्झाउँछन् र त्यसलाई सहनसक्ने शक्ति प्रदान गर्दछन् तथा माक्र्स जेनीबिचको प्रेमले हामीलाई जीवन यात्रामा प्रेमको शक्ति कस्तो हुन्छ भन्ने कुरा बुझ्न र महसुस गर्न सहयोग गर्दछन् ।
बाल्यकाल :
वैज्ञानिक साम्यवादका प्रणेता तथा महान् दार्शनिक कार्ल मार्क्सकी जीवन सङ्गिनी जेनी वोन वेस्टफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलमा रहेको एउटा सभ्रान्त परिवारमा सन् १८१४ को फेब्रुअरी १२ मा भएको थियो । उहाँको पिता बारेन लुडभिग वोन वेस्टफालेन प्रान्तीय कन्सुलर थिए । उनी ज्यादै सुसंस्कृत र उदार विचारधारा भएका व्यक्ति थिए । उनले सामाजिक समस्याहरूप्रति पनि यथेष्ट अभिरुचि राख्दथे । जेनीको जन्मपश्चात् ट्रिरमा उहाँको सरुवा भयो । त्यहाँ उहाँको मार्क्स परिवारसँग परिचय भयो । बालिका जेनी वोन वेस्टफालेन आफ्ना स्कूले साथी सोफियाको भाइ र आफ्नो भाइ एड्गोरको साथी कार्ल मार्क्स सँगसँगै खेल्ने गर्नुहुन्थ्यो । बाल्यकालमा सँगसँगै खेल्दा सुरु भएको उहाँहरूको बाल प्रेम विस्तार विस्तार हरेक दिनको सूर्योदयसँगै फक्रँदै गयो र प्रत्येक रातको नीरवतासँगै प्रगाढ बन्दै गयो जसको नतिजास्वरूप उहाँहरू युवावस्थामा पाइला टेक्दा नटेक्दै एक अर्कोप्रतिको प्रगाढ प्रेमका कारण उहाँहरू आफ्नो प्रेमका खातिर कुनै पनि मूल्य चुक्ता गर्न पछि नपर्ने हुनुभयो ।
उच्च जीवनयात्राको कठिन मार्ग :
बालककालदेखि बालसखा बिचको प्रेमको रूपमा सुरु भएको जेनी र कार्ल मार्क्सबिचको बालप्रेम जेनी २१ वर्षको र मार्क्स १७ वर्षको हुँदा युवा युवतीबिचको प्रेममा परिणत भयो, प्रेमको कोपिला फक्रँदो सुगन्धित फूल बन्यो । जसको परिणामस्वरूप उहाँहरूले सन् १८३६ को गृष्मकालमा विवाह गर्नुभयो जुन विवाह सम्बन्धले परिवारका सदस्यहरूसँगको उहाँहरूको सम्बन्धमा गतिरोध ल्याउन सक्दथ्यो । त्यसमा पनि विशेषगरी अभिजात वर्गका जेनीका मातापिताहरूको लागि अस्वीकार्य हुनसक्ने सम्भावना थियो । त्यसैले उहाँहरूले यस विवाहलाई औपचारीकरूपले सार्वजानिक गर्नुभएन ।
तीक्ष्ण बुद्धि, सुशीलता र उत्कृष्ट आचरणकी धनी जेनी वोन वेस्टफालेनरूपमा पनि अनुपम हुनुहुन्थ्यो जसको कारण उहाँले मार्क्सजस्तो विलक्षण प्रतिभालाई आफ्नो जीवन साथी बनाउन सफल हुनुभयो भने युवा मार्क्स आफ्नो बौद्धिकताद्वारा जेनी जस्ति सुन्दरतम् नारीलाई आफ्नो जीवन साथी बनाउन सफल हुनुभयो ।
जीवन सङ्गिनी जेनीको अगाध प्रेम र जेनीसँग छुट्टिएर बर्लिनमा बस्नुपर्दाको बिछोडको असहनीय पीडाबोधले कार्ल मार्क्सलाई ‘प्रेम कथा’, ‘गीति काव्य’ जस्ता भावपूर्ण साहित्यिक कृतिहरूको रचना गर्ने प्रेरणा मिल्यो जुन साहित्यिक कृतिहरू मार्क्सको आफ्नै शब्दमा ‘मेरी प्रियतमा, जेनी वोन वेस्टफालेनलाई अनन्त प्रेमसहित’ समर्पण गरिएका थिए ।
विवाह र नयाँ जीवनको सुरूवात :
