#गौरीलाल कार्की
पृष्ठभुमि :
मानवद्वारा वाष्प इन्जीनको आविष्कार पछि १९ औं शताब्दीको बीचसम्म आउँदा औद्योगिक विकासले चरम रुप लियो । तात्कालिन अर्थ-राजनीतिक चरित्रले विश्वमा पुँजीवादी उत्पादन सम्बन्धलाई स्थापित गरायो । सामन्तवादमा भूमीपती र किसान बीच प्रधान अन्तरविरोध थियो तर औद्योगिक विकास र परिवर्तन पछि पुँजीपती र मजदुर बीचको अन्तरविरोध प्रधान बन्यो । यो अबस्थामा उत्पादनका साधनहरुमाथि पुँजीपतीहरुको एकाधिकार रहेपछि मजदुरहरुले न्युन ज्यालामा कठिन काम गर्नुपर्ने अर्थ-राजनीतिक चरित्र हाबी हुन थाल्यो । पुँजीवाद आफैमा नाफामा आधारित अर्थ-राजनीतिक उत्पादन सम्बन्ध हो । यसमा मुख्य रणनीति धेरैभन्दा धेरै नाफा कमाउनेमा नै केन्द्रीत हुन्छ । यसको एउटै परिणाम मालिकहरु मोटाउदै गए भने मजदुरहरुको अवस्था झन्झन दयनीय भयो । यसले पुँजीपति र मजदुर बिचको वर्ग-अन्तरविरोध चरम उत्कर्षमा पुग्यो ।
यही वस्तुगत धरातलमा विभिन्न सामाजिक विचार पद्धतिहरुबारे बहसहरु आरम्भ भए । सामन्तवाद र पुँजीवाद भन्दा अझ उन्नत वा प्रगतिशील समाज व्यवस्थाको सन्दर्भमा विभिन्न राजनीतिक चिन्तकहरुले आ-आफ्नो मत पेश गरे । त्यतिखेर फ्रान्सको पेरिसमा काल्पनिक समाजवादी, अराजकतावादी, क्रिश्चीयन समाजवादी, कवि र दार्शनिकहरु च्याउ उम्रीए जस्तै भएका थिए । तात्कालिन यी सबै विचार पद्धतिहरु पुँजीवादी शोषण र उत्पीडन विरुद्ध परिलक्षित नै थिए । ओवेन, कान्ट, हेगेल, फायरवाख, स्मीथ, रिकार्डो, रुसो, सिमन, प्रुधों र डार्वीन लगायतका विचारकहरुले पुँजीवादको उन्नत विकल्प खोज्न थाले । यद्यपि उनीहरुको विचार वैज्ञानिक र वस्तुवादी होइन केवल भाववादी चिन्तन्धारामा आधारित हुन पुगे । काल्पनिक, मनोगत र यान्त्रिक प्रकारमा सिमित रहे र भौतिकवाद संगत हुन सकेनन् ।
मार्क्सवादको उत्पत्ति :
यही वस्तुस्थितिको ऐतिहासिक आवश्यकता परिपुर्ति गर्ने सिलसिलामा मार्क्सवादको जन्म भएको देखिन्छ । यो १९ औं शताब्दीको मध्यतिर विकास भएको दर्शन हो । सर्वप्रथम कार्ल काउत्स्कीले मार्क्सवाद पदावली प्रयोग गरेका थिए । मार्क्सले अध्यात्मवादमा आधारित हेगेलीय द्वन्दवाद र अधिभूतवादमा आधारित फायरवाखीय भौतिकवादलाई संयोजन गरेर द्वन्दात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरेका थिए । उनले हेगेलको अध्यात्मवादी द्वन्दवादमा भौतिकवाद र फायरवाखको अधिभूतवादी भौतिकवादमा द्वन्दवाद समायोजन