- गौरीलाल कार्की
सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी विभाजनको शिकार बन्यो । लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा विधिवत् विभाजनपछि कम्युनिष्ट आन्दोलनमा नयाँ बहसको प्रारम्भ भयो । लेनिन संगठित र अनुशासित कम्युनिष्ट पार्टी चाहन्थे तर प्लेखानोभ खुकुलो संगठनात्मक प्रणाली चाहन्थे । अन्ततः लेनिनको पक्षमा बहुमत र प्लेखानोभको पक्षमा अल्पमत देखा पर्यो । रुसी भाषामा बहुमतलाई बोल्सेभिक र अल्पमतलाई मेन्सेभिकका रुपमा परिभाषित गरियो । त्यस यता भावात्मक रुपमा बोल्सेभिक क्रान्तिकारी र मेन्सेभिक सुधारवादी शक्तिका रुपमा विश्व कम्युनिष्ट आन्दोलनमा परिभाषित छन् । यो भावना एवं परिभाषा लेनिनको बोल्सेभिक स्प्रीडलाई पक्रेर जानुपर्ने कुरासँग सम्बन्धित रहदै आएको छ ।
सन् १९०५ मा लेनिन नेतृत्वको सोभियत कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले विद्रोहको झण्डा उठायो । तर, मजदुर वर्गको शक्तिशाली संगठनात्मक आधार नभएको, सोभियत कम्युनिष्ट पार्टीको विभाजनको मनोवैज्ञानिक प्रभाव रहेको परिस्थितिमा विद्रोह आफैमा चूनौतिपूर्ण कदम थियो । विद्रोह सफल हुन सकेन, विद्रोहको असफलतापछि बोल्सेभिक पार्टीभित्र बोल्सेभिक र मेन्सेभिकको एकताको सवाल उठ्यो । बोल्सेभिकका क्रान्तिकारी नेता–कार्यकर्ताले प्रश्न उठाए, ‘सुधारवादी मेन्सेभिकसँग कुन आधारमा एकता गर्ने ? अहिले एकता सम्भव छैन ।’ तर, लेनिन एकताका पक्षमा थिए । एकताको औचित्य प्रष्टाउँदै लेनिनले भने, ‘मूख्य कुरा जनताको आवाज हो, जनताको चाहना हो र देशको परिस्थिति हो । जनता एकताको पक्षमा छन्, त्यसकारण हामीहरु पनि मिल्नुपर्छ ।’
नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पनि टुटफुट र एकताका शृङ्खलाबद्ध इतिहास कोर्दै अगाडि बढिरहेको छ । आज देशको राष्ट्रियता झन्झन् कमजोर बन्दै गइरहेको छ । अर्थतन्त्र नाजुक अवस्थामा खस्कदै गएको छ । प्रतिक्रियावादी नीतिका कारण उत्पादन झन्झन् घट्दो अवस्थामा रहेको छ । जनताको जीवनशैली झन्झन् कष्टकर बन्दै गइरहेको छ । यस्तो वस्तुस्थितिमा प्रतिक्रियावादीहरु झन्झन् एकजुट भएर क्रान्तिकारी शक्तिमाथि र जनतामाथि शोषण दमन गरिरहेका छन् । यहाँका सुधारवादी र संशोधनवादीहरु सत्ता प्राप्तिको लागि अप्राकृतिक गठबन्धन कायम गरेर निर्वाचन र सत्ता समीकरण गरिरहेका छन् । यो सम्पुर्ण वस्तुस्थितिले के कुरा माग गरिरहेको छ भने अब नेपालका छरिएर रहेका क्रान्तिकारी शक्तिहरु एकताको प्रक्रियामा आउनु आवश्यक रहेको छ र एउटा क्रान्तिकारी वैकल्पिक शक्ति पुनःस्थापन हुन जरुरी छ ।
यही आवश्यकतालाई केन्द्रमा राखेर नेकपा ( मशाल ), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले पार्टी एकताको लागि एकता संयोजन समिति बनाएर छलफल थालेको सार्वजनिक गरेका छन् । यस कदमलाई क्रान्तिकारीहरुले सकारात्मक एवं उत्साहजनक रूपमा लिएका छन् । यी पार्टीहरुले वक्तव्य मार्फत कतिपय विषय छलफलबाट टुंगो लागिसकेको र कतिपय विषयमा छलफल चलिरहेको कुरा समेत सार्वजनिक गरेका छन् ।