युवा माक्र्सले जुन पत्रिकामा काम गर्नुहुन्थ्यो सो पत्रिका रिनिस्ये जीटुङ (राइन पत्रिका) लाई त्यहाँको प्रतिक्रियावादी सरकारले प्रतिबन्ध लगाएपछि त्यस पत्रिकालाई उदार बनाउने शेयरधनीहरूको सोचाइप्रति आफ्नो असहमति जनाई मार्क्सले १८४३ मार्च १७ मा राजीनामा दिनुभएको थियो र जर्मनी बाहिर त्यस्तै पत्रिका निकाल्ने योजना बनाउनुभएको थियो । पत्रिका पेरिसबाट निस्कने निश्चित भयो । उहाँले जर्मनी छाड्ने निश्चय गरे तापनि जेनी वोन वेस्टफालेनलाई एक्लै जर्मनीमा छाडेर उहाँ बाहिर जाने कुरा सोच्नसम्म सक्नुहुन्थेन । त्यसैले उहाँहरूले १९ जून, १९४३ का दिन जर्मनीको एउटा सानो सहर क्रेइचनाखमा विधिवतरूपमा विवाह गर्नुभयो । मार्क्ससँगको विवाहपश्चात् जेनी वोन वेस्टफालेन मार्क्सको कठोर जीवनमा एक भरपर्दी सहयात्री, बफादार मित्र तथा सङ्घर्षको सहयोद्धा बन्नुभयो ।
जेनीले कार्ल माक्र्ससँग विवाह गरेर नयाँ जीवनको सुरुवात गर्नुभयो । आफूले २१ वर्षसम्म बिताएको जीवन पद्धतिभन्दा नितान्त भिन्न, निश्चित उद्देश्य र लक्षप्रति अविचल तर कठिनाइ र अभावहरूले भरिपूर्ण जीवन । विवाहपश्चात् उहाँहरूले केही समय राइन नदीको यात्रा गर्नुभयो । त्यसपछि अक्टोबरमा उहाँहरू पेरिस पुग्नुभयो ।
कठिन वर्षहरूको सुरुवात :
कार्ल मार्क्स र जेनी पेरिस पुग्नु भएपछि उहाँ (माक्र्स) ले पत्रिका निकाल्न सुरु गर्नुभयो । सन् १८४४ मे १ मा जेनीले आफ्नी जेठी छोरी जेनी जन्माउनु भयो । त्यसबेला पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसकारण, उहाँहरूको आर्थिक स्थिति ज्यादै नाजुक थियो । यसैबिच १८४५ को सुरुमा उहाँहरू बस्नुभएको घरमा अचानक प्रहरी आएर मार्क्सलाई ‘२४ घण्टाभित्र पेरिस छाड्न’ प्रसियाली सरकारको आदेश सुनाएर गयो । तर, जेनी मार्क्सलाई पेरिस छाड्न भनिएको थिएन । जेनीले यस अवसरमा आफ्ना सामानहरू बेचेर केही पैसा जम्मा गर्नुभयो । यहाँबाट उहाँहरू ब्रसेल्समा सर्नुभयो । ब्रसेल्सको बसाइँमा एकदिन राति २ जना मानिसहरू उहाँहरू बस्नुभएको घरभित्र पसे र कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यालयमा लगे । सोही राति माक्र्सलाई छुटाउन जेनी यताउता दौड्ने क्रममा उहाँलाई पनि प्रहरीले गिरफ्तार गरे र भिखारी, लफङगा, देहव्यापारी आइमाईहरू राखिएको कालो कोठरीमा राखियो । त्यहीँ उहाँले एकजना पुरानो साथी जीगोरलाई देख्नुभयो । जीगोरले जेनीलाई तलतिर हेर्न इसारा गरे । जेनी झ्याल नजिक गएर हेर्दा कार्ल माक्र्सलाई सैनिकहरूले पहरा दिई अन्यत्र लग्दै गरेको देख्नुभयो । २/३ घण्टाको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्तमा उहाँलाई हिरासतबाट मुक्त ग¥यो ।