गरे । अर्थात हेगेल र फायरवाखको अपाङ्ग दर्शनलाई सपाङ्ग बनाए । उनले काल्पनिक समाजवादी एवं अराजकतावादीहरुको वैज्ञानिक पक्षहरुको सदुपयोग गरे । जर्मन विचारधारा, फ्रान्सेली समाजवाद र वेलायती अर्थशास्त्रको विकसित र केन्द्रीकृत रुपमा नै मार्क्सवादको जन्म भएको थियो । विश्वमा यसलाई मार्क्सवादको आधार मानिन्छ ।
शोषित उत्पीडित वर्गलाई शोषक एवं उत्पीडक वर्गहरुको शोषण दमनबाट उन्मुक्त गराउने संघर्षको वर्गीय दर्शन नै मार्क्सवाद हो । यो द्वन्दात्मक भौतिकवादी दर्शन हुनुको साथै सामाजिक आर्थिक विश्लेषण सहितको दर्शन हो । यसले वर्ग सम्बन्ध र सामाजिक द्वन्दलाई ऐतिहासिक विकासको द्वन्द्वात्मक भौतिकवादी कोणबाट व्याख्या गर्दछ । सामाजिक परिवर्तनलाई द्वन्दात्मक प्रक्रियामा ग्रहण गर्दछ । यसले वर्गीय समाजमा वर्गीय अन्तरविरोध कायम रहने सार्वभौम सच्याइलाई आत्मसात गर्दछ । सामाजिक रुपान्तरणलाई वर्गसंघर्षको केन्द्रीय सवाल भएको स्वीकार गर्दछ । यो उत्पीडित वर्गहरुलाई पथ-प्रर्दशन गर्दै उत्पीडनबाट मुक्त हुने लक्ष्यमा पुर्याउने समाज विज्ञान हो । यसले इतिहासको भौतिकवादी व्याख्या गर्दछ साथै संघर्षलाई मुक्तीको अचूक राजनैतिक अस्त्र मान्दछ अर्थात् मार्क्सवादले समाज परिवर्तन आकस्मिक रूपमा नभएर विशिष्ट ऐतिहासिक भौतिकवादी सामाजिक प्रक्रियामा निरन्तर हुने कुरामा विश्वास राख्छ ।
मार्क्सवादका सैद्धान्तिक :
मार्क्सवाद भनेको वैज्ञानिक र तथ्यपरक सिद्धान्त हो । यसमा मुल सिद्धान्त द्वन्दात्मक भौतिकवाद हो । वाद, प्रतिवाद र संवादको प्रक्रियागत चक्रमा नै कुनैपनि वस्तु वा सत्ताको गतिशीलता जीवित रहने विज्ञान नै द्वन्दवाद हो । यसमा वादले विपरितहरुको एकत्व सहितको एउटा खास परिवेशमा प्रतिवादद्वारा द्वन्द्वको प्रतिनिधित्व गर्दछ । विपरितहरु बीच सार्वभौम रुपमा अस्तित्व रक्षार्थ हुनको लागि एकता र द्वन्द वा संघर्षको अनिवार्यता रहन्छ । यस्तो एकता र संघर्षपछि गुणात्मक रुपान्तरण सहितको विलकुल नयाँ सश्लेषित परिवेशको जन्म हुन्छ । मार्क्सवादी सैद्धान्तिक समाज विज्ञानमा यसलाई नै क्रान्ति वा परिवर्तन भनिन्छ ।
यस सन्दर्भमा भौतिकवादमा कुनैपनि वस्तु वा सत्ताको निर्णायक तत्व भौतिक पक्ष नै हुने गर्दछ ।