कुनै पनि राजनीतिक पार्टीहरुको आधारभुत लक्ष, उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण उसको विचारधारात्मक एवं राजनीतिक कार्यदिशाले निर्धारण गर्दछ । यदि दुइ वा दुइभन्दा बढी पार्टीहरुको विचारधारा र राजनीतिक कार्यदिशा आधारभुत रूपमा मिल्छ भने ती पार्टी छुट्टाछुट्टै बस्नुको औचित्य रहदैन । नेकपा ( मशाल ), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले आफ्नो आधारभुत नीति र कार्यक्रम तथा विचारधारा र कार्यदिशा एउटै भएको ठहर गरि एकता संयोजन समिती बनाएको विश्लेषण गरिएको छ । यद्यपि यी पार्टीहरु बीच पनि थुप्रै मतभेद र फरक कार्यशैलीहरु पनि रहेका छन् । ती मतभेद र कार्यशैलीबारे संयोजन समितिमा छलफल गर्दै जाने सहमति भएको र छलफल भैरहेको कुरा सार्वजनिक भएका छन् । यहाँनेर मुख्य कुरा के हो भने यी तीन पार्टीको आधारभुत नीति, सिद्धान्त र कार्यदिशा समान रहेको छ, त्यो नै एकता प्रयत्नको मुख्य आधार हो । मुख्य रूपमा “कार्यदिशा सही हुनु र नहुनुले नै अन्ततः सबै कुराको फैसला गर्दछ ।’’ स्पष्ट छ, यी पार्टीको सम्बन्धमा पनि यही कुरा सत्य हो । आशा गरौं छलफलले सहि नीति र कार्यदिशामा सहमति गराउने छ ।
यो संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो र अहिले नेपाली जनताको प्रमुख अन्तरविरोध दलाल तथा नोकरशाही पुँजीपति र सामन्ती वर्गसँग रहेको भन्ने कुरामा तीनवटै पार्टी सहमत रहेको बुझिन्छ । वर्गसंघर्ष, जनवादी एवं सर्वहारा अधिनायकत्व, नयाँ जनवादहुँदै बैज्ञानिक समाजवाद स्थापना गर्न र त्यसको लागि सशस्त्र विद्रोहको कार्यदिशा र सैन्य कार्यदिशाबारे पनि सबैको मत समान रहेको देखिन्छ । यहीँ विश्वास र आधारमा खडा भइ पार्टी एकताको लागि छलफल भैरहेको छ । कतिपय सामान्य विषयमा मतभेद एउटै पार्टिभित्र पनि रहेको हुन्छ र त्यहीँ प्रकृतिको मतभेद यी पार्टीहरुबीच पनि रहेको छ । ती मतभेदका विषयहरु लेनिनवादी संगठनात्मक पद्धति अनुसार छलफल गरेर टुंगो लगाउने गरि सहमति भएको बताइएको छ ।
पार्टी एकता वा पुनर्निर्माण कुनै भावनात्मक कोणबाट मात्रै हुने संभावना रहदैन । लामो अभ्यास, छलफल, व्यवहार र सहकार्यले त्यो संभव बनाउछ । पार्टी एकताको मुख्य आधार नीति र सिद्धान्त नै हो । त्यसका साथसाथै व्यवहार, राजनीति, संगठन, आर्थिक र सांस्कृतिक पक्षहरुबारे पनि छलफल हुनु जरुरी छ । पार्टी एकतालाई कुनै पार्टी अर्को कुनै पार्टीमा विलय भएको अर्थमा बुझ्ने पनि गरिन्छ जुन दृष्टिकोण मार्क्सवादी लेनिनवादी दृष्टिकोण होइन त्यो जड चिन्तन हो । त्यस्तो चिन्तन कोहि कसैले राख्नु हुँदैन । यदि देश काल परिस्थिति अनुसार कुनै पक्षको नीति र सिद्धान्त सहि, तथ्यगत र बस्तुपरक छ भने अर्को पक्षले त्यो नीति र सिद्धान्तलाई मानेर पार्टी एकता गर्नु विलय होइन । त्यो पनि एकता र ध्रुवीकरण नै हो । तर सहि, तथ्यपरक र बस्तुपरक सिद्धान्त कुन हुनसक्छ ? त्यो निर्क्यौल गर्नु छलफलको मुख्य सार हो । जुन छलफलको सकारात्मक थालनी यी तीन पार्टीले सुरुवात गरेको देखिन्छ ।
गतकालको इतिहास मुल्यांकन गर्ने हो भने कैयौंपटक अनावश्यक फुट भएका र हचुवाको प्रकारले पार्टी एकता पनि भएका थुप्रै उदाहरणहरु हाम्रो सामु छन् । कैयौं पटक फुट आवश्यकताको आधारमा पनि भएका छन् । यी आरोह अवरोह र अनुभवबाट शिक्षा लिनुपर्ने आवश्यकता छ । आजको वस्तुगत अवस्था भनेको क्रान्तिकारी र संसोधनवादी कम्युनिस्ट शक्ति ध्रुवीकरणको अवस्था हो । देशको आवश्यकता, क्रान्तिको अपरिहार्यता र जनताको चाहना पनि आज ठिक यहीँ बस्तुस्थितीमा रहेको सहजै विश्लेषण गर्न सकिन्छ । त्यसैले लेनिनको विचार जस्तै सामान्य मतभेद हुँदाहुँदै पनि देशको आवश्यकता र जनचाहना अनुसार हामीले पनि पार्टी एकताबारे गम्भीरतापूर्वक विचार गरेर यो एकतालाई सफल बनाउने कुरामा सबै क्रान्तिकारी पक्षको ध्यानाकषिर्त हुन जरुरी छ ।