माक्र्स परिवार जहाँ जहाँ जान्थ्यो, त्यहाँबाट चाँडै नै लघारिन्थ्यो । उहाँहरू १८४५ मा पेरिसबाट, १९४८ मा ब्रसेल्सबाट, १८४९ मा क्योलनबाट र अगस्त १९४९ मा फेरि पेरिसबाट निर्वासित हुनुपर्यो । बसाइँ सर्नका लागि उहाँहरूसँग पैसा हुन्थेन । एकपटक त जेनी गर्भवती भएको बेलामा निर्वासित हुनुपरेको थियो । यस्तो अवस्थामा पनि बाध्य भएर गर्भवती पत्नी र बच्चीहरूलाई एक्लै छाडेर मार्क्स २६ अगष्टको दिन लण्डन पुग्नुभयो ।
एक पछि अर्को निर्वासनका कहिल्यै नटुङ्गिनेजस्ता श्रृङ्खलाहरू र खस्कँदो आर्थिक अवस्थाले मार्क्सलाई कहिल्यै विचलित गर्न नसक्नुका पछाडि जेनी जस्ति सबै किसिमका दुःख कष्ट सहन सक्ने सहनशील र आफ्नो लोग्नेले लिएको बाटो महान् बाटो हो र यसले संसारभरिका श्रमिक वर्गलाई सबै किसिमका शोषणहरूबाट मुक्त गराउँछ भन्ने दृढ विश्वास भएकी जीवन सङ्गिनीको साथ र उनको अगाध प्रेमले प्रमुख भूमिका खेलेको थियो भन्दा सायदै अतिशयोक्ति होला ।
माक्र्सको महान् खोजकार्यमा आर्थिक विपन्नता र पारिवारिक बिछोडका व्यथाहरूले सधैँ नै अवरोध खडा गर्न खोज्दथे । तर, ती बिछोडका मुटु घोच्ने पीडाहरू र आर्थिक समस्याहरूले मार्क्ससम्म पुग्नुअगाडि जेनीरूपी पहाडलाई पार गर्नुपर्दथ्यो । आफ्ना सन्तानहरू बिरामी भएको अवस्थामा उपचार गराउन पैसा नहुँदा होस् अथवा रोग र कुपोषणले आफ्नो सन्तानको मृत्यु हँुदा त्यसलाई अन्तिम संस्कार गर्ने पैसासम्म नहुँदा पनि जेनीले कहिल्यै गुनासो गर्नुहुन्थेन । बरु त्यसको उल्टो मार्क्सलाई आफ्नो कार्यमा अविचलितरूपमा लागिरहन हौसला र प्रेरणा दिनुहुन्थ्यो । जसको कारण मार्क्स मार्क्स बन्न सक्नुभयो । यहाँ उहाँहरूकी कान्छी छोरी इलेनर माक्र्सले आफ्नो माता पितासम्बन्धी संस्मरणमा लेख्नुभएका निम्न शब्दहरू उल्लेख गर्नु असान्दर्भिक हुँदैन ।
“कुन कुरा भन्नु अतिसयोक्ति हुँदैन भने जेनी वोन वेष्टाफालेन नभएको भए, कार्ल माक्र्स जे बन्नुभयो त्यो कहिल्यै बन्नसक्नु हुने थिएन । उल्लेखनीय रहेको दुईजनाको जीवन यस्तो एउटै, यस्तो एक अर्काको पूरक कहिल्यै रहेको थिएन ।……”
१८५० को अन्तिम समय माक्र्स परिवारमा नयाँ विपद्को पोको लिएर आयो । यसै वर्षको नोभेम्बरमा निमोनियाका कारण उहाँहरूको छोरा फाक्सको मृत्यु भयो । यसबेला उहाँहरूलाई यो पीडाको अन्त कहिले र कसरी हुन्छ भन्ने थाहा थिएन । यो त सुरुवात मात्र थियो ¤ अर्को वर्ष १८५३ को क्रिसमसमा अर्की बच्ची फान्जिस्कालाई कडा ब्रोन्काइटिस लाग्यो जसको कारण उसले पनि तीन दिनपछि फाक्सलाई पछयाई । त्यसबेलाको आफ्नो अवस्थाबारे जेनीले आफ्नो संस्मरणमा लेख्नुभएको छ :