यसले वस्तु पहिलो र चेतनालाई दोस्रो मान्दछ । मार्क्सवादले हेगेलको दर्शनले जस्तो आत्म र परात्मको वकालत गर्दैन । अर्थात भौतिक वस्तु वा सत्ताको द्वन्दात्मक चरित्र र यही द्वन्दात्मक पद्धतिद्वारा नै यसको गुणात्मक रुपान्तरण हुन्छ भन्ने तथ्यको वकालत गर्छ । हरेक घटना परिघटनामा झैं द्वन्द्वात्मक भौतिकवाद मानवीय समाज विकासक्रममा पनि लागु हुन्छ र त्यो ऐतिहासिक भौतिकवादको रूपमा विकास भएको हुन्छ भन्ने तथ्यगत मान्यता नै ऎतिहासिक एवं द्वन्दात्मक भौतिकवाद हो । यो नै समाज बिज्ञानमा मार्क्सवादको मुलभुत सिद्धान्त हो ।
विशेषता वा नियम :
मार्क्सवादको पहिलो विशेषता वा नियम भनेको यसले मानव समाजलाई भौतिक जगतको रुपमा ग्रहण गर्दछ । यसमा वस्तु, सत्ता वा घटनाहरु एक अर्कोमा अन्तरसम्वन्धित मात्र हुँदैनन् परिपूरक पनि हुन्छन् । उनीहरु बिच पारस्परिक द्वन्द र एकता दुवै साथसाथै हुन्छ । यसले नै सबै घटना, जीवन, जगत र पदार्थहरु गतिशील हुन्छन् भन्ने मान्यता राख्दछ । यो नै मार्क्सवादको मुटु हो । यही गतिशीलताकै कारण वस्तु वा सत्ता निरन्तर ऐतिहासिक प्रकृयाको रुपमा विकास भइरहन्छ ।
यसको दोस्रो विशेषता वा नियम भनेको मात्रात्मक परिवर्तनको उच्चस्तरीय रुप गुणात्मक परिवर्तन अवश्यम्भावी हुन्छ भन्ने हो । यस नियमले द्वन्दात्मक प्रक्रियामा वस्तुको मात्रात्मक परिवर्तनशिलतामा गुणात्मक परिवर्तन निर्भर रहने वकालत गर्दछ । अर्थात निरन्तरताको उच्चतम अवस्थासँगै क्रमभङ्गता अनिवार्य हुन्छ । निरन्तर विकासको प्रकृया खास विन्दुमा पुगेर परिपक्व हुन्छ अनि यसले आफ्नो पुरानो चरित्रलाई पुरै परिवर्तन गर्दछ र त्यतिखेर वस्तु वा सत्ताले नितान्त नयाँ चरित्र ग्रहण गर्दछ । यसलाई नै गुणात्मक रुपान्तरण भनिन्छ । यो परिमाणात्मक रुपान्तरणकै उच्चतम रुप हो । मार्क्सवादमा यसलाई क्रान्तिकारी रुपान्तरण भनिन्छ ।
यसको तेस्रो विशेषता वा नियम वस्तु वा सत्ताको विकास निषेधको निषेध नियममा हुने गर्दछ भन्ने हो । यसको तात्पर्य पुरानोलाई निषेध नगरी नयाँको जन्म हुँदैन । अर्थात पुरानो अर्थ-राजनीतिक सम्बन्धलाई निषेध नगरी नयाँ अर्थ-राजनीतिक सम्बन्धको स्थापना सम्भव हुँदैन भन्ने हो । यो विशेषताले पहिलो र दोस्रो विशेषताको निचोडको प्रतिनिधित्व गर्छ ।
वर्गसंघर्ष :