आज क्रान्तिकारी शक्तिहरुको विकास हुन नसक्नुको मुख्य कारण आत्मगत कारण नै रहेको छ । त्यसका साथै कम्युनिष्ट पार्टीभित्र वास्तविक व्यवहारमा भित्री पार्टी जनवादको अभ्यास अत्यन्त कमजोर रहने गरेको छ । आलोचनात्मक चेत, स्वतन्त्र छलफल, बहस, क्रान्ति केन्द्रित विवाद, अन्तरविरोध एवं रुपान्तरणकारी अन्तरसंघर्षलाई पूरै निरुत्साहित गरियो । पार्टी संगठन र नेताकार्यकर्तालाई कुनै महापुरुषरुपि नेताको वरिपरि प्रदक्षिणा गर्ने भक्तहरुको झुण्डमा विकसित एवं प्रशिक्षण गरियो । नयाँ नेतृत्व विकास अवसर करिब निषेधको तहमा पुर्याइयो । नेता नै सर्वेसर्वा र आम कार्यकर्ता तथा पार्टी पंक्ति ‘यस म्यान’ भए । त्यसको परिणामस्वरुप क्रान्तिकारी पार्टीहरुलाई विचलनबाट बचाउन र क्रान्तिकारी बनाइराख्न आम पार्टी पंक्तिको भूमिका प्रभावशाली देखिएन । क्रान्तिकारी पार्टीहरुका वैचारिक सांस्कृतिक स्खलन एवं पुँजीवादीकरणका कारणबाट सत्ता र स्वार्थमा पतनको बाटोमा जाँदा त्यसलाई जोगाउन आम नेताकार्यकर्ताको सकृय भूमिका पनि देखा परेन ।
यी सबै गैर मार्क्सवादी लेनिनवादी कार्यशैलीबारे क्रान्तिकारी धार पक्ष सचेत एवं जानकार नै थियो ।त्यस पक्षको निरन्तरको अन्तरसंघर्षबाट आन्तरिक बस्तु स्थिति सकारात्मक बन्दै गयो । अन्ततः बस्तुस्थिति के बन्यो भने सबै पार्टीहरुमा क्रान्तिकारी पक्षको संघर्ष, अन्तरसंघर्ष र त्यसको जगेर्ना गर्न सम्झौताहिन प्रकारले संघर्ष अगाडि बढ्न सफल रह्यो । यहीँ संघर्षको सिलसिलामा एकातिर अवसरवादीहरु एवं संशोधनवादीहरु साम्राज्यवादी एवं प्रतिक्रियावादी शक्तिसँगसँगै चुनावी तालमेल गर्ने र प्रतिक्रियावादी सत्ता साझेदारीमा र्याल चुहाउन थाले भने क्रान्तिकारी शक्तिहरू देशको राष्ट्रियता संरक्षण र जनतन्त्र एवं जनजिविकाको पक्षमा अथक रुपले संघर्षमा डट्न सफल भए । त्यसले क्रान्तिकारी पक्षको गठन एवं पुनःस्थापन सफल भयो ।
यी क्रान्तिकारी शक्तिहरु आन्दोलनमा समेत सहकार्य एवं कार्यगत एकता गर्दै एक अर्कोलाई बुझ्दै जान थाले । राष्ट्रघाती नागरिकता विधेयक, राष्ट्रघाती एम सी सी सम्झौता, एस पि पि सम्झौताविरुद्ध संयुक्त रूपमा आन्दोलित भए । नयाँ जनवादी क्रान्तिको प्रचारप्रसारलाई केन्द्र भागमा राखेर प्रतिक्रियावादी संसदीय निर्वाचनको बहिष्कार / अवज्ञा कार्यक्रम संयुक्त रूपमा सम्पन्न गर्ने काम भयो । आज देशमा हत्या, हिंसा मंहगी, भ्रष्टाचार, कुशासन र विभिन्न विकृति एवं विसंगतिले देश र जनता आजित भएको सबैलाई थाहा छ । त्यसको विरुद्ध संघर्ष गर्न र त्यो संघर्षलाई नयाँ जनवादी क्रान्ति हुनै बैज्ञानिक समाजवादसम्म पुर्याउन वैकल्पिक शक्तिको रूपमा जनतासामु क्रान्तिकारी शक्ति पुनस्थापना हुनु आजको मुख्य आवश्यकता हो ।
यसलाई अभियानको रूपमा अगाडि बढाउन आवश्यक छ । यस एकता अभियानमा अन्य थुप्रै कम्युनिस्ट घटकले आफ्नो अवसरवादी नीति र कार्यशैली त्यागेर सामेल हुनको लागि गम्भीरतापूर्वक सोच्न जरुरी छ । जुन उदेश्यलाई केन्द्रमा राखेर
नेकपा ( मशाल ), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले पार्टी एकताको प्रयास गरिरहेको बुझिन्छ । हामी यस कार्यलाई हार्दिक शुभकामना एवं सफलताको कामना गर्दछौं ।