“१८५३ को क्रिसमस पर्वमा हाम्रो सानो फ्रान्जिस्कालाई कडा ब्रोन्काइटिस रोग लाग्यो । पूरा तीन दिनसम्म तिनी मर्ने बाँच्ने दोसाँधमा रहिन् । तिनले भयानक दुःख पाइन् । तिनी मरेपछि हामी तिनको लासलाई पछाडिको कोठामा छाडेर अगाडिको कोठामा गयौँ र त्यहाँ हामीले भुइँमा आफ्नो बिछ्यौना बनायौँ । हाम्रा तीन जिउँदा बच्चाहरू हामीसँगै पल्टे र हामी सबै अर्को कोठामा निष्प्राण रहेकी सानी बच्चीको लागि रोयौँ । सबभन्दा ठूलो दुःखको समयमा हाम्री प्यारी बच्चीको मृत्यु भयो । त्यसबेला हाम्रा जर्मन साथीहरू हामीलाई सहायता गर्न असमर्थ थिए । त्यसताका हामीसित बराबर भेट गर्न आइरहनुहुने आर्नेष्ट जोनले हामीलाई सघाउने बचन दिनुभयो । तर, उहाँले कुनै चीज पनि ल्याउन सक्नुभएन । हामीलाई बराबर भेट्न आउने एकजना फ्रान्सेली व्यक्तिकहाँ म दुःखित मन लिएर हतपत गएँ र खाँचो परेको बेलामा उहाँसँग मद्दत मागेँ । छिट्टै नै उहाँले मलाई मित्रतापूर्ण सहानुभूतिका साथ दुई पौन्ड दिनुभयो । त्यो पैसा कफन किन्नमा लगाइयो, जसमा मेरी बच्ची अहिले शान्तिपूर्वक आराम गरेकी छिन् । तिनी जन्मदाखेरि तिनको लागि झलुङ्गा थिएन र लामो समयसम्म तिनले आराम गर्ने ठाउँ पनि पाइनन् । कत्रो दुःखित हृदयले हामीले तिनलाई चिहानमा लगेको हेरिरह्यौँ ।” |
मार्क्स दम्पत्तीले भोग्नुपर्ने आफ्ना सन्तान वियोगको पीडाको श्रृङ्खला अझै समाप्त भएको थिएन । ‘न्युयोर्क डेली ट्रिबुन’ बाट प्राप्त रकमले आर्थिक सङ्कट केही कम भएको थियो । यो सन् १८५३ को अन्ततिरको कुरा थियो । यस वर्षको क्रिसमस पर्व मार्क्स परिवारमा रमाइलोसँग बित्यो । तर, यस वर्षको क्रिसमसले सो अवसरमा कामना गरिने जस्तो कुनै सुख र समृद्धि ल्याएन, बरु उल्टो अर्को विपद् ल्याइदियो । क्रिसमसको एक हप्तापछि सात वर्षीय छोरा एड्गार बिरामी पर्यो । एक वर्षसम्म रोगाएर अन्तमा उसको पनि मृत्यु भयो । यसरी मार्क्स दम्पत्तीमाथि एकपछि अर्को गर्दै विपद्हरू बर्सिइरहे । माक्र्स दम्पत्तीले आफ्नो एड्गारलाई बचाउन धेरै रातहरू जागाराम बसेर बिताउनुभयो । मार्क्सले त्यसबेलाको आफ्नो अवस्थाको चित्रण गर्दै एङ्गेल्सलाई लेख्नुभएको थियो, “….. मुटुबाट रगतको धारा बग्न लागेजस्तो छ, आगो दन्केजस्तो टाउको राँकिन्छ …..” आशा र निराशाले भरिपूर्ण यी चिन्ताग्रस्त दिनहरूमा अविस्मरणीय वेदनाका स्रोत बनेका यी वियोगका दिनहरूमा सर्वहारा वर्ग र सम्पूर्ण मानवजातिकै सेवा गर्ने महान् विचारले मात्र मार्क्सलाई बचाएको थियो ।
अभावग्रस्त सुखी परिवार :
जेनीको व्यक्तिगत जीवन दुःख र वेदनाले मात्र भरिएको थिएन । यी सब दुःख कष्ट सहनु परे तापनि उहाँहरूको परिवार सा¥है सुखी परिवार थियो । माक्र्सको कठिन र अशान्त जीवनमा उहाँकी बफादार जीवन साथी जेनीसँग माक्र्सलाई प्रगाढ प्रेमको भावनाले बाँधेको थियो । सन् १८५६ मा आफ्नी अस्वस्थ आमालाई भेट्न बालबच्चा लिएर ट्रिर जानुभएकी जेनीलाई माक्र्सले लेख्नुभएको चिठीबाट यो कहिल्यै नओइलाउने भावनाको झलक पाइन्छ मार्क्सले लेख्नुभएको थियो :
“हामीले छुट्टिनु पर्छ, समयले मेरो प्रेमलाई त्यस्तै किसिमले हुर्काउँदै आएको रहेछ जसरी घाम र पानीले बिरुवा हुर्काउँछ भन्ने कुरामा म झन् विश्वस्त हुनथाल्छु …..