वर्गसंघर्ष मार्क्सवादको असाध्यै महत्वपूर्ण सिद्धान्त हो । मार्क्सले मानव समाजको सार्वभौमिक वर्गीय चरित्रलाई प्रष्ट पारे । अर्थात् समाजमा मुलतः दुइ विपरित स्वार्थ बाेकेका वर्गहरु विद्यमान हुन्छन् । उनीहरु बीच शत्रुतापूर्ण अन्तरविरोध हुने गर्दछ । यसमा एउटा वर्ग शासक र अर्को वर्ग शासित अनि एउटा वर्ग शोषक र अर्को वर्ग शोषित हुने गर्दछ । अर्थात् पुँजीवादी नाफामुखी अर्थ-राजनीतिक सम्बन्धमा पुँजीपतीहरुले उत्पादनको साधनहरु माथि एकाधिकार र पकड कायम गर्दै मजदुर माथि चरम शोषण गर्दछन् भन्ने प्रमाणीकरण गरे ।
यसमा मजदुरहरुलाई असाध्यै न्युन ज्याला दिएर अत्याधिक नाफा कुम्ल्याउने गरिन्छ । यसको परिणाम मालिक र मजदुर बीच शत्रुतापूर्ण अन्तरविरोध हुन्छ । यही अन्तरविरोधकै केन्द्रमा सङ्गठित, योजनावद्ध, उन्मुक्त समाज निर्माणको उद्देश्य सहित वर्गसचेत पहलकदमीमा योजना, नीति र कार्यक्रम बनाइ संघर्ष गर्ने प्रक्रिया नै वर्गसंघर्ष हो ।
दास युगमा दास र दासमालिक, सामन्तवादमा भुमिपती र किसान अनि पुँजीवादमा पुँजीपति वर्ग वा वहुराष्ट्रिय निगम र मजदुर बीच अन्तरविरोध रहदै आएको छ अर्थात् उत्पीडक र उत्पीडित बीच यो वा त्यो रुपको वर्ग-अन्तरविरोध अस्तित्वमा देखिन्छ । जसले वर्गसंघर्षको आवश्यकता अनिवार्य निम्त्याउने गर्छ । आधारभूत विपरीत वर्गहरु बीच भिषण द्वन्द हुँदै आएको छ । यही द्वन्दको प्रक्रियालाइ नै वर्गसंघर्ष भनिन्छ । मार्क्सवादले आजसम्म अस्तित्वमा रहेको सबै मानव इतिहासलाई वर्गसंघर्षको इतिहास मान्दछ । उत्पीडित वर्गले उन्मुक्ती प्राप्त गर्ने असली अस्त्र नै वर्गसंघर्ष हो । यसकारण वर्गसंघर्ष पनि मार्क्सवादको आधारभुत सिद्धान्त हो ।
आर्थिक सिद्धान्त :
अतिरीक्त मुल्यको सिद्धान्त नै मार्क्सवादको आर्थिक पक्षको परिवर्तन गर्ने कारक तत्व हो । अतिरिक्त मुल्य पुँजीवादी अर्थराजनीतिक सम्बन्धको सार हो । यस सिद्धान्तमा पुँजीवादी अर्थराजनीतिक सम्बन्धमा उत्पादनको साधनहरुमा पुँजीपतीहरुको पकड र हालीमुहाली रहने तथ्यलाई सुक्ष्म व्याख्या गरिएकोछ । पुँजीवादमा आर्थिक रूपमा गरिने शोषणमा श्रम शोषणको सपाट तस्वीर यसमा व्याख्या गरिएको छ ।
मार्क्सले वस्तुमा अन्तरनिहीत दुइ किसिमको मुल्य सम्बन्धि तथ्य पत्तो लगाए । उपयोग मुल्य र विनिमय मुल्य । उदाहरणको लागि खोलाको बालुवाको प्राकृतिक रुपमा नै उपयोग मुल्य हुन्छ तर यसलाई प्रयोगमा ल्याउनको लागि त्यसलाई उत्खनन् गर्नुपर्दछ । यसरी उत्खनन् गर्दा लाग्ने श्रममा आधारित मुल्य भनेको विनीमय मुल्य हो । यसलाई श्रम मुल्य पनि भनिन्छ । अर्थात वस्तुको वास्तविक मुल्य नै विनिमय मुल्य हो । मजदुर वर्गको श्रमबाट निर्धारण भएको श्रम मुल्य मजदुरले नै पाउनुपर्नेमा पाउदैनन् र त्यो पुँजीपतिले हडप्छन् ।