संसारमा थुप्रै आइमाई छन् र तीमध्ये कति त अति सुन्दरी हुन्छन् भन्ने कुरा निर्विवाद छ । तर, म अरू कहाँ त्यस्तो अनुहार भेट्टाउन सक्छु जसको प्रत्येक रेखाले, जसको चाउरीले समेत मेरो जीवनका उत्कृष्ट दिनहरूको सम्झना बिउँझाइदिन्छ ? म तिम्रो प्यारो अनुहारमा कहिल्यै नफर्कने गरी गुमाएका कुराहरू देख्छु जब म तिम्रो अनुहारमा चुम्बनको वर्षा गर्छु, यो कष्ट बिर्सिदिन्छु ……. ।”
जेनीले आफ्नो श्रीमान्लाई अगाध प्रेम मात्र गर्नुहुन्थेन, बरु उहाँले रोजेको बाटोको वैज्ञानिक सच्चाइलाई र त्यसको महान्तालाई पनि आत्मसात गर्नुभएको थियो । त्यसैले त उहाँले मार्क्सका साथीहरू तथा सहयोद्धाहरूलाई आफ्नै परिवारका सदस्यहरू सम्झनुहुन्थ्यो । यस अर्थमा मार्क्स परिवार बसेको घर एउटा अन्तर्राष्ट्रिय घर बनेको थियो । यहाँ विभिन्न देशहरूबाट मानिसहरू आउने गर्दथे । मार्क्सकहाँ पुग्नेहरू सबैले उहाँको परिवारप्रति गाढा संस्मरण सुरक्षित राखेका थिए । जेनी माक्र्सले सङ्घर्षको क्रममा आफ्नो घरमा आउने साथीहरूलाई सक्दो मद्दत गर्नुहुन्थ्यो जुन कुरा लिव्नेच्टले लेख्नुभएको संस्मरणका निम्न उद्धरणले प्रस्ट्याउँदछः
“मार्क्सकी पत्नीले पनि म माथि झन्डै त्यत्तिकै प्रभाव पार्नुभयो जति स्वयम् मार्क्सले पार्नुभएको थियो । मैले यस्तो सौम्य, सुशील, बुद्धिमानी महिलालाई भेटेँ जसले म जस्तो एक्लो र थेम्स नदीको किनारामा फ्याँकिएको एक स्वयम्सेवकप्रति एउटी आमा र एउटी दिदीले जस्तै व्यवहार गर्नुभयो । यस परिवारसँगको परिचयले नै मलाई आफ्नो दुःख पूर्ण यात्राका दिनहरूमा पूर्ण बर्बादीबाट बचाएको थियो । यस कुरामा मलाई गाढा विश्वास छ ।”
मार्क्सको सहयोद्धा :
दसौँ वर्षसम्म जेनीले माक्र्सको सहायकको रूपमा काम गर्नुभयो । माक्र्सको अचाक्ली नबुझिने लेखाइबाट उहाँ पाण्डुलिपि तयार गर्नुहुन्थ्यो । यसैगरी उहाँले ‘पुँजी’ को पूरा पहिलो खण्ड सार्नुभएको थियो । मार्क्सको अनुरोधमा उहाँ मित्रहरूलाई र विभिन्न मुलुकका मजदुर आन्दोलनका नेताहरूलाई चिट्ठीहरू लेख्ने गर्नुहुन्थ्यो । यी चिट्ठीहरूका गम्भीर विषयवस्तुलाई उहाँ सुन्दर र ठटेउला भाषामा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नी पत्नीको यस प्रतिभाले मार्क्सलाई मोहित तुल्याएको थियो ।
उच्च संस्कृतिले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी मार्क्सले सन् १९७५ – १९७७ मा जर्मन प्रजातन्त्रवादी अखबार (Frankfurter Zeitung und handelsblatt) मा साहित्यिक आलोचनासम्बन्धी लेखमाला प्रकाशित गराउनुभयो । तिनमा उहाँले लण्डनको थिएटर जीवनबारे प्रकाश पार्नुभयो, शेक्सपियरका केही नाटकहरूमा मुख्य नायकको भूमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङ्कको उत्कृष्ट अभिनयबारे लेख्नुभयो, ब्रिटिश बुर्जुवा दर्शकहरूको कूपमण्डुक अभिरुचिको हाँसो उडाउनुभयो ।
जेनी मार्क्सले रुसलगायत विभिन्न देशमा मजदुर तथा क्रान्तिकारी आन्दोलनका गतिविधिहरूबारे निगरानी राख्नुभएको थियो । त्यस आन्दोलनमा आफू सक्दो योगदान पनि पु¥याउनु भएको थियो । ‘रुससम्बन्धी विशेषज्ञ’ अङ्ग्रेज पत्रकार रोल्सटोनले रूसी क्रान्तिकारी साहित्यबारे लाञ्छनापूर्ण लेख छपाउँदा जेनी मार्क्सले सन् १८७७ को मे महिनामा त्यही (Frankfurter Zeitung undhandelsblatt) अखबारमा उसको विरोधमा लेख छपाउनुभएको थियो । रोल्सटोनलाई एक ‘साहित्यिक लाञ्छनाकार र षड्यन्त्रकारी’ को रूपमा चित्रण गर्दै माक्र्स क्षोभ प्रकट गर्दै लेख्नुभएको थियो, “सन् १८७८ को फेब्रुअरी मार्चमा भएको नारोदनिक ‘५० जवानको मुद्दा’ को शिकार बनेका ती व्यक्तिहरूप्रति हास्य, व्यङ्गय र घृणासिवाय उनले कुनै राम्रो कुरा दिन सकेनन् “जसले, सही रूपमा नबुझेर नै किन नहोस्, स्वतन्त्रताको नाउँमा आत्मबलिदान गरेका थिए । ती बिचरी युवतीहरूप्रति दया जागेर आउँछ जो यस आन्दोलनमा सरीक भएका थिए र सुरुकै तहकीकातको समयमा नै जसले आफ्नो स्वास्थ्य गुमाइसकेका थिए र अब साइबेरियामा पन्ध्र वर्ष लामो निर्वासनले उनीहरूलाई सुस्त सुस्त मृत्युको घाटमा पु¥याउनेछ ।”
श्रीमान् रोल्सटोनले त आफ्नो लेखमा वर्तमान युगका महान् क्रान्तिकारी लेखक निकोलाई चेर्निशेभ्स्कीको नाउँसमेत उल्लेख गरेनन् । यसको कारण के हो ?… के रोल्सटोन महोदयलाई चेर्निशेभ्स्कीको पत्रिका ‘सोभ्रेमेन्निक’ को अत्तोपत्तो नै थिएन कि ? त्यस पत्रिकामा उनले रुस सरकारसँग किसानहरूलाई अमलेख गर्ने आह्वान गरेका थिए (अवश्यमेव, जुन रूपमा कार्यान्वित गरियो त्यसभन्दा बेग्लै रूपमा) र तत्कालीन पिटरबर्गको प्रेसको देखावटी उदारतावादको विरुद्ध व्यङ्गयवाण प्रहार गरेका थिए र जब सरकारले उनलाई साइबेरिया निर्वासित गरेर पठायो त्यतिखेर त्यस प्रेसका नाइकेहरूलाई हाइसन्चो भयो, किनभने एक आलोचक र विद्वान् चेर्निशेभ्स्की रुसमा सर्वप्रथम सामाजिक शक्ति बन्न पुगेका थिए ।”
मार्क्सले १९सेप्टेम्बर, १८७८ को पत्रमा एङ्गेल्सलाई के लेख्नुभएको थियो भने रोल्सटोनले स्वीजरल्यान्डमा माक्सिम कोभालेभ्स्कीसँग भेट हुँदा “उससँग (Frankfurter Zeitung) मा हास्यव्यङ्गय खण्डमा उसलाई (रोल्सटोनलाई) धोखेबाज, काँतर इत्यादिको रूपमा चित्रण गर्ने रसियाली सोसलिस्टलाई उसले चिनेको छ कि भनेर सोधेका थिए (त्यो लेख मेरी पत्नीले लेखेकी थिई) । कोभालेभ्स्कीले कुरा के हो भन्ने बुझिहाले, तर उनले सत्यको कत्ति पनि विरोध नहुने किसिमबाट त्यस्तो रुसी कसैलाई पनि चिनेको छैन भने ।”
आफ्नी सत्यनिष्ठ जीवन–सङ्गिनी तथा सङ्घर्षमा निःस्वार्थ सहभागीनीप्रति मार्क्सले ‘पुँजी’ को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनसाय राख्नुभएको थियो भन्ने एङ्गेल्सको भनाइ रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति सङ्घर्षमा जेनी माक्र्सका योगदान बाह्य संसारको लागि विशेष दृश्यमान छैन । तर, एङ्गेल्सले उहाँको गणना पनि “सर्वहारावर्गको क्रान्तिकारी समाजवादको पुरानो योद्धादल” मा नै गर्नुभएको थियो ।
एक महान् आत्माको अन्त्य !
तीक्ष्ण विवेकशील मस्तिष्क, राजनैतिक विनम्रता, स्फूर्ति, जोसिलो चरित्र, आफ्नो पतिले सम्पूर्ण जीवन बलिदान गर्नुभएको महान् कार्यप्रति बफादारी र आत्मत्याग– यी सबै कुराहरूले परिपूर्ण जेनी माक्र्सबाट एङ्गेल्स ज्यादै प्रभावित हुनुहुन्थ्यो । त्यसैले त उहाँले जेनीलाई “उत्कृष्ट आत्मा भएकी नारी” भन्नुभएको थियो ।
जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म बिरामी भएर ओछ्यानबाट उठ्नै नसक्ने हुनुभएको थियो । उता मार्क्सलाई पनि कलेजोको क्यान्सर लागेको थियो । डाक्टरहरूले उहाँहरूको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्को कोठामा आफ्नी पत्नी मृत्युशैयामा सङ्घर्षरत रहँदा माक्र्स अति छटपटाउनुभएको थियो । यसको स्मरण गर्दै इलेनरले लेख्नुभएको थियोः
“आमाको कोठासम्म जान बुबाले तन्दुरुस्ती अनुभव गर्नुभएको त्यो बिहान म कदापि बिर्सन सक्दिनँ । उहाँहरू एकसाथ हुँदा मानौँ फेरि जवान हुनुभएको थियो । उहाँहरू एक प्रेमी युवक र प्रियतमा युवतीझैँ देखिनुभएको थियो । उहाँहरू एक अर्काबाट सदाका लागि छुट्याउने रोगले ग्रस्त वृद्ध र मर्न आँटेकी वृद्धाजस्ता पटक्कै देखिनुभएको थिएन । बरु, भर्खर नयाँ जीवनमा पदार्पण गर्ने युवा युवतीझैँ देखिनुहुन्थ्यो ।” |
सन् १८८१ को डिसेम्बर २ का दिन लण्डनमा जेनीको देहान्त भयो । तर, रोगले जीर्ण बनिसक्नुभएको माक्र्स जीवनभर अगाध प्रेम गरेकी आफ्नी पत्नी जेनीको अन्त्येष्टिमा सहभागी हुनसक्नुभएन ।
जेनीको अन्त्यष्टिमा एङ्गेल्सले भन्नुभएका यी पङ्क्तिहरूले जेनीको महानता प्रस्ट्याउँदछन् :
“आफ्ना पतिको प्रारब्ध, श्रम र सङ्घर्षमा जेनी सहभागीमात्र बन्नुभएको थिएन, बरु उहाँ सचेतरूपमा र ठूलो उत्साहका साथ तिनमा सक्रियरूपले भाग लिनुभएको थियो ।”
स्रोत : विश्व प्रसिद्ध महिलाका जीवनी र कार्यहरू