पुँजीवादी उत्पादन पद्यतिमा उत्पादनको साधनहरुमा पुँजीपतीहरुको पकड वा नियन्त्रण हुन्छ । यस्तो बेला उनीहरुले मजदूरहरुलाई असाध्यै न्युन ज्याला मात्र दिने गर्दछ । लागत श्रम र लगानी मुल्य अनि बिक्री गर्दा प्राप्त हुने अत्याधिक नाफा नै अतिरीक्त मुल्य हो । यो पुँजीवादी उत्पादन सम्बन्ध अन्तरगतको शोषण पद्यति हो । मार्क्सले यो बैज्ञानिक तथ्य पत्तो लगाइ तमाम उत्पीडित वर्गको आँखा उघारी दिएका थिए ।
अन्य सिद्धान्त :
मार्क्सवादमा अन्य सिद्धान्तहरु पनि छन् जसले आधारभुत सिद्धान्तलाई परिपुर्ति गर्न अनिवार्य एवं महत्त्वपूर्ण भुमिका खेल्ने गर्छन् । मार्क्सले सर्वहारावादी विश्वदृष्टिकोण, उत्पीडित वर्गीय अधिनायकत्व, हिंसात्मक क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद, बल प्रयोगको सिद्धान्तजस्ता आन्दोलनका महत्त्वपूर्ण सिद्धान्तहरुको ब्याख्या र अनिवार्यता प्रकट गरे । आर्थिक उत्पादन पद्धतिले सामाजिक सम्बन्ध, राजनैतिक सत्ता, कानुनी पद्धति, साँस्कृतिक प्रणाली, सौर्न्दर्यशास्त्र र विचारहरुलाई निर्देशित गर्दछ भन्नेसमेत ब्याख्या गरे । मार्क्सवाद सदैव खुल्ला, आलोचनात्मक, आत्मालोचनात्मक र द्वन्दात्मक हुन्छ तबमात्र सत्य पत्तो लगाउन सकिन्छ । सत्य पत्तो नलगाई बुझ्न र रुपान्तरण गर्न सकिदैन भन्ने यसको मुख्य तात्पर्य पनि हो ।
निश्कर्षः
मार्क्सवादले बिज्ञान, प्रविधि र उत्पादनमा भन्दा पनि लाखौं जनताको सहभागितामा हुने सामाजिक तथा आर्थिक परिवर्तनलाई मुख्य मान्दछ । यो सामुहिकतावादमा आधारित हुन्छ । यसले आधारभूत भौतिक आवश्यकतालाई चालक शक्ति मान्दछ । यसले शोषण, विभेद, अन्याय र हेलो होचोहरुको समूल अन्त्य गरिएको साम्यवादी समाज व्यवस्थाको वकालत गर्दछ ।
प्रारम्भिक चरणमा उत्पादनको साधनहरुमा उत्पीडित वर्गिय अधिनायकत्व हुन्छ । उच्च चरणमा कि त कम्युन कि त राज्यको स्वामित्व हुन्छ । उत्पादनको साधनहरुमा साझा स्वामित्व सहितको अर्थ राजनीतिक सम्बन्ध नै साम्यवाद हो । यसमा राज्य, वर्ग, मुद्रा, राज्यसत्ता पूर्णरुपमा विलोप हुन्छ । समाजवादमा प्रत्येकलाई क्षमता अनुसार र साम्यवादमा प्रत्येकलाई उसको आवश्यकता अनुसारको दामको व्यवस्थापन गरिन्छ । उन्नत सामुहिक चेत, मनोविज्ञान, जीवन व्यवहार र संस्कृतिको पूर्ण विकसित समाज नै साम्यवाद हो । मार्क्सवादको अन्तिम उदेश्य साम्यवाद नै हो